डेरी उद्योगमा आगलागी

कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको एक डेरी उद्योगमा आज अपराह्न आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । ग्यास सिलिण्डर चुहिएर सल्किएको आगोले कमल डेरीमा रहेको खोया बनाउने मेसिन, भाँडाकुँडा, २०० लिटर दूध, तिहारका लागि तयार गरिएको २० किलो खोया जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रण गरिएको थियो । ––––

दुई तिहाइको सरकार नेपाली जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’

ललितपुर,  कागतिहारका उपलक्ष्यमा स्रष्टाहरुले कविता, मुक्तक, गीत, नृत्यलगायत विधामार्फत हास्यव्यङ्ग्य प्रस्तुत गरेका छन् । हासने प्रतिष्ठानले आज आयोजना गरेको ‘आलु पार्टी’ मा जावलाखेलस्थित हासनेघरमा जीतु नेपाल, केरा अर्याल, घनश्याम गौतम, डम्बर घिमिरे, कल्याण राना, पिँडालु पौडेल, बमबहादुर जितालीलगायतले सिर्जना प्रस्तुत गरे । प्रतिष्ठानका अध्यक्ष रामकुमार पाँडेले चार दशक पहिलेदेखि काग तिहारका दिन हास्य कार्यक्रमको आयोजना हुँदै आएको बताउनुभयो । हास्य क्षेत्रमा कार्यरतले काग तिहारलाई सम्पूर्ण हास्य दिवसका रुपमा मनाउँदै आएका छन् । वर्षेनी यो दिन हास्य कलाकार, चित्रकार, लेखकलगायत एक ठाउँमा जम्मा हुने गरेका छन् । चार दशकमा करीब डेढ सय कलाकारले आआफ्नो प्रस्तुति दिएको उहाँले बताउनुभयो । कलाकार जीतु नेपालले विदेशमा बस्ने धेरै नेपालीले नेपाली कलाकार नचिनेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आमाबाबा हामीसँग फोटो खिच्न आउँदा बालबालिका को हो भनेर सोध्छन् ।” दुई तिहाइको सरकार नेपाली जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ हुन नहुने उहाँले बताउनुभयो । चलचित्र ‘छक्का पञ्जा–३’ का दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतलाई प्रतिष्ठानले आलुको माला लगाइदिएर सम्मान गरेको थियो । कार्यक्रमपछि आलुको परिकार सेवन गरिएको थियो । पाँडेले भन्नुभयो, “सबै परिकारमा प्रयोग हुने आलु सस्तो र सबै खानेकुरामा मिल्छ भने हास्यव्यङ्ग्यमा पनि साङ्केतिक रुपमा यसको प्रयोग हुन्छ ।” –––

एसियाली प्यासिफिका लागि कराते खेलाडी छनोट

इन्डोनेसियामा हुने १५ औं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट ५ पुरुष र ४ महिला गरी ९ खेलाडी छनोट भएका छन् ।
नेपाल सितोरियो कराते संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी प्रतियोगितालाई छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । प्रतियोगिता इन्डोनेसियाको जकार्तामा नोभेम्बर २१ देखि २५ तारिखसम्म हुनेछ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष एकल कातामा नेपाली सेनाका पर्शुराम बाँस्तोला पहिलो भए । उनले फाइनलमा आफ्नै विभागका प्रवीण मानन्धरलाई पराजित गरे । पुरुष ५५ केजीमुनि नेपाल प्रहरीका विजय श्रेष्ठ पहिलो भए । उनले फाइनलमा प्रहरीकै सोनाम लामालाई हराए ।
पुरुष ६० केजीमुनि काठमाडौंका अनिश लामा, ६७ केजीमुनि केन्द्रीय डोजोका आशिष थापा र ८४ केजीमाथि एपीएफ क्लबका डिगम्बरप्रसाद पन्तले शीर्ष स्थान हात पारे । निर्णायक भिडन्तमा अनिशले सन्तोष राई, आशिषले रुरीहाङ डुमी र डिगम्बरले ईश्वरधन राईको चुनौती समाप्त पारे । पराजित तीनै खेलाडी खोताङका हुन् ।
महिला एकल कातामा प्रहरीकी चन्चला दनुवारले आर्मीकी रिना श्रेष्ठलाई पाखा लगाउदै इन्डोनेसिया यात्रा पक्का गरिन् । महिला ५० केजीमुनि सेनाकी कुसुम खड्का पहिलो भइन् । कुसुमले फाइनलमा सेनाकै मिस्ली श्रेष्ठलाई निराश पारिन् । ५५ केजीमुनि एपीएफकी मनीषा चौधरीले खोताङकी विद्याकला राईलाई पन्छ्याउदै पहिलो स्थान हात पारिन् । ६१ केजीमुनि सेनाकी सनी तामाङ छनोट हुन सफल भइन् । फाइनलमा सनीले प्रहरीकी सुनीता महर्जनलाई हराइन् ।
आइतबार भएको एकदिने छनोटमा ६१ पुरुष खेलाडीले ५ स्पर्धा तथा ४५ महिला खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

ओलम्पियन लामाको प्रतिमा स्थापना गरिने

नेपाली खेलकूदमा ऐतिहासिक सफलता प्राप्त गर्नुभएका ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ । आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा ओलम्पियन लामाको आगामी ६ महिनाभित्र मूर्ति स्थापना गरिने जानकारी गराइयो । नेपाल तामाङ घेदुङ सङ्घले लामाको मूर्ति निर्माणका लागि समिति बनाएर कार्य योजना छिट्टै तयार गर्ने जनाएको छ । समितिका संयोजक डिएन घिसिङ तीन दशक अगाडि नेपालको नाम र इज्जत विश्वभर फैलाउन सफल लामाको प्रतिमा स्थापना गर्न लागिएको बताउनुहुन्छ । लामाको मूर्ति काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित उहाँकै जन्मथलोमा बनाइने छ । लामाले सन् १९८४ देखि १९९० सम्म राष्ट्रिय टिमबाट तेक्वान्दो खेल्नुभएको थियो । उहाँले सन् १९८६ मा पहिलो पटक १०औँ एशियाली खेलमा नेपालको तर्फबाट कास्य पदक तथा सन् १९८७ मा स्पेनमा भएको ८औँ विश्व तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जित्नु भएको थियो । लामा सन् १९८८ को आठौँ एशियन च्याम्पियनसिपमा रजत पदक जित्न सफल हुनुभएको थियो । त्यसैगरी दक्षिण कोरियाको सोलमा सम्पन्न २४औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा लामाले कास्य पदक जित्नु भएको थियो । पत्रकार सम्मेलनमा आफ्नो खेल जीवनबारे स्मरण गर्दै लामाले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । आफूलाई साधारण खेलाडीका रुपमा मात्रै लिन आग्रह गर्दै उहाँले पढ्ने बेला भागेर ब्रुस लिको चलचित्र हेर्न जाने गरेको र त्यसैबाट प्रभावित भई तेक्वान्दोतर्फ आकर्षित भएको बताउनुभयो । नेपालमा २०३९ सालपछि मात्रै सर्वसाधारणलाई तेक्वान्दो खेल्न दिइएको लामाको भनाइ थियो । उहाँले आफू पनि त्यसपछि मात्रै तेक्वान्दो खेल्न थालेको बताउनुभयो । नेपालको इतिहासमा जिवित खेलाडीको मूर्ति बन्न लागेको यो पहिलो पटक हो ।