आज तिहारको तेश्रो दिन ,धनधान्यकी देवी लक्ष्मीको पूजाआरधाना गरी मनाइँदै

  पोखरा ,यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो । –––

राष्ट्रलाई एकताबद्ध बनाउन खेल सशक्त माध्यम : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाउने सशक्त माध्यम खेल भएको बताउनुभएको छ । पोखरामा सम्पन्न क्रिकेटको पोखरा प्रिमियर लिगको आज यहाँ आयोजित पदक वितरण समारोहमा उहाँले खेलले सभ्यता र राष्ट्रिय अनुशासनका लागि सन्देश दिने बताउनुभयो । पोखरामा फुटबल प्रतिको आकर्षण रहिरहेका अवस्थामा प्रिमियर लिग सञ्चालनसँगै यो ठाउँ क्रिकेटका लागि पनि आकर्षक स्थल बनेको उहाँको भनाइ छ । पोखरामा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउन पार्टी तथा सरकार लाग्ने बताउँदै उहाँले त्यसका लागि आफूले व्यक्तिगत रुपमा पनि सहयोग गर्ने विश्वास व्यक्त दिलाउनुभयो । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालमा क्रिकेट खेलको विकासमा जोड दिनुपर्ने बताउनुभयो । प्रतियोगितामा पोखरा पल्टनले चितवन राइनोजलाई हराउँदै प्रिमियम लिगको उपाधि हासिल गर्न सफल बन्यो । विजेताले रु २७ लाख र ट्रफी प्राप्त ग¥यो भने उपविजेताले रु १० लाखमा चित्त बुझाएको थियो । प्रतियोगिताका विजेता, उपविजेता, विभिन्न विधामा उत्कृष्टता हासिल गर्नेलाई उक्त अवसरमा अध्यक्ष प्रचण्ड, पूर्वमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापा, प्रदेशसभा सदस्यहरूले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो । उहाँले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने उल्लेख गर्नुभएको छ । तिहार पर्वमा प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने गरिन्छ ।

जीप दुर्घटनामा एक जनाको मृत्यु

सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका–३ पञ्चनमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । सो गाउँपालिका अध्यक्ष असिम राईका अनुसार घाइतेहरुको उद्धार गरी अस्पताल लगिएको छ । आज साँझ करीब साढे ६ बजे पञ्चनको पोल्मे भन्ने स्थानमा जीप खसेको जानकारी प्राप्त भएको सोलुखुम्बुका सहायक प्रजिअ टुक्ति शेर्पाले बताउनुभयो । अहिले सहायक प्रजिअ नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।