बस्नेतको उद्धारका लागि ‘ब्लड मनी’ सङ्कलन
काठमाडौँ, साउदी अरबस्थित बुरैदा कारागारमा बन्दी जीवन बिताउन बाध्य सुनसरीस्थित बराहक्षेत्र नगरापलिका–२ का भुपाल बस्नेतको उद्धारका लागि हालसम्म करीब रु सात लाख सङ्कलन भइसकेको छ ।
प्रवासी नेपाली समन्वय समितिको पहलमा रु छ लाख ९३ हजार ३०४ सङ्कलन गरिएको हो । बस्नेतको उद्धारका लागि गैरआवासीय नेपाली स¬ङ्घ (एनआरएनए आरसिसी) ले रू दुई लाख ६४ हजार २९९, गन्तव्य नेपाल नामक संस्थाले रु दुई लाख १४ हजार ७७२, नेपाली प्रवासी समाज साउदी अरबले रू ३२ हजार २३२ र प्रेम बचाउ अभियानले रू दुई लाख सहयोग गरेको उक्त समितिले जनाएको छ ।
बस्नेत २०७३ साल वैशाख १४ गते पाजु इन्टरनेशनल प्रालिमार्फत सवारी चालकका लागि पुनः साउदी अरब जानुभएको थियो । त्यहाँको ‘पानारोमा फर ट्रेडिङ इस्ट’ कम्पनीका लागि काम गर्न जाने क्रममा उहाँलाई विमानस्थलबाटै साउदी प्रहरीले गिरफ्तार गरेको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा विगत छ वर्षअघि साउदी अरबको ‘अल माजल अल अरबी ग्रुप’ कम्पनीमा आबद्ध उहाँले चलाएको गाडी सडक दुर्घटनामा पर्दा एक साउदी नागरिकको ज्यान गएको र उक्त दुर्घटनामा बस्नेतको २५ प्रतिशत गल्ती देखाउँदै साउदी रियाल ७५ हजार ३०० (करीब रू २३ लाख ५० हजार) तिर्नुपर्ने अदालतबाट फैसला भएकामा सो बापतको जरिवाना उक्त कम्पनीले जिम्मेवारी लिई बस्नेतलाई नेपाल फर्काएको थियो ।
बस्नेत नेपाल फर्किएपछि कम्पनीले बुझाउनुपर्ने रकम नबुझाएका कारण मुद्दाको कार्यान्वयन भएको थिएन । पुनः बस्नेत कामका लागि साउदी पुगेपछि त्यहाँका प्रहरीले तोकिएको जरिवाना नबुझाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको उक्त समितिले जनाएको छ । बस्नेतलाई जेलमुक्त गर्न आवश्यक रकम परिवारबाट सम्भव नभएकाले ‘ब्लड मनी’ सङ्कलन अभियान शुरु गरिएको हो ।
मनाइयो कुकुर तिहार र नरक चतुर्दशी
काठमाडौँ, यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको छ ।
आज बिहान अरुणोदयकालमा नदी, तलाउ वा धारामा गई स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काइ बालेर बगाउने कार्य पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ ।
आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यसै कारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।
सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस् भन्ने शुभकामना छ : डा कोइराला
पोखरा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।
काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित दशैँ, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकलाई विकसित र समृद्ध बनाउन पार्टी–पार्टीबीच सौहार्दता हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले अहिले सरकार स्थिर छ तर, राजनीतिक अस्थिरता कायम रहेकाले यसलाई अन्त्य गरी सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस्् भनी शुभकामना दिनुभयो ।
मुलुकमा सुशासन, पारदर्शिता, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्नुपर्ने उल्लेख गर्दै उहाँले यसका लागि सहमति, सहकार्य र एकता आवश्यक छ भन्नुभयो ।
सङ्घीयता अब हट्न नसक्ने र यसलाई सफल बनाउने जिम्मेवारी सबैको रहेको भन्नुहुँदै डा कोइरालाले सङ्घीय सरकारलाई छिटोभन्दा छिटो कानून बनाएर प्रहरी, प्रशासनको जिम्मेवारी प्रदेश सरकारलाई दिन आग्रह गर्नुभयो ।
जो हाँस्छ त्यही मात्र बाँच्छ : मुन्द्रेको कमेडी
काठमाडौँ , “बजारमा सुगरको भाउ बढेको छ, घरघरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एकमात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ । जो हाँस्छ त्यही मात्र बाँच्छ ।”
हाँस्य कलाकार जितु नेपालले यही उद्गारका साथ ‘मुन्दे्रको कमेडी क्लब रियालिटी शो’ आरम्भ गरेसँगै नेपाल टेलिभिजनको लोकप्रियता थप बढेको छ । ‘स्याण्ट अप’ कमेडीका रुपमा लिइने यस्ता कार्यक्रमले पछिल्लो समयमा दर्शक तान्न थालेपछि समाचार तथा लोकप्रिय हास्य एवं पारिवारिक शृङ्खलाका कार्यक्रममा अगुवाइ गरिरहेको नेपाल टेलिभिजनले सोमबारदेखि ‘मुन्दे्रको कमेडी क्लब रियालिटी शो’ शुरु गरेको हो । भारतमा ‘द कपिल शर्माको शो’ जस्तै नेपाली स्वादको ‘मुन्दे्रको कमेडी क्लब रियालिटी शो’ ले नेपालमा लोकप्रियता पाउने देखिएका छ ।
हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने कार्यक्रमको पहिलो शृङ्खलामा छक्कापञ्जा ३ चलचित्रबाट लोकप्रियता कमाइरहेका कलाकार दीपकराज गिरी, दीपाश्री निरौलालगायतलाई आमन्त्रण गरी जितुले दर्शकलाई हसाउनुभएको थियो । हाँस्य कलाकारिताका क्षेत्रमा जितुलाई मुन्द्रे उपनामले दर्शकले चिन्छन् । सो कार्यक्रमलाई ग्रामीण भेगाका दर्शकले विशेष मन पराएको र सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आइरहेको नेपाल टेलिभिजनका कार्यक्रमतर्फका नायब महाप्रबन्धक दीपा गौतमले जानकारी दिनुभयो ।
‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘परिचय’ जस्ता पुराना लोकप्रिय हास्य तथा पारिवारिक शृङ्खला कार्यक्रमको निरन्तरता दिँदैलगायत यो नयाँ कार्यक्रम सञ्चालन गर्दै आफ्नो लोकप्रियतालाई कायम राख्ने आफूहरूको योजना रहेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले बताउनुभयो ।
सो टेलिभिजनले नृत्य प्रतिभालाई प्रष्फुटन गर्न साङ्गीतिक रियालिटी शो छमछमी चार कार्यक्रमको अडिसन प्रारम्भ पनि यही कात्तिक १७ गतेबाट गरेको छ । सो कार्यक्रमको अडिसन संविधान दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गर्नुभएको थियो ।