उच्च ओहदा र तहमा आसिन हुन सफल डागर स्मृति  प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकलाई सम्मान

१७ श्रावण २०७९, मंगलवार

 

 

पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले बुधवार एक समारोहका बीच चार जना सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ ।प्रतिष्ठानका अभिभावक तथा शुभेच्छुकहरू विभिन्न उच्च ओहदा र तहमा आसिन हुन सफल भएको अवसरमा शुभकामनासहित प्रतिष्ठान सम्मान अर्पण गरेको हो । यसरी सम्मानित हुनेमा प्रतिष्ठानका अभिभावक डिष्ट्रिक ३२५ बी १ का पूर्व डिस्ट्रिक गभर्नर तथा महानगरप्रमुख धनराज आचार्यलगायत विशिष्ट समाजसेवी रहनुभएको छ । प्रतिष्ठानका शुभेच्छुक राम बसेल समाजसेवीहरुको सर्वश्रेष्ठ संस्था लायन्स क्लब अफ इन्टरनेशनलको लायन वर्ष २०२२÷२०२३ का लागि डिस्ट्रिक ३२५ ‘आई’को गभर्नरमा, ध्रुव श्रेष्ठ डिस्ट्रिक ३२५ ‘जे’को गभर्नरमा र राजेन्द्र बाटाजु डिस्ट्रिक ३२५ ‘के’को गभर्नरमा निर्वाचित भएको खुसीमा एकै साथ सम्मान गरेको हो ।

 

प्रतिष्ठानका संस्थापक अध्यक्ष रमा पराशर, निवर्तमान अध्यक्ष हिरादेवी बास्तोला र वर्तमान अध्यक्ष बिन्दु श्रेष्ठले संयुक्तरुपमा दोसल्ला, माला, खादा, बुँकीसहित सम्मान अर्पण गरेका हुन् । सम्मानका साथसाथै संयुक्त रुपमा केक काटेर आफ्ना कार्यकालका कार्य यस्तै स्वादिष्ट र रुचिपूर्ण हुन भन्ने शुभेच्छासमेत व्यक्त गरिएको थियो । सम्मानित व्यक्तित्व धु्रव श्रेष्ठले प्रतिष्ठानका गतिविधिलाई आफूले नजिकबाट नियाल्दै आएको र रमा पराशर आम महिलाका लागि नमूना पात्र भएको उल्लेख गरे । प्रतिष्ठानले समाजमा असल कर्म गर्नेलाई प्रोत्साहन मात्र होइन, असल मार्गनिर्देशन पनि गरेकोमा खुसी व्यक्त गरे । सम्मानित व्यक्तित्व राजेन्द्र बाटाजूले प्रतिष्ठानसँग निरन्तर सहकार्य र सहयात्रामा नरहे तापनि सम्मानले थप जिम्मेवारी बोध गराएको धारणा राखे । साथै बाटाजूले लायन्सका गतिविधिलाई नजिकबाट राम्ररी नबुझ्नेहरुले गरेका विविध टिकाटिप्पणी पनि प्रेरणाका श्रोत बन्ने गरेको बताए ।

 

 

सम्मानित व्यक्तित्व राम बसेलले प्रतिष्ठानले साहित्य, समाजसेवा र शिक्षासेवाका क्षेत्रमा गरेको योगदानको खुलेर प्रशंसा गर्दै थपे, ‘प्रतिष्ठानका संस्थापक रमा पराशरसँगको संगत र जीवनी सत्कर्ममा लाग्नेहरुका लागि एउटा पाठशालाका रुपमा मैले पाएको छु ।’प्रतिष्ठानका बारेमा प्रकाश पार्दै दीपेन्द्र श्रेष्ठले रमा पराशरको एक्लो प्रयासलाई संस्थागत रुप दिएर निरन्तर शिक्षासेवा, समाजसेवा, साहित्यसेवा र राष्ट्रसेवामा क्रियाशील प्रतिभालाई प्रोत्साहन, उत्साह र हौसला प्रदान गर्नु नै प्रतिष्ठानको मूल कार्य रहेको जानकारी गराए । संस्थापक रमा पराशरले आफ्नो भन्नु नै पोखरेली र यही प्रतिष्ठान रहेको बताउँदै सबैको माया, साथ र आशीर्वादले आफूलाई अगाडि बढ्न प्रेरणा मिलेको बताइन् ।

 

 

प्रतिष्ठानका उपाध्यक्ष सरिता तिम्सिना पंगेनीले सम्पूर्ण समाजसेवी र लायनवादको यात्रामा लाग्नेहरुको प्रेरणा र हौसला नै प्रतिष्ठानको कमाइ भएको उल्लेख गरिन् । संस्थाका संस्थापक अध्यक्ष रमा पराशरलाई सम्मानित तीनै जना डिस्ट्रिक गभर्नरले गभर्नर पिनबाट सम्मान गरेका थिए । समारोहमा एउटा पुरुषलाई सफलताको मार्गमा डो¥याउन महिलाको महत्वपूर्ण भूमिका हुने स्मरण गर्दै प्रतिष्ठानका अभिभावक धनराज आचार्यकी जीवनसाथी पुष्पा आचार्य र तीनवटै डिस्ट्रिकका फस्ट लेडीलाई सो अवसरमा सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सहसचिव असफल गौतमले गरेका थिए ।

 

 

 

 

Leave a Reply