देवकोटाको ११०औँ जन्मजयन्ती ,विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन्। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ। नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए।

विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए। महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे।

वि.सं. २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए। वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएका देवकोटाको अविस्मरणीय देन हो।

तीन महीनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो। देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो।

महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे। उनले पाश्चात्य ग्रिसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन्। वि.सं. २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन्। रासस

ऐतिहासिक र रणनीतिक पूर्वाधार बनाउने कुरामा सरकार र पार्टी सफल भयो :प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सरकारले अब जनताले देख्नेगरी काम गर्ने बताउनु भएको छ । पोखरामा  आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले सरकार र पार्टीको ध्यान ०७५ असोज ३ भित्र बनाइसक्नुपर्ने कानुन निर्माणमा केन्द्रित गर्नु परेकाले प्रभावकारी काम हुन नसकेको बताउनु भयो । तर, ऐतिहासिक र रणनीतिक पूर्वाधार बनाउने कुरामा सरकार र पार्टी सफल भएको उहाँको दाबी छ । कम्युनिस्टको यत्रो बलियो सरकार भएपछि जनताले पनि तुरुन्तै परिवर्तन खोजेको प्रचण्डले बताउनुभयो । नेतृत्व तहमा सरकारको काम र पार्टी एकता सम्बन्धी कामहरुको समीक्षा सुरु भइसकेको प्रचण्डले जानकारी दिनुभयो ।

अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी

  अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा खाता खोल्न भण्डारी सफल भएका छन् । मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवत भण्डारी पहिला नेपाली मूलका हुन् । नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका आएका थिए । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा पनि उनी प्राध्यापन पेशामा नै संलग्न छन् । गत २६ जुन २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थान हासिल गरी बिजयी बनेका थिए । उक्त प्राथमिक निर्वाचनमा मैदाना उत्रिएका ४ जना प्रतिस्पर्धीहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रो र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए । गत प्राथमिक निर्वाचनमा खसेको २० हजार ७ सय २६ मतमध्ये भण्डारीले २८ दशमलव १ प्रतिशत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए । उक्त चुनाव क्षेत्र जिल्ला ८ मा रिपब्लिकन दलका उम्मेदवारले पाएको मत हेर्ने हो भने डेमोक्र्याटिक उम्मेदवारको तुलनामा प्राथमिक निर्वाचनमा कम मत पाएको आँकडाले देखाएको थियो । यसैगरी न्यूह्याम्पशायरबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी राज्य डेमोक्र्याटिक दलकी उम्मेदवार मदलसा गुरुङ उपबिजेता बनेकी छन् । उनले २ हजार २ सय ९२ मत प्राप्त गरिन् । उनले बिजयी उम्मेदवारलाई बधाई पनि दिएकी छन् ।

वडा अध्यक्षले शिक्षक कुटे

प्यूठान,  बिद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा व्यवस्थापन समिति र शिक्षक बिच छलफल गर्दै गर्दा प्यूठानको झिमरुक गाउँपालिका ८ टिमुरचौर स्थित जनता मा वि का शिक्षक सिद्दमान एम सीलाई वडा अध्यक्ष तुलस बस्नेतले कुर्ची प्रहार गरि घाइते बनाएका छन् । शिक्षक एम सी को प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको र उनको टाउकोमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ । ु हामी जनप्रतिनिधि भनेका राजा जस्तै हौ, शिक्षक भनेका नोकर हौ, हामीलाई राजाको व्यवहार गर्नुपर्छू वडा अध्यक्ष तुलस बस्नेतले यहि शब्द बोल्दै शिक्षकहरुलाई हपारेको र तपाई किन यसरी अनावश्यक बोल्नुहुन्छ भनेर शिक्षकले कार्यालयमै भन्दा कुर्ची टाउकोमा प्रहार गरेको प्रतक्षदर्सी सोहि बिद्यालयमा कार्यरत अर्का शिक्षक शसिधर घिमिरेले बताउनुभयो । घाइते शिक्षक सिद्दीमान एम् सीले आफू अन्यायमा परेको भन्दै न्याय दिलाउन पेशागत संघ, संगठन, शिक्षक महासंघ र अदालत सम्म जाने बताए । कुटेको आरोप लगाईएका वडा अध्यक्ष तुलस बस्नेतलाई फोन सम्पर्क गरि अटनाबारे थप बुझ्न खोज्दा उनको सम्पर्क हुन सकेन ।