नेपाली कांग्रेसको महासमिति बैठकमा वन्दसत्र जारी

0
714

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा वन्दसत्र सुरु भएको छ । बिहानबाट जारी वन्दसत्रमा महामन्त्री शशांक कोइरालाले सांगठनिक प्रतिवेदन र सहमहामन्त्री प्रकाशशरण महतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन ।
कोइरालाले प्रतिवेदनमा सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको उल्लेख गर्दैे चुनावी हारलाई शक्तिमा परिणत गर्दै आगामी दिनमा पार्टी एक नम्बर बनाउने ५ आधार समेटेका छन । कोषाध्यक्षको प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन पनि आजै पेस हुने कांग्रेसले जनाएको छ ।
सबै प्रतिवेदन पेस भएपछि समूहगत रुपमा छलफल सुरु गर्ने तयारी कांग्रेसको छ । सहमति नजुटेकाले विधान मस्यौदा भने आज प्रस्तुत नहुने भएको छ । अन्य विषय केन्द्रीय समितिले अनुमोदन गरेपनि शीर्ष नेताको अडानका कारण विधान मस्यौदामा भने सहमति हुन सकेको छैन । शीर्ष नेताबीच सहमति नहुँदा विधान मस्यौदा आफुहरुले अध्ययन गर्न नपाएको महासमिति बैठकका प्रतिनिधीले गुनासो गरेका छन् ।
विधानमा पदाधिकारीको संख्या त्यसको निर्वाचन पद्धति, केन्द्रीय कार्यसमितिको आकार, विशेष परिस्थितिको व्याख्या लगायत विषयमा संस्थापन र इतर पक्षबीच विवाद छ । संघ, प्रदेश र स्थानीय तहमा लजास्पद हार व्यहोरेपछि तत्काल महासमिति बैठक बोलाउन पार्टीभित्र तीव्र दबाव परेपनि निर्वाचन सकिएको एक वर्षपछि महासमिति बैठक सुरु भएको हो । महासमिति बैठक प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था विधानमा भएपनि कांग्रेसले ६ वर्षपछि महासमिति बैठक बोलाएको हो ।