– वासुदेव पौडेल
कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ ।
सर्वसाधारण पहाडी क्षेत्रबाट बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीका सम्भावनालाई उजागर गर्न गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा नै यसलाई महत्व दिएको हो ।
गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार पछिल्ला समयमा कोदोको अत्याधिक माग बढेको छ । “ तर पनि उत्पादन कम हुँदै गएको अवस्थालाई दृष्टिगत गरी यसतर्फ कृषकलाई प्रोत्साहित गर्ने कार्यक्रम अघि सारिएको हो”, गाउँपालिकाका प्रमुख कुँवरले भन्नुभयो । सो गाउँपालिका क्षेत्र अन्नपूर्ण पदयात्रा पर्यटनको उत्कृष्ट गन्तव्य हो । सो क्षेत्रमा पद्यात्राका लागि जाने पर्यटकले कोदोका परिकारको माग गर्ने गर्छन् । तर माग अनुरुप कोदोका विविध परिकार पर्यटकलाई पु¥याउन भने सकिएको छैन ।
नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्रमा गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । कोदोखेती प्रवद्र्धन गर्न अनुदान योजना अघि सारेको गाउँपालिकाले यहाँका ११ वटै वडामा एक÷एक वटा कोदो माड्ने उपकरण वितरण गर्ने भएको गाउँपालिकाले जनाएको छ ।


कोदो खेतीतर्फ कृषकलाई लोभ्याउँदै अन्नपूर्ण गाउँपालिका
राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट हुँदै
कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ । स्थानीय समयअनुसार मध्यान्ह १२ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त अवसरमा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल हुने बताइएको छ। अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गर्दै हुनुहुन्छ । मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा हुनुहुन्छ ।
अख्तियार दुरुपयोगविरुद्ध उजूरी कास्कीमा बढी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तीन महीनामा अख्तियार दुरुपयोगविरुद्ध पौने दुई सय उजूरी परेका छन् । आर्थिक वर्ष २०७५ ÷७६ को साउनदेखि असोजसम्म १६९ नयाँ उजूरी परेका हुन् । पुरानोसहित ४५६ उजूरी परेको आयोगको पोखरा कार्यालयले जनाएको छ । विस्तृत अनुसन्धानमा आठ, तामेलीमा १९, अन्य कार्यालय वा महाशाखामा प्रेषित सात, कारवाहीका लागि लेखिपठाएको १३ र अन्य उजूरीमा गाभिएका २२ छन् । उजूरीमध्ये ६९ को फछ्र्याेट भएको तथा फछ्र्याेट हुन बाँकी ३८७ रहेको पोखरा कार्यालयका सूचना अधिकारी रमेश ढकालले जानकारी दिनुभयो । आयोगको पोखरा कार्यालयले गण्डकी प्रदेशको नवलपुरबाहेक १० जिल्ला हेर्दै आएको छ । सबैभन्दा बढी कास्की जिल्लामा उजूरी परेको छ । कास्कीमा तीन महीनामा ८८ उजूरी परेका छन् भने मनाङमा परेको छैन । कास्कीपछि पर्वत र तनहुँ बढी उजूरी पर्ने जिल्लामा देखिएका छन् । पर्वतमा २२ र तनहुँमा १८ उजूरी परेका छन् । मन्त्रालयगत उजूरीको विवरण हेर्दा सबैभन्दा बढी सङ्घीय मामिला तथा सामान्य प्रशासनमा देखिएको छ । सो मन्त्रालयमा तीन महीनामा ६७ उजुरी परेका छन् । त्यसपछि शिक्षा विज्ञान प्रविधि देखिएको छ जसमा ३६ उजूरी परेका छन् । तीन महीनाभित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उजूरी परेको छैन । गत आर्थिक वर्ष यसै अवधिमा सबैभन्दा बढी शिक्षा मन्त्रालयअन्तर्गत ५० उजूरी परेकामा सो आर्थिक वर्षको तीन महीनामा भने सबैभन्दा बढी सङ्घीय मामिला र अन्तर्गत परेको छ । स्थानीय तहको निर्वाचनपछि विकास निर्माणका कामले तीव्रता पाउन थालेसँगै आर्थिक अनियमितता हुन जाने हुँदा उजूरी बढेको हुन सक्ने उपसचिव ढकालको भनाइ छ ।