लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि अध्यक्षका आकांक्षी ढकालद्धारा प्यानल घोषणा

0
893

लेखनाथ  ।  लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको घोषणासँगै अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका बलराम ढकालले प्यानल घोषणा गरेका छन् । उनले संघकै पदाधिकारी तथा सदस्यहरुको बाहुल्यता रहने गरी आफ्नो प्यानल घोषणा गरेका हुन । ढकालले बरिष्ठ उपाध्यक्षमा छत्रधर आत्रेलाई अघि सारेका छन् भने प्रथम उपाध्यक्षमा विनोद श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राजेन्द्र ओझा, महासचिवमा गोपीचन्द्र बास्तोला, उपमहासचिवमा उपेन्द्र सुवेदी तथा कोषाध्यक्षमा जानुका पराजुलीको उमेदवारी रहने गरी प्यानल तयार भएको छ । पदाधिकारीमा उपेन्द्र सुवेदी र जानुका पराजुली यसअघि कार्यसमितिका सदस्य रहेका थिए । वर्तमान कार्यसमितिमा आत्रेय प्रथम उपाध्यक्ष र श्रेष्ठ द्धितिय उपाध्यक्ष रहेका थिए । उनिहरु एक तह माथि उक्लिएका छन् ।
पहिला एकै समूहमा रहेका वर्तमान महासचिव भरत अधिकारीले असन्तुष्टी जनाउँदै वाहिरीएपछि कोषाध्यक्ष रहेका राजेन्द्र ओझालाई एकैचोटी द्धितिय उपाध्यक्षको उम्मेदवारीमा फड्को मार्ने अवसर मिलेको छ । अधिकारी पनि रहेको भए यो समूहले ओझालाई उपमहासचिवमा उठाउने तयारी गरेको थियो ।
यसैगरी सदस्यमा पुरानै अनुहार रामजी पौडेल, शिव भण्डारी, भिमवहादुर वि।क। भरत ओझा, शैलेन्द्र मोहन भट्टराई, मेनुका श्रेष्ठ दोहोरिने भएका छन् ।
नयाँ अनुहारका रुपमा युवा व्यवसायी धु्रबबावु भट्टराईलाई ढकाल समूहले सदस्यमा अघि सारेको छ । बर्तमान कार्यसमितिकै सदस्य धिरज कुमार श्रेष्ठले यो समूहबाट मौका पाएका छैनन् उनि यसअघिको निर्वाचनमा बसन्त मोहन भट्टराई प्यानलबाट चुनाव लडेर विजयी भएका थिए । दुई महिला सदस्य, संस्थागत सदस्यमा भने कस कसको उमेदवारी रहने अझै स्पष्ट गरिएको छैन । ढकाल समूह बिगतमा वामपन्थी र काग्रेस निकट व्यवसायीको सहकार्यको निरन्तरता हो । संस्थागत सदस्यमा हार्डवयर एशोसियशनका बरिष्ठ सल्लाहकार सुदेव गुरुङ्गले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । संस्थागत सदस्यमा ६ जना मतदाता रहेकाले गुरुङ्ग सवै भन्दा बलिया देखिएका छन् । गुरुङ्ग संस्थापन पक्षका होइनन् ।
यता वर्तमान संस्थापन पक्षबाट विद्रोह गरी अध्यक्षमा उम्मेदवारी दिएका भरत कुमार अधिकारीले अग्रज एवं काग्रेस निकटका केही व्यवसायीसँगको छलफललाई तिव्रता दिएका छन् । उनले छिट्टै आफ्नो प्यानल घोषणा गर्ने जनाएका छन् । अधिकारीले विगतमा अवसर नपाएका र पुराना केही व्यवसायीलाई समेट्दै प्यानल घोषणा गर्ने तयारी गरिरहेको श्रोतले बतायो ।
अधिकारीले वर्तमान कार्यसमितिका केही असन्तुष्ट सदस्य, विगतमा बसन्त मोहन भट्टराई प्यानलबाट उम्मेदवारी दिएका केही व्यक्ति र संघका विभिन्न समयका कार्यसमितिमा रहेर काम गरिसकेका पुराना व्यवसायीलाई समेटेर प्यानल घोषणा गर्ने तयारी गरेको बताइएको छ ।
यसअघि महासचिवमा ऋषिराम जमरट्टेलले उम्मेदवारी दिने घोषणा गरिसकेका थिए । एशोसियट सदस्यमा भने संस्थापन पक्षबाट विक्रम कर्माचार्य पक्का जस्तै भएका छन् ।
यस पटक पनि महासचिवमै दोहोर्याउने भएका छन् । अधिकारी सहितको प्यानल खडा हुनेभएपछि संघको चुनाव थप रोचक बनेको छ । सदस्यमा भने नयाँ र पुराना गरी झण्डै दुई दर्जन सदस्यले इच्छा देखाएका छन् । भदौ २० र २१ गते हुने निर्वाचनमा संघका झण्डै १३ सय मतदाता रहेका छन् ।