छाडा गाईमाथि बाघको आक्रमण : नौ वटा गाई मरे

कञ्चनपुर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ । गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको छ । वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाई माथि बाघले आक्रमण गरी मारेको वडा अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । बाघले दिउँसोसमेत वन क्षेत्रमा चर्न पठाइएका गाईमाथि आक्रमण गरी मार्न थालेको छ उहाँले भन्नुभयो, “राति गाई राखेकै ठाउँमा छिरेर ठूलो नोक्सानी पु¥याउन थालेको छ ।” बाघ भगाउनका लागि गोठाला राखिएका भए पनि गाई जोगाउन निकै मुश्किल हुन थालेको उहाँले बताउनुभयो । डमरुसहितको बाघ भएकाले भगाउन खोजे पनि भाग्नुका साटो उल्टै गोठालामाथि आक्रमण गर्न आउने गरेको छ । दुई साताअघि पनि ११ वटा गाई एकैरात बाघले मारेको थियो । नगरपालिका क्षेत्रमा छाडा छाडिएका गाई व्यवस्थापनका लागि सामुदायिक वनमा राखिएको छ । सामुदायिक वनका तीन ठाउमा झण्डै एक हजार गाईलाई राखिएको जनाएको छ । –––

नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने नेपाल संवतको महत्व बढ्दै

काठमाडौँ,  नेवार समुदायले परम्परागत पोशाकमा चिटिक्क सजिएर नयाँ वर्षका रुपमा मनाउने नेपाल संवत्को महत्व बढ्दै गएको पाइएको छ । केही वर्ष अगाडि काठमाडौँ उपत्यकामा मात्र सीमित रहेको यो पर्व अहिले देश तथा विदेशमा समेत विभिन्न कार्यक्रम गरी मनाइन थालेको छ । प्रत्येक वर्ष गोवद्र्धन पूजाका दिन पर्ने यो संवत् नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् । संयुक्त राज्य अमेरिका, बेलायतलगायत विदेशमा बसोबास गर्ने नेवार समुदायले पनि यो पर्वलाई राम्रो प्रचार तथा प्रवद्र्धन गरेका छन् । यस वर्ष नेपाल संवत् ११३९ मनाउने सन्दर्भमा विभिन्न सङ्घसंस्थाले केही सामाजिक तथा रचनात्मक कार्यक्रम गरिरहेका छन् । नेपाल संवत् ११३९ को उपलक्ष्यमा ‘स्वयम्भूदेखि वसन्तपुर दरबार क्षेत्रसम्म’ पदयात्रा गरिएको छ । उक्त संवत्लाई राष्ट्रिय संवत्का रुपमा कार्यान्वयन गराउने प्रयत्न भइरहेको छ । चन्द्रमासमा आधारित उक्त संवत्मा एउटा औँसीबाट अर्काे औँसीसम्मको गणनालाई ‘एक चन्द्रमास’ भनिन्छ । एक वर्ष १२ औँसी आउने र ३५४ दिन पर्ने गर्दछ । नेपाल संवत्का प्रवद्र्धक शङ्खधर साख्वा काठमाडौँका व्यापारी भएको र विष्णुमती आसपास क्षेत्रबाट बालुवा झिक्ने क्रममा सुन प्राप्त गरेको किंवदन्ती पाइन्छ । त्रिभुवन विश्वविद्यालयका प्रा एवं संस्कृतिविद् मिलनरत्न शाक्यले उक्त संवत्का वैज्ञानिक पक्षलाई व्यापक बनाउनुपर्ने बताउँदै संवत्अनुसारको क्यालेण्डर बनाउने ज्योतिषशास्त्रीको अभाव रहेकाले त्यस्ता जनशक्तिको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । शङ्खधर साख्वालाई सरकारले राष्ट्रिय विभूूति घोषणा गरिसकेको छ । नेपाली जनताको ऋण मोचन गरी चलाएको नेपाल संवत् कुनै जाति विशेष नभएको सांसद वसन्त मानन्धरले बताउनुभयो । विसं १९६० सम्म पनि नेपालमा सरकारी कामकाजका रूपमा यसलाई प्रयोग गरिएको बताइएको छ । जहानियाँ राणाशासनकालमा यो संवत्ले गति लिन नसकेपछि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत्लाई चलनमा ल्याएका थिए । कामपा–१३ का पूर्ववडा अध्यक्ष रामशरण डङ्गोलका अनुसार साख्वाले तत्कालीन काठमाडौँ उपत्यकाका ऋणी जनतालाई ऋणमुक्त बनाई ११३९ वर्ष अगाडि संवत् प्रारम्भ गरेको विश्वास छ । विगतमा प्रचारको कमीले गर्दा यो संवत ओझेलमा परेको भए पनि अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा संवत्सम्बन्धी गरिने अन्तक्र्रिया तथा विभिन्न कार्यक्रमले यसको लोकप्रियता बढ्दै गएको पाइएको छ ।

भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस दुर्घटना ,२६ जना घाइते

चितवन,  भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ना६ख ९३६६ नंको बस बिहान १ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो । बसमा विद्यार्थी र शिक्षक गरी ३४ जना सवार रहेको प्रहरीले जनाएको छ । –––

भलो होस् अपभ्रंश भई भैलो भयो :प्रा डा रामचन्द्र गौतम

पोखरा ,यतिबेला नेपालीहरुको घरआँगनमा दोश्रो ठुलो चाड तिहार भित्रिसकेको छ । टोलटोलमा केटकेटीहरु भैलोमा रमाईरहेको देखिन्छ ।   युवा समुह,आमा समुह देखि बिभिन्न संघसंस्थाहरुले  समेत भैलो कार्यक्रम को आयोजना गरि भैलो खेलीरहेका भेटिन्छन । लक्ष्मी पूजाको दिन  साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्ने प्रचलन छ। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।