पाेखरा । मुलुकलाई शान्तिकाे बाटोमा डाेर्याउन ,संघीय लाेकतान्त्रिक गणतन्त्रकाे गाेरेटाेमा हिडाउन महत्त्वपूर्ण भुमिका खेल्नुभएका नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद काेईरालाकाे अाज ११अाै स्मृति दिवस परेको छ। गिरिजाप्रसाद कोइराला एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सभापति थिए।
उनी वि.सं. २०४८ जेठ १२ देखि वि.सं. २०५१ मङ्सिर १४, वि.सं. २०५५ वैशाख २ देखि वि.सं. २०५६ जेठ १७, वि.सं. २०५६ चैत्र ९ देखि वि.सं. २०५८ साउन ११ र वि.सं. २०६५ जेठ १५ देखि वि.सं. २०६५ भदौ २ सम्म गरि चार पटक नेपालको प्रधानमन्त्री भएका थिए।
उनी वि.सं. २०१६ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। त्यति बेला उनका दाजु विश्वेश्वरप्रसाद कोइराला र उनको राजनैतीक पार्टी नेपाली कांग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचनमा स्पष्ट बहुमत ल्याएको थियो। उनी नेपाली कांग्रेसका सभापति र सात राजनैतिक दलहरूको मोर्चाको नेता थिए।
उनी ६० वर्षभन्दा धेरै समयसम्म राजनीतिमा संलग्न रहेका थिए।उनले आफ्नो राजनीतिक जीवनको सुरुवात, आफ्नो गृहनगर विराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा गरेका थिए। वि.सं. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उनको निधन भएको थियो।माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएका उनलाई एक निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ।
गिरिजा प्रसाद कोइरालाको निधन मिति २०६६ चैत्र ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो। चिकित्सकहरूको अनुसार उनको निधन १२ बजेर १० मिनेटमा भएको थियो।उनको दाहासंस्कार चैत्र ८ गते पशुपतिनाथ मन्दिर नजिक आर्यघाटमा हिन्दू परम्परा अनुसार गरिएको थियो। उनको मृत्युको खबर पाएपछि धेरै राजनीतिज्ञहरूले शोकको बयान जारी गरेका थिए।भारतीय पत्रिका द हिन्दूले उनलाई “राष्ट्रिय अभिभावक” भनेर वर्णन गरेको थियो।
तात्कालिक भारतीय प्रधानमन्त्री मनमोहन सिंहले शोक व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेका थिए। संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मूनले, कोइराला निडर भई आफ्नो देशको न्याय र प्रजातान्त्रिक अधिकारको लागि पर्याप्त व्यक्तिगत त्यागमा लडेको बताएका थिए।