लेखनाथको संबृद्धि सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७४ युनिट रगत संकलन

१७ जेष्ठ २०७९, मंगलवार

लेखनाथ।संबृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् ।
पोखरा महानगरपालिका वडा नंं २६ र २७ का वडाध्यक्ष नरेन्द्र थापा र पूर्णकुमार गुरुङ्गले पहिलो रक्तदाता समिक्षा गिरी र विश्वनाथ त्रिपाठीलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारंभ गरेका थिए ।
कार्यक्रममा रक्तदान समेत गरेका वडा नं. २६ वडाध्यक्ष थापाले मानव सेवाका सवै कामहरुमा वडाले सहकार्य गर्ने उल्लेख गरे । रक्तदानका बारेमा युवापुस्तामा भ्रम रहेको उल्लेख गर्दै, अध्यक्ष थापाले चेतना अभिवृद्धिका कार्यक्रम ल्याउन समेत रक्तसंचार केन्द्रलाई आग्रह गरे । उनले वडाको विकासका लागि प्रभुद्ध वर्गसँग सहकार्य गरेर योजना बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले रगतको आवश्यकता रहेको सन्देश रक्त संचारले गर्ने लगत्तै सहकारीले कार्यक्रमको आयोजना गरेर मानविय सेवा गरेको उल्लेख गरे । उनले जनताले दोश्रो कार्यकालका लागि समेत अनुमोदन गरेकाले जनताको विश्वासमा आँच नआउने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय रक्तसंचार केन्द्रले स्थायी रक्तदाताको परिचयपत्र उपलब्ध गराई अस्पतालका सेवाहरुमा सहुलियत दिन आग्रह गरे ।
२८ औं पटक रक्तदान गरेका सहकारी सदस्य पोखरा तालचोक निवासी सुरजजंग राणाले रक्तदानको महत्वको बारेमा वुझेकाले नियमित रक्तदान गर्दै आएको बताए । उनले आफ्नो बुवाको उपचारमा समेत धेरै पटक रगत दिनु परेकाले स्वास्थ्यले साथ दिईन्जेल रक्तदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सहकारीका अध्यक्ष सुमन भट्टराईले पोखरामा रगत अभाव भएको बेला आफ्नो संस्थालाई संझन रक्तसंचार केन्द्रलाई आग्रह गरे । कार्यक्रममा पहिलो पटक देखी २८ पटकसम्म रक्तदान गर्ने दाताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव नवराज तिवारीले गरेका थिए ।

Leave a Reply