काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता

  काठमाडौँ,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो । काङ्ग्रेसले शुक्रबार काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष काङ्ग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै यही कात्तिक १६ गते अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका प्रमुखलगायतका विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने प्रवक्ता शर्माले बताउनुभयो । हरेक वर्ष विजया दशमी कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने काङ्ग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बास्तोलाको निधनको १३औँ दिन नपुगेका कारण कात्तिक १६ गते सारिएको हो । नेता बास्तोलाका गत असोज २७ गते निधन भएको थियो । काङ्ग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन । –––

खोलाको किनारमा युवतीको शव फेला

  लहान,  सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा हिजो साँझ एक युवतीको शव फेला परेको छ । सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसंगैको खेतमा फेला परेको हो । तराईवासी जस्तो देखिने युवतीको शव शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । रातो कुर्था, कालो सुरुवाल, कालो सुइटर र निलो आकाशे रङ्गको सल लगाएकी ती युवतीको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

ललितपुर महानगरपालिकाको तीन स्थानमा इकोपार्क बन्ने

 ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय÷हरियाली ( इकोपार्क ) निर्माण गर्ने भएको छ ।

यसका लागि महानगरले इञ्जिनीयरिङ अध्ययन सस्थानको अति सुन्दर एवं आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कमाउण्डको पर्खाल भत्काउने जनाएको छ । “ती दुई निकायका सहमतिमा नै त्यहाँका भौतिक संरचनामा कुनै असर नपु¥याई अहिले रहेका हरियालीलाई यथावत राखेर थप चिटिक्क र आकर्षण इकोपार्क बनाउने तयारी महानगपालिकाले गर्दैछ ।” महानगरप्रमुख चिरिबाबु महर्जनले भन्नुभयो । महानगरपालिका तथा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रद्वारा संयुक्त रूपमा इको सिटीसम्बन्धी बुधबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महानगपालिकाले नयाँ जमीन किनेर पार्क बनाउन कठिन हुने भएकाले अहिले हरियाली रहेकै जमीनलाई थप उपयोग गरी पार्कका रूपमा विकास गर्नेे नीति रहेको बताउनुभयो ।महानगरपालिकाभित्र हाल चार प्रतिशत पनि सार्वजानिक जमीन नरहेको चर्चा गर्दै महानगरप्रमुख महर्जनले भन्नुभयो, “जमीन जति व्यक्तिका नाममा गइसके । कहाँबाट जमीन ल्याएर इको सिटी बनाउँ म ? भएकालाई नै थप उपयोग गर्नुको अर्काे विकल्प छैन ।” उहाँले अबको सडक संरचना साइकलमैत्री हुने र यसका लागि रु ५० लाख विनियोजनसमेत गरिएको जानकारी दिनुभयो । कार्यक्रमका सहभागी उपत्यकाभित्रका १८ वटै नगरपालिकाका प्रतिनिधिले पनि आ¬–आफ्नो नगरपालिकालाई हरियाली शहर (इको सिटी) बनाउने अठोट गर्नुभएको थियो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उपत्यकाको वातावरण संरक्षण र हरियाली शहर बनाउनका लागि अन्तरनगपालिका फोरम बसिसकेको उल्लेख गर्दै अब सहकार्यका माध्यमबाट काम हुने जानकारी दिनुभयो । नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले काठमाडाँै उपत्यकाभित्र छ वटा विश्व सम्पदास्थल रहेको र उपत्यकाभित्र वातावरण संरक्षण गर्न नगरपालिकाबीच समन्वयात्मक काम हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मी र अध्यक्ष प्रा डा शरद वन्तले उपत्यकाभित्र वातावरण प्रदूषण बढ्दा नसर्ने रोग बढिरहेको चर्चा गर्दै अब शहरलाई हरियाली बनाउन आवश्यक छ भन्नुभयो ।

भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा

  काठमाडौँ । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ। कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको छ । भाईटिकाको दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत  कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा  उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ । कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ । कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ । भाईटिकाको दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिए पछि तिहार सकिन्छ ।