डा. टीकाराम पोखरेललाई डायमनशमशेर राणा प्रतिभा सम्मान

0
12

काठमाडौं । उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीको अवसरमा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले साहित्य तथा अनुसन्धानका क्षेत्रमा योगदान पुर्‍याएका  स्रष्टा  डा. टीकाराम पोखरेललाई ‘डायमनशमशेर राणा प्रतिभा सम्मान  प्रदान गरेको छ।

प्रतिष्ठानले डायमनशमशेर राणाका ऐतिहासिक उपन्यासमाथि विद्यावारिधि गरेका डा.पोखरेललाई सम्मानस्वरूप  नगद रु.२५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो।

डा. पोखरेलले डायमनशमशेरका ऐतिहासिक उपन्यासमा इतिहास र कल्पनाको प्रयोग, ऐतिहासिकता, औपन्यासिक शिल्प तथा इतिहास र साहित्यबीचको सन्तुलनको सैद्धान्तिक अध्ययन गर्दै वि.सं. २०६६ मा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले डायमनशमशेर राणाले ऐतिहासिक उपन्यास लेखनमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए। उनले नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनामा राणा परिवारको भूमिकासमेत महत्त्वपूर्ण रहेको चर्चा गर्दै ऐतिहासिक उपन्यास लेखनमा डायमनशमशेरसँग तुलना गर्न सकिने अर्को उपन्यासकार नेपालमा नभएको धारणा व्यक्त गरे।

साहित्यकार डा। तुलसीप्रसाद भट्टराईले प्रजातन्त्रका लागि संघर्षका क्रममा डायमनशमशेरको सम्पत्ति सर्वस्वहरणमा परे पनि उनको साहित्यिक योगदान आजसम्म उत्तिकै चर्चित रहेको बताए। समालोचक प्रा। डा। गोविन्दराज भट्टराईले डायमनशमशेरको ‘गृहप्रवेश’ उपन्यास चामत्कारिक यथार्थवाद ९म्याजिक रियालिजम० को प्रभावमा लेखिएको कृति भएको उल्लेख गरे।

सम्मानित व्यक्तित्व डा. टीकाराम पोखरेलले डायमनशमशेरका उपन्यासमा ऐतिहासिक तथ्य र औपन्यासिक कलाको सन्तुलित समन्वय भएकाले उनका कृतिहरू नेपाली ऐतिहासिक उपन्यासका क्षेत्रमा शिखर स्थानमा रहेको बताए।