रेडियो अन्नपूर्णको रक्तदानमा १६२ यूनिट रक्त संकलन

0
684

 

पोखरा । रेडियो अन्नपूर्ण ९३.४ ले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रमबाट १ सय ६२ यूनिट रक्त संकलन भएको छ ।

रेडियो प्राङगणमा आयोजना गरिएको १८ औं संस्करणको रक्तदान बिहान ७ वजेदेखि दिउँसो १.०० वजेसम्म सञ्चालन भएको थियो ।

 

क्षेत्रीय रक्तसंचार सेवा पोखराको प्राविधिक समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पहिलो पटक ३७ जनाले रक्तदान गरेका छन् । रक्तदानमा ५४ महिला तथा १०८ पुरुष सहभागी भएका कार्यक्रम संयोजक सन्तोष बस्यालले बताएका छन् ।  रक्तदानका लागि संस्थागत रुपमा पोखरा क्रिकेट क्लवका निकेश श्रेष्ठको नेतृत्वमा आएका १२ जना सदस्यले रक्तदान गरेका क्लवका सदस्य सन्तोष बानियाले बताए । पोखरामा रगतको अभाव भईरहेको बेलामा रेडियो अन्नपूर्णले आयोजना गरेको कार्यक्रममा रक्तदान गर्न पाउँदा खुसी लागेको रक्तदाताले बताएका छन् । रेडियोको बार्षिकोत्सवको अवसरमा हरेक बर्षको चैत महिनामा रगतको अभाव हुने गरेकोले आफुहरुले हरेक बर्षको तेश्रो शनिबार रक्तदान कार्यक्रम आयोजना गर्दै आएको रेडियाका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बताए ।

पोखरामा रगतको अभाव भईरहेको बेला रेडियो अन्नपूर्णले आयोजना गरेको कार्यक्रमले जोखिममा परेको कसैको जीवन जोगाउन महत्वपूर्ण सहयोग हुने क्षेत्रीय रक्तसंचार सेवा पोखराका प्रमुख ध्रुर्व लामिछानेले बताए ।

यसअघि, रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो रक्तदाता चीतवनबाट रगत दिन आएका हरि अधिकारीलाई रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले व्लड ब्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् ।