बीपीको मेलमिलापको नीतिलाई कांग्रेसले आन्तरिक जीवनमा लागु गर्नुपर्ने आजको आवश्यकता

१७ पुष २०७६, बिहीबार

सिबि क्षेत्री

बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किका थिए। त्यतिबेला राष्ट्रियतामाथि खतरा परेको परिस्थिति थियो। देशभित्र र बाहिर निरंकुशता र प्रजातन्त्रविरोधी एवं साम्राज्यवादी शक्तिहरू सल्बलाइरहेका थिए भने दक्षिण एसियाको तत्कालीन परिवेश पनि नेपालका लागि अनुकूल थिएन। त्यसैले राष्ट्र रह्यो भने मात्र नेपाल रहन्छ भन्ने पवित्र उद्देश्य बोकेर बीपी स्वदेश फर्किएका हुन्। बीपीको बुझाइमा राष्ट्रियता माटो र भूगोल मात्र होइन, यो जनताको सामूहिक भावना हो भन्ने थियो। त्यसैले राष्ट्रियता देशको पहिचान हो। देश रह्यो भने राष्ट्रियता रहन्छ। त्यसैले राष्ट्रियता र लोकतन्त्र अभिभाज्य छन्। राष्ट्रियता लोकतन्त्रको जगमा मात्र उभिन सक्छ, त्यसको लागि एकता र मेलमिलाप अपरिहार्य छ।

बीपीको आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद एवं प्रजातन्त्रप्रेमीलाई सधैं माया गर्ने सम्पूर्ण लोकतन्त्रप्रेमीको सहयोग, सद्भाव र समन्वयले मात्र आज कांग्रेस जीवन्त बन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिन पुगेको छ। हुन त यसको लामो इतिहासमा पार्टी सञ्चालनका क्रममा संस्थापक नेता बीपीदेखि सुवर्णशमशेर, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई हुँदै सभापति शेरबहादुर देउवासम्म आइपुग्दा केही असन्तुष्टि र असमझदारीमा पोखिने तर त्यसलाई सामूहिक रूपमा समाधान गर्दै एक ढिक्का भएर मुलुकमा देखा परेका चुनौतीलाई समाधान गरेको ताजा इतिहास छ। यी सबै कुरालाई ध्यानमा राख्दै फेरि पार्टी सभापतिले बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीतिअनुरूप सर्वप्रथम पार्टीभित्र बृहत् एकता र समन्वयको खोजी गरी मेलमिलापको मियो बन्नुपर्छ।

कांग्रेसका अगाडि थुप्रै चुनौती र अवसर छन्। चुनौतीको समाधान बृहत् एकताले मात्र गर्न सकिन्छ। आज नेकपाको बलियो सरकार छ भने नेपाल जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका दिएका छन्। त्यसैले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै कांग्रेसलाई पुरानै अवस्थामा पुर्या उने अवसर पनि हाम्रो अगाडि छ, यसका लागि कांग्रेसले धेरै गृहकार्य र राम्रा कामका थालनी अविलम्ब सरु गर्नुपर्छ।

मुलुक संघीय संरचनामा प्रवेश गरिसकेपछि नेपाली कांग्रेसको सांगठनिक संरचनालाई संघीय ढाचाअनुरूप लैजान केही चुनौती र कठिनाइ देखा पर्नु स्वाभाविकै हो। यसलाई पूर्णता दिनु पहिलो दायित्वभित्र पर्छ। संगठनलाई नयाँ जीवन दिन संगठनमा काम गर्ने साथीहरूको मनोबल उच्च राख्दै सही मूल्याकंनका आधारमा जिम्मेवारी र दायित्वबोध गराउन जरुरी छ। यसका लागि विधि र पद्धति र नीतिअनुरूप पार्टी सञ्चालन हुन आवश्यक छ। जनताको जनसवाल जनजीविका र जनसरोकारलाई पनि केन्द्रविन्दु बनाएर अगाडि बढेमा मात्रै जनताका आशा र भरोशाको केन्द्र बन्न सक्छ। यी सबै कुरा पूरा गर्न पार्टीभित्रका शीर्षस्थ नेतृत्वबीच बलियो एवं भावनात्मक एकता तत्काल गरिनुपर्छ। जीवन्त पार्टी सधैं आन्तरिक झगडा र भागबन्डाका बीच अल्झिरहनु राम्रो होइन।

इतिहासले दिएको जिम्मेवारी कांग्रेसले हरेक कालखण्डमा पूर्ण ढंगले पूरा गर्दै आएको छ। वर्तमान कठिन परिस्थितिमा पनि सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह गर्न र कम्युनिस्ट सरकारको अधिनायकवादी क्रियाकलापविरुद्ध लड्न आपैmंभित्र एकता गर्नु सक्नुपर्छ। बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीति कांग्रेसले आन्तरिक जीवनमा लागु गर्नुपर्ने आजको आवश्यकता हो।

कांग्रेसको एजेन्डा भनेको आर्थिक र सामाजिक क्रान्ति नै हो। त्यसबाट मात्र बीपीको प्रजातान्त्रिक समाजवादको नीतिअनुरूप नयाँ नेपालको निर्माण गर्न सकिन्छ। स्थापनाकालदेखि नै कांग्रेसको नेतृत्व सामूहिक नै देखिन्छ। त्यसैले आजको आवश्यकता पनि पार्टीभित्र सबैलाई मिलाएर समान भूमिका र अवसर दिएर सामूहिक नेतृत्व प्रणालीका आधारमा पार्टीलाई अगाडि लैजानुपर्छ।

आजको अवस्थामा कांग्रेसले बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई व्यवहारमा चरितार्थ गर्दै सर्वप्रथम पार्टीभित्र एकता दर्शन र विचार नमिल्नेलाई पनि लोकतान्त्रिक संस्कार र आचारणभित्र ल्याउने नेतृत्वदायी भूमिका र अन्य लोकतान्त्रिक पार्टीलाई पनि लोकतान्त्रिक छाताभित्र आबद्ध गर्दै संगठित रूपमा मुलुकमा देखा परेका राष्ट्रिय–अन्तर्राष्टिय समस्या र चुनौतीलाई समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। तब मात्र बीपीको राष्ट्रिय मेलामिलाप नीति सार्थक हुन्छ।

Leave a Reply