गगन थापा भन्छन् : प्रधानमन्त्रीको भिजन खोक्रो छ

0
954

महेश्वर गौतम

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापा सशक्त वाक्शैली, विपक्षीमाथि कटु प्रहार गर्न सक्ने खुबी र आफ्नै दलभित्र पनि अन्तरसंघर्ष गर्न खप्पिस छन् । यसैका कारण उनी सधैं चर्चामा आइरहन्छन् । थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको भिजनलाई खोक्रो भिजनको संज्ञा मात्रै दिएनन्, आवश्यक परे आफ्नै पार्टीलाई शुद्धीकरण गर्नका लागि नेतृत्वमा प्रतिस्पर्धा गर्नसमेत तयार रहेको बताए । कांग्रेसभित्रको विवाद, कांग्रेसको अबको बाटो, सरकारको कार्यशैली र समग्र राजनीतिक अवस्थाबारे केन्द्रित रही राजधानीका महेश्वर गौतमले थापासँग गरेको कुराकानीको सम्पादित अंश :

यहाँहरूको केन्द्रीय समिति बैठक लम्बियो, महासमितिले पारित गरेको विधानमा फेरि विवाद देखिएको छ । किन किचलो कांग्रेसमा सधैं ?

केन्द्रीय समिति बैठकमा अहिले नेपाल विद्यार्थी संघको विषय, महासमितिले पारित गरेका दस्तावेजहरू, विधानलाई टुंगाउँने विषय र समसामयिक राजनीतिक विषयहरू बैठकका एजेन्डाका रूपमा छन् । नेविसंघको विषय एउटा सन्दर्भमा गएर टुंगिएको छ । पार्टीले सो विषयमा थप निर्णय गर्छ ।
महासमितिले पारित गरेको विधानको सन्दर्भमा केही फरक मतहरू आएका छन् । महासमितिमा प्रवेश गर्दै गर्दा नै फरक मत थियो । महासमिति बैठक चल्दै गर्दासमेत फरक धारणा आए । पार्टी सभापतिले महासमितिले विधानलाई परिमार्जित गर्न सक्ने अधिकारलाई प्रत्यायोजित गरेर लिनुभएको र सभापति स्वयंले केन्द्रीय समितिमार्फत टुंगाउँछौं भनेपछि वरिष्ठ नेताले समर्थन गर्नुभएको हो ।
तर, अहिले बैठकमा सभापतिज्यूले आफ्नो धारणा राख्नुभएको छैन । छलफलको विषयका रूपमा मात्रै विषय उठान भएका छन् । छलफलकै क्रममा फरकफरक धारणा आएका हुन् । यो पार्टीभित्रको स्वाभाविक प्रक्रिया हो । यही मतबाटै धारणा बन्ने हो । अहिले बैठक स्थगित मात्रै भएको हो । यस बीचमा महासमितिबाट आएका कुरामा एक मत कसरी बनाउने भन्ने विषयमा सभापतिजीले छलफल गरिरहनुभएको होला ।

केन्द्रका नेताहरू पनि महाधिवेशन प्रतिनिधि बन्न बुथ तहबाट निर्वाचित हुँदै आउनुपर्छ र समावेशी र आरक्षण कोटामा एकपटक मात्रै उम्मेदवार हुने गरी विधानमा व्यवस्था हुनुपर्छ भन्नेमा खास विवाद हो बैठकमा ?

यसलाई यसरी हेर्नुपर्छ, महासमिति सदस्यहरूले बैठककै क्रममा वैकल्पिक प्रस्ताव ल्याउने बाटो थियो । जुन बाटो प्रयोग भएन । विधानको कुरामा महासमितिले केन्द्रीय समितिलाई प्रस्ताव ग¥यो । तर, पार्टी सभापति वा हामीले पनि तपाईंहरू वैकल्पिक प्रस्ताव ल्याउनुस्, त्यसबाट छिनोफानो हुन्छ, अरू बाटोबाट छिनोफानो हुँदैन भनेर भनेनौं ।
अन्त्यमा विधानलाई महासमितिले परिमार्जनसहित पारित गर्ने अन्तरवस्तुका विषय पार्टी सभापतिलाई जिम्मा लगायौं, जुन कुरा गर्न पाइन्छ । सभापतिजीले यी विषयलाई बैठकमा छलफलमा राख्नुभएको अवस्था छ । मुख्य कुरा सभापतिले अब के गर्नुहुन्छ भन्ने हो । सभापतिले महासमितिको भेलामा उभिएर महासमिति लम्बिसक्यो, अरू एक दिन लम्बाएर भए पनि यहीँबाट छिनोफानो हुन्छ भन्न नसक्दाको परिणाम हो यो । म अहिले पनि शंकाको सुविधा सभापतिमाथि व्यक्त गर्न चाहन्छु । किनकि उहाँले आफ्नो धारणा राख्नुभएको छैन । बैठक सकारात्मक ढंगबाट टुंगिने विश्वास गरौं ।

 

विधानका लागि सुझाव संकलन गर्दा पनि त ती विषय तल्लो तहबाटै उठेका हुन् नि ?

पार्टीका केन्द्रीय सदस्यहरू पनि तल्लै तहबाट निर्वाचित भएर जानुपर्छ, पदेन हुने व्यवस्था खारेज गर्नुपर्छ भनेर यी विषयहरू विभिन्न फोरममा उठ्दै आएका पक्कै हुन् ।

कांग्रेस प्रतिपक्षको भूमिकामा पनि कमजोर देखियो, संसद्मा उठाएका विषयलाई पनि निरन्तरता दिन सकिराखेको छैन, आफैंमा विवादमा अल्झिराख्या छ भन्ने यहाँलाई लाग्दैन ?

यो एक वर्षको प्रतिपक्षको समयावधि हेर्यौं भने पहिलो ६ महिना एकदमै निराश र कम प्रभावकारी रहेकै हो । तर, पछिल्लो ६ महिनामा कांग्रेसले आफ्नो काम गर्ने तरिकासहित थुप्रै कुरामा बदलाब ल्याएकोे छ । यद्यपि, यो सन्तोष मान्ने बेला होइन । प्रतिपक्षमा रहँदै गर्दा संसद्भित्रको भूमिका नै महŒवपूर्ण हो । तर, संसद्भित्र सबै विषय टुंगोमा पु¥याउने विषय हुँदैनन् । केही निरन्तर उठाइरहने विषय हुन्छन् । जसले सरकारमाथि निरन्तर दबाब बढाइ रहन्छ । केही सरकारलाई घुँडा टेकाउने र जवाफदेही बनाइ छाड्ने विषय हुन्छन् ।
यस्तै केही विषय भनेको सरकारले गरेका कामका सवालमा नागरिकलाई म सरकारमा भएको भए के गर्थें भनेर विकल्प दिइराख्नुपर्ने विषय हुन्छन् । जसले गर्दा नागरिकले तुलना गर्ने वातावरण हुन्छ । यसरी, विषय हेरेर निर्णय गर्ने र कार्ययोजना बनाउने काम हुनुपर्छ । यहाँ भने हाम्रो कमजोरी भएकै हो, यही ग्याप देखिएको हो ।

कांग्रेसले केके विषयमा सरकारलाई घुँडा टेकायो त यो अवधिमा ?

नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी पूरा गर्ने विषयमा सरकार चरम असंवेदनशील रह्यो । सरकारले सुशासनको दाबी ग¥यो, तर सुशासनको मानकहरूको सवालमा यो सरकार अहिलेसम्मको कमजोर सरकार रह्यो । एकपछि अर्को काण्ड तथा घटनाहरू यसबीचमा भइरहेकै छन् । यस्ता विषय एक दिनमा उठाएर सकिने विषय होइनन् ।
यस्तै, सुरुवाती अवस्थामा नै सरकारलाई चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा सम्झौता गर्न हामीले बाध्य बनायौं । पछिल्लो समय दुई अस्पतालका विषयमा सरकारलाई लक्ष्मण रेखा क्रस गर्न दिएनौं, सरकारलाई सच्चिन बाध्य बनायौं । यस्ता अरू पनि थुप्रै विषय छन् । वाइडबडी प्रकरण, बूढीगण्डकी प्रकरण, सुन काण्ड, निर्मला पन्तको बलात्कार तथा हत्याजस्ता ठूला प्रकरणमा सरकारमाथि लगातार दबाब गरिरहेका छौं ।

सरकारविरुद्धको आन्दोलन चाहिँ अब तुहियो ?

नेपाली कांग्रेसले भर्खर संघर्षको कार्यक्रम सुरु गरेको छ । यो प्रारम्भ हो । यो तुहिने वा टुंगिने विषय होइन । यो कुनै निश्चित माग राखेर तुरुन्तै टुंग्याउने विषय पनि होइन । यो प्रारम्भ भनेको नागरिकलाई सुसूचित गर्ने, सदनमा आफूले खेलेको भूमिकाबारे जनतालाई बताउने, जनमत निर्माण गर्ने तर्फको हो । यो निरन्तर अघि बढ्छ । कही रोकिँदैन,
कहीं टुंगिँदैन ।

सरकारको एक वर्षे अवधिलाई कसरी हेर्नुभएको छ यहाँले ?

नेपालको राजनीतिक इतिहासमा नै प्राप्त अवसरको दुरुपयोग र कम उपयोग (वेस्टेज) बढी भएको समयावधि नेपालका लागि यो पहिलो हो । यो मौका, अनुकूलता र अवसरै अवसरको चाङमा उभिएको सरकारले धेरै समयको खती गरेको छ । यसलाई सरकारले समय खेर फालेको दुरुपयोगको वर्ष भनेर भन्दा हुन्छ ।

सरकारले हेर्दाहेर्दै पानीजहाज कार्यालय खोल्यो, रेल पनि ल्याउने तयारी हुँदै छ । यी सबैका पछाडि जोडिएको सरकारको समृद्धिको नारालाई त्यसो भन्न मिल्छ ?

नेपालको समृद्धिका लागि प्रधानमन्त्रीको भिजन कति खोक्रो छ, कति संकीर्ण छ, नेपालप्रतिको बुझाइ कस्तो छ र प्रधानमन्त्रीको बुझ्ने क्षमताको परिधि कति साँघुरो छ भन्ने कुरा उहाँकोे अभिव्यक्तिबाट देखिएको छ ।
प्रधानमन्त्रीको समृद्ध नेपालमा मान्छे नै छैन, तपाईंले भन्नुभए जस्तै ठूलाठूला पूर्वाधार मात्रै छन् । केन्द्रमा नागरिकलाई राखेर भुइँमान्छेको जीवनस्तर उकास्नतर्फ समृद्धि केन्द्रित हुनुपर्नेमा भइराखेको छैन । बीपीको दुई तिहाइको सरकार र यो दुई तिहाइको सरकारलाई तुलना गरेर हेर्दा समृद्धिको भिजन बुझ्न सकिन्छ । संसारमा अनुदार र कमजोर शासकहरूले गर्ने यस्तै हो । सरकार खोक्रो भिजन लिएर अघि बढेको छ । जनतालाई भ्रममा राख्ने सबैभन्दा सजिलो बाटो र असफल बाटो पनि यही हो ।

यहाँको पार्टीभित्र पनि त असन्तुष्टिको चाङ धेरै नै छ नि ? यसलाई चाहिँ सुधार्नुपर्दैन ?

आमनिर्वाचनको पराजयपछि कांग्रेसभित्र संरचनात्मक सुधार, पार्टीमा वैचारिक आन्दोलनसहित थुप्रै विषयमा सुविचारित बहसहरू सुरु भएका थिए । तर, त्यो अहिले तुहियो । यसबीचमा सरकारको पर्फरमेन्सका कारण तत्काल संघर्षका कार्यक्रममा जानुपर्ने अवस्था आयो ।
अब हामीले हाम्रो प्राथमिकता ब्यालेन्सबाट खोज्नुपर्ने छ । एकातिर सरकारविरुद्ध लड्दै जाने र अर्कातर्फ पार्टीको सुधारतर्फ पनि रिभिजिट गर्नुपर्नेछ । नेपाली कांग्रेस के हो ?, अब कांग्रेसको औचित्य के हो ?, अबको बाटो के हो ?, यहाँसम्मको यात्राको सिंहावलोकन गर्ने र अबको कांग्रेसले जनतालाई दिने के हो ? भनेर यात्रा गर्नुपर्छ । डे टु डे काम गरेर मात्रै हुँदैन । हामी डे टु डे काममा अकुपाइड भयौं । भाषण, ताली, सरकारको विरोध र प्रश्नले नियमित कार्य मात्र गर्छ । त्यो दैनिकी मात्रै हो ।
अब नेपाललाई कता लाने भनेर विश्व राजनीतिको अवस्थाबाट कांग्रेस अघि बढ्नुपर्छ । अब कांग्रेसले देशलाई दिने के हो र आधारभूत चाहना के हो भन्ने दिशामा कांग्रेसले उत्तर खोजेर र यसलाई स्थापित गरेर अघि बढ्नुपर्छ ।

गुटले थिचेको कांग्रेसलाई यहाँले भने जस्तो बाटोमा अहिले नै लान सकिएला ?

पार्टीभित्र गुट र समूहहरू हुन्छन् तर गुटहरू जीवन्त हुनुपर्छ । एउटा जीवन्त पार्टीभित्र समूहहरू भएनन् भने पार्टी मरेको ठाने हुन्छ । पार्टीभित्र समूह बन्छ, समूहहरूबीच संघर्ष हुन्छ, भिडन्त हुन्छ । तर, यहाँ त समूहहरू नै मरेको अवस्थामा छ । छलफल, बहस नै छैन । केही विषयमा छलफल भयो भने गम्भीर षड्यन्त्र भइरहेको छ, अपराध नै भइरहेको छ भन्ने बुझाइ जन्मिन्छ । त्यसलाई चिरेर हामी पनि जान सकिराखेका छैनौं । गुट नै नभएको पार्टी कहिल्यै पोसिबल हुँदैन । तर, बहस र छलफललाई जीवन्त बनाएर पार्टीलाई सुधारेर लैजान सकिन्छ ।

पार्टीलाई बलियो बनाएर लैजाने सवालमा गगन थापाको भिजन के हो त ?

२०७९ सालमा अब नेपालमा निर्वाचन हुन्छ । नेपाली कांग्रेससँग कुनै नयाँ मतदातासँग भेट भयो भने कांग्रेसले मलाई मत देऊ भन्छ । त्यो मतदाताले कांग्रेसलाई सोध्छ तपाईंलाई मत किन दिने ?, कांग्रेसको पहिलो उत्तर नेकपाको सरकारले मुलुक बर्बाद बनायो भन्ने होला । मतदाताले फेरि भन्छ, उसले बर्बाद बनायो तपाईं के गर्नुहुन्छ ?, हामीले उसलाई २००७ सालमा प्रजातन्त्र ल्याएको, २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना गराएको, फेरि २०६२ सालमा शान्ति ल्याएको भनेर भन्छौं । फेरि मतदाताले सोध्छ तपाईं अब चाहिँ के गर्नुहुन्छ ?, हामी फेरि २०१५ सालमा बीपीले यस्तो गरे भनेर रेडिमेड उत्तर दिन्छौं । अब त्यो ब्रान्ड बेचेर पार्टी चल्दैन ।
हामीले मतदातालाई तिमीले कांग्रेसलाई मतदान दियौ भने २०८० मा यो हुन्छ, २०८१ मा यो हुन्छ अर्को चुनाव आउने बेलासम्म नेपाल यहाँ पुग्छ भनेर प्रमाणित तथ्यहरू दिन सक्नुपर्छ । विगतमुखी होइन कि भविष्यमुखी कांग्रेस देखाएर, विगतप्रति गौरव गरिरहने गरी अघि बढाउनुपर्छ । गएको निर्वाचनमा कांग्रेससँग रिसाएर अरूलाई मत हालेकाहरूलाई आफूतर्फ ल्याएर अर्को ठूलो हिस्सालाई आफूतर्फ
तान्न सक्नुपर्छ ।
कांग्रेसलाई अब पुरानो ठाउँमा पु¥याएर कहिल्यै सरकारमा आउँदैन । अरू नयाँ ठाउँमा गइसकेको अवस्थामा अरूसमेत नपुगेको ठाउँमा कांग्रेसलाई पु¥याउन सक्नुपर्छ । अब आउने नयाँ ३०औं लाख मतदाताबाट ठूलो हिस्सा मतदाता कांग्रेसले आफ्नो पक्षमा तयार बनाउनुपर्छ, कांग्रेसका लागि त्यो आवश्यक छ । त्यसपछि मात्रै कांग्रेस पहिलो पार्टी बन्छ । जुन सानो कुरा होइन । यस्तै, अहिले कांग्रेसले आफ्नो हाउसलाई अर्डरमा राख्नुपर्छ, अहिले कांग्रेस हाउस अर्डरमा छैन ।

त्यो खुबी भएको र विश्वास दिलाउन सक्ने नेतृत्व आउँछ कांग्रेसमा अबका दिनमा ?

नेतृत्व त एउटा कम्पोनेन्ट मात्रै हो । अघिकै उदाहरणको मतदाताको विषयलाई हेरौं न । भन्नका लागि भनेर मात्रै त पुग्दैन । हिजो गरेका कुरालाई केके कांग्रेसले गर्न छाड्यो भनेर उसले हेर्छ । काम गर्ने शैली, विचारको पक्ष र नेतृत्वसमेत त्यो नयाँ मतदाताले हेर्छ । भन्दै गरेको कुरालाई नेतृत्वले पूरा गर्छ कि गर्दैन त्यो कुरा पनि उसले हेर्छ ।
अर्को कुरा पार्टीभित्र नेतृत्व परिवर्तनको कुरा त अनिवार्य शर्त नै हो, गर्नै पर्नेछ । नयाँ मतदातालाई आकर्षित गर्नका निम्ति पनि त्यो आवश्यक छ । तर, नेतृत्व मात्रै सम्पूर्ण कुरा भने होइन । हाम्रो शैली र संस्कार नै हो ।

कांग्रेस पार्टीको शुद्धीकरणका लागि आवश्यक परे नेतृत्वस“ग भिड्न पनि तयार छु

नेपाली कांग्रेसले भर्खर संघर्षको कार्यक्रम सुरु गरेको छ । यो प्रारम्भ हो । यो निरन्तर अगाडि बढ्छ । कहीं रोकि“ंदैन, कहीं टुंगि“दैन

नेपालको राजनीतिक इतिहासमा नै प्राप्त अवसरको दुरुपयोग र कम उपयोग (वेस्टेज) बढी भएको समयावधि नेपालका लागि यो पहिलो हो

प्रधानमन्त्रीको भिजन कति खोक्रो छ, कति संकीर्ण छ, नेपालप्रतिको बुझाइ कस्तो छ र प्रधानमन्त्रीको बुझ्ने क्षमताको परिधि कति सा“घुरो छ भन्ने कुरा उहा“कोे अभिव्यक्तिबाट देखिरहेको छ

नेपाली कांग्रेस के हो ? अब कांग्रेसको औचित्य के हो ? अबको बाटो के हो ? यहा“सम्मको यात्राको सिंहावलोकन गर्ने र अबको कांग्रेसले जनतालाई दिने के हो ? भनेर यात्रा गर्नुपर्छ

 

 

 

अबको महाधिवेशनमा यहाँ पनि सभापतिको उम्मेदवार हो ?

मैले नेपाली कांग्रेसबाट मेरो उमेरको पुस्ताले पाउने सबैले भन्दा बढी पाएको छु । यो बेला मैले पार्टीबाट अरू थप कुराको अपेक्षा गर्नेभन्दा पनि पार्टीलाई अरू कति कुरा दिन सक्छु भन्ने हो । तर, केका लागिभन्दा पार्टीले देशका लागि केही गर्छ भन्ने शर्तमा । त्यसैले, म २०७९ सालको निर्वाचनमा कांग्रेस देशको पहिलो पार्टी भएर सरकार चलाएको तर सरकार चलाउनका लागि चलाएको जस्तो होइन । अघि मैले भनेको जस्तो सरकार चलाएको अवधिमा नेपाललाई अर्को उचाइमा पु¥याउन सक्ने क्षमता, योग्यता र आचरण बोकेर आएको पार्टी बनाउन चाहन्छु । त्यसका सवालमा म काम गर्न चाहन्छु । काम गर्दै जाने क्रममा परिस्थितिले त्यो उचाइ प्राप्त गर्नका लागि आउने महाधिवेशनमा केन्द्रीय सदस्य पनि नलड्नपर्ने कुनै एउटा ठूलो अभियान भयो र सहयोग गर्नुपर्ने मात्रै भयो भने पनि त्यसका लागि पनि गगन थापा तयार रहन्छ ।
पार्टीको एउटा सदस्य मात्रै भएर बस्नका लागि पनि म तयार रहन्छु । पार्टीको कुनै पदाधिकारीको जिम्मा लिएर जानुप¥यो भने त्यसका लागि पनि तयार र पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुप¥यो भने पनि तयार छु ।
यी सबै कुराका पछाडि आगामी निर्वाचनमा कांग्रेसलाई नेपालको नयाँ जिम्मेवारी पूरा गर्न सक्ने पार्टी बनाउनका लागि हुनेछ । म के हुने भन्ने विषय मेरा लागि गौण हो । यसपटकको महाधिवेशनमा म नै मेरा लागि केन्द्रमा छैन, म आफूलाई छेउमा उभ्याएर परिस्थितिले जहाँ पु¥याउँछ त्यहाँ जान्छु । केन्द्रीय सदस्य पनि नलड्ने अवस्था पनि आउन सक्छ ।

महाधिवेशन चाहिँ कहिले होला, समयमा नै होला नि ?

त्यो छाँटकाँट मैले देखिरहेको छैन । किनकि, सभापति ज्यूले महाधिवेशनका सन्दर्भमा विधानले गरेको एक वर्ष समय थपको व्यवस्था अहिलेदेखि नै थप गर्छु कि गर्छु भनिरहेको अवस्था छ । पटकपटक सोही कुरा दोहो¥याएको परिवेशले आफूले चाहेको कुरा पूरा गर्ने सुविधामा सभापति पार्टीभित्र रहनुभएको अवस्थाले पनि पार्टीको महाधिवेशन समयमा होला भन्नेमा शंका छ । जुन पार्टीका लागि हितकर छैन ।
अब गाउँदेखि वडासहित सबै तहको निर्वाचन नयाँ संरचनाअनुसार गराएर जानुपर्छ । अब कांग्रेसले सदस्यता तत्काल बाडेर १४औं महाधिवेशनका लागि तयार रहनुपर्छ ।

वाइडबडी प्रकरणबारे कांग्रेस किन मौन ? आफ्ना नेताहरूको नाम मुछिएपछि कांग्रेस चुप बसेको हो ?

यस्तो हो । यसलाई यथार्थ के हो र जनभावना के हो भनेर हेरौं । यथार्थ के हो भने नेपाली कांग्रेसको केन्द्रीय समितिले वाइडबडी प्रकरणमा छानबिन होस् भनेर माग राख्यो । कांग्रेसको महासमिति बैठकले यो मागलाई फेरि दोहो¥यायो । कांग्रेसकै तर्फबाट निर्वाचित भएको सांसदले नेतृत्व गर्नुभएको सांसदको समितिले यस विषयमा छानबिन प्रकरण अघि बढायो र छानबिनबाट के निष्कर्ष निकाल्यो भने वाइडबडीमा धेरै ठूलो भ्रष्टाचार भएको छ र त्यो भ्रष्टाचारको यथार्थ छानबिन गरेर दोषीहरूमाथि कारबाही गर्नुपर्छ भनेर भनेको छ ।
त्यसपछि, कांग्रेसले फेरि निष्पक्ष ढंगबाट आफ्नो अधिकारको प्रयोग गर्ने वातावरण बनाऊ र अख्तियारले दूधको दूध पानीको पानी छुट्याऊ, भनिसकेको छ । कांग्रेसको संस्थागत धारणा यही हो, कुनै तलमाथि दायाँबायाँ छैन ।
तर, जनभावना कसरी भयो भने कांग्रेसले यो विषय अझै चर्कोसँग उठाउँनुपथ्र्याे, उठाएन भन्ने छ । कांग्रेसले यस विषयलाई अझै चर्को स्वरमा भन्नुपर्ने आवश्कयकता छ । सत्य तथ्य छानबिन हुनुपर्छ ।

नेविसंघको विवाद कसरी सकिन्छ अब ? तदर्थ समिति उमेर हद लगाएर बन्छ कि नलगाइ ?

यस विषयमा बल्ल अब छलफल हुन्छ । नेविसंघको विधानले अब बन्ने कमिटी निर्वाचनबाट आउँछ र ३२ वर्ष उमेरको हदमुनिबाट नै आउँछ भन्ने अपेक्षा गरेको छ । तर, विधानले बीचमा ५÷६ महिनालाई नयाँ कमिटी आउँछ भन्ने विषयको कल्पना गरेन । अब अधिवेशनबाट आउने त ३२ वर्षमुनिबाटै आउँछ तर त्यसबीचका लागि आउने कमिटी ३२ भन्दामाथि ल्याउने कि मुनीबाट ल्याउने भन्नेमा केन्द्रीय समितिमा दुवै कोणबाट फरकफरक धारणा आएका छन् । तर, निष्कर्षमा पुगिसकेको अवस्था छैन ।

तपाईं स्वाथ्यमन्त्री हुँदा र अहिलेको स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ र यहाँले स्वास्थ्य क्षेत्रमा गर्नुभएको सुधारको प्रयासलाई वर्तमान मन्त्रीले कसरी अघि बढाइरहेको पाउनुभएको छ ?

अहिलेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको मन्त्री ज्यूले आग्रह पूर्वाग्रहबाट मुक्त भएर इमानदारितापूर्वक काम गर्न खोजेको म पाउँछु ।
तर, सरकारबाट जुन ढंगको सहयोग उहाँले पाउनुपर्ने हो त्यो पाइरहनुभएको छैन । पहिले गरिएका कतिपय निर्णयहरूले पूर्णता पनि पाएका छन्, कतिपय अलपत्र पनि परेका छन् । सुधारका थुप्रै प्रयासहरू अवरुद्ध भएका छन् । रुचि नभएकाले, अथवा अर्कै पार्टीको मन्त्रीले अघिल्लो सरकारका पालामा भएका कारण पहिलेका निर्णय र कामलाई तुहाउनुपर्छ भन्ने मान्यता अहिलेको स्वास्थ्यमन्त्रीमा छैन । स्वाथ्यमन्त्री ज्यूले समेट्ने प्रयास गरिरहनुभएको मैले पाएको छु । प्रयासहरू भइरहेका छन् । तर, सरकारको असहयोग उहाँमा छ ।

चिकित्सा शिक्षा विधेयक त सरकारले कांग्रेसलाई पेलेरै ल्यायो, अब यो विषयलाई कांग्रेसले कसरी लैजान्छ ?

यस्तो छ, यसका दुईवटा पक्ष छन् । विधेयकमा जुन असहमति हामीले राख्यौं, त्यो असहमति हाम्रो कायम रहिराख्छ । अब यो विधेयकका आधारमा आयोग बन्छ । आयोगले निर्णय गर्दै गर्दा विधेयकमा जहाँ प्वालहरू राखिएको छ, ती प्वालबाट दुरुपयोग नहोस् भन्नेतर्फ हामी सचेत रहन्छौं र हाम्रो दबाब र हस्तक्षेप त्यता केन्द्रित रहन्छ ।
अब यतिले मात्रै पुग्दैन र कांग्रेस उम्कन पनि पाउँदैन । कांग्रेसले चिकित्सा शिक्षा विधेयकमा जुन पोजिसन लियो, त्यो पोजिसनबाट अब शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित धारणा के हो स्पष्ट पार्नुपर्छ । अब चिकित्सा शिक्षा विधेयकको मात्रै कुरा गरेर पाइन्छ ? शिक्षा र स्वास्थ्य क्षेत्रभित्र पनि विभिन्न सबसेक्टर्सहरू छन्, कांग्रेले अब यी विषयमा गम्भीर छलफल गर्नुपर्नेछ । निजी शिक्षाबारे कांग्रेसको धारणा के हो ? सार्वजनिक शिक्षाबारे धारणा कस्तो हुने ? शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाउने कुरामा कसरी जाने ? सबै विषयमा कांग्रेसले विगतलाई समीक्षा गरेर छलफल गरेर अब अघि बढ्नुपर्छ ।

सरकारका विरुद्धको संघर्षमा अब कांग्रेसले अरू लोकतान्त्रिक दलसँग पनि सहकार्य गर्ने अवस्था होला ? त्यस किसिमको बहस भएको छ कि छैन ?

आवश्यकताले कुनै बेला त्यो ठाउँमा जान सकिएला । तर, आजको दिनसम्म त्यो बहस भएको छैन । कांग्रेसले आजका दिनमा आफूलाई प्रस्ट बनाएर सुदृढ गरेर लैजानु नै आजको आवश्यकता हो ।

साभार :राजधानी