गणेशमान सिंहलाई साक्षी राखेर कास्की काँग्रसले शुरु गर्याे चुनावी अभियान

0
1273

पोखरा । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं लौहपुरुष गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान शुभारम्भ गरेको छ । कांग्रेस उम्मेदवार खेमराज पौडेल लगायतले पोखराको नालामुखस्थित गणेशमानको शालिकमा माल्यार्पण गरि अभियान शुभारम्भ गरेका हुन् । संयोगले गणेशमानको १०५ औं जन्मजयन्ती पनि आइतबार नै परेको थियो । त्यसपश्चात कांग्रेस उम्मेदवार पौडेलसहित पोखरा–४, ८ र ९ मा घरदैलो कार्यक्रम गरिएको कास्की कांग्रेसले पोखरा पोष्टलाई जानकारी दिएको छ । कास्की कांग्रेसले पोखरा– ४ मा यज्ञबहादुर थापा, ८ मा विरेन्द्रनारायण विजुक्छे र ९ मा तारानाथ रानाभाटलाई संयोजक तोकेको छ । भावुक माहोल घरदैलोका क्रममा मतदाताका आँगनमा पुगेका उम्मेदवार पौडेललाई मतदाताले गुरु भन्दै सम्मानभाव प्रकट गरेका थिए । कतिपय मतदाताले ‘लामो समयपछि गुरुसंग भेट्न पाइयो, निकै खुशी लाग्यो, विजयको शुभकामना गुरु १’ भन्दै सम्मान गरेका थिए । त्यस अवसरमा नजिकबाट चिनिएका मतदाता र आफूले पढाएका विद्यार्थी भेट्दा उम्मेदवार पौडेल भावुक समेत बनेका थिए । पोखरा–८ निवासी उम्मेदवार पौडेलका १ विद्यार्थी ‘गुरुको भार चुक्ता गर्ने अवसर बल्ल प्राप्त भएको छ, म जुनसुकै सहयोग गर्न तयार छु’ भन्दै पाउ छोएका थिए । त्यतिबेला उम्मेदवार पौडेलले ति विद्यार्थीलाई अंगालो हाल्दै भक्कानिएका थिए । ११ वटै वडामा सम्पर्क कार्यालय कांग्रेसले कास्की–२ अन्तर्गत पोखराका ११ वटै वडामा चुनावी प्रचार समितिको सम्पर्क कार्यालय स्थापना गरेको छ । आइतबार एकैसाथ पोखराका ११ वटै वडामा सम्पर्क कार्यालय शुभारम्भ गरिएको हो ।