नेकपाको हाइकमान्ड बैठक बस्दै, सांगठनिक विवाददेखि समसामयिक विषयमा छलफल हुने

६ मंसिर २०७५, बिहीबार

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । पार्टीभित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो ।

बुधबार मात्रै माधवकुमार नेपाल पक्षीय २१ केन्द्रीय सदस्यले एकता अन्योलमा परेको भन्दै केन्द्रीय समिति बैठक बोलाउन ज्ञापनपत्रमार्फत् अध्यक्षद्वय सँग माग गरेका थिए । बिहीबार बस्ने नेकपा बैठकमा यी लगायतका सांगठनिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारको काम–कारबाही पनि आजको छलफलको एजेन्डा हुने बताइएको छ । नेकपा नेतृत्वमा सरकार बनेको ९ महिना भए पनि यसको काम–कारबाहीलाई लिएर नेकपाका नेता–कार्यकर्ता मात्रै होइनन्, स्वयं प्रधामन्त्री पनि असन्तुष्ट छन् । उनले बुधबार मात्रै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए । बिहीबारको बैठकमा सरकारलाई गतिदिनेबारे पनि छलफल हुने एक नेताले बताए ।

अपराह्न ४ बजे बस्ने बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

 

 

 

Leave a Reply