कोदो खेतीतर्फ कृषकलाई लोभ्याउँदै अन्नपूर्ण गाउँपालिका

 

– वासुदेव पौडेल कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ । सर्वसाधारण पहाडी क्षेत्रबाट बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीका सम्भावनालाई उजागर गर्न गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा नै यसलाई महत्व दिएको हो । गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार पछिल्ला समयमा कोदोको अत्याधिक माग बढेको छ । “ तर पनि उत्पादन कम हुँदै गएको अवस्थालाई दृष्टिगत गरी यसतर्फ कृषकलाई प्रोत्साहित गर्ने कार्यक्रम अघि सारिएको हो”, गाउँपालिकाका प्रमुख कुँवरले भन्नुभयो । सो गाउँपालिका क्षेत्र अन्नपूर्ण पदयात्रा पर्यटनको उत्कृष्ट गन्तव्य हो । सो क्षेत्रमा पद्यात्राका लागि जाने पर्यटकले कोदोका परिकारको माग गर्ने गर्छन् । तर माग अनुरुप कोदोका विविध परिकार पर्यटकलाई पु¥याउन भने सकिएको छैन । नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्रमा गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । कोदोखेती प्रवद्र्धन गर्न अनुदान योजना अघि सारेको गाउँपालिकाले यहाँका ११ वटै वडामा एक÷एक वटा कोदो माड्ने उपकरण वितरण गर्ने भएको गाउँपालिकाले जनाएको छ । उहाँका अनुसार गाउँपालिकाका प्रत्येक होटलमा अनिवार्य कोदोको परिकार समावेश भएको मेनु राख्नुपर्ने व्यवस्था गरिएको छ । गाउँपालिका भएर जाने पोखरा बाग्लुङ राजमार्गका होटलमा पनि कोदाको परिकारको मेनु राख्न लगाइने भएको छ । “पछिल्लो समयमा यस क्षेत्रमा आउने पर्यटकले पनि कोदोको परिकार अत्यधिक माग गर्ने गरेको पाइन्छ,” उहाँले भन्नुभयो, “ पछिल्लो जनगणना अनुसार गाउँपालिकाको छ हजार २९ घरधुरीमध्ये औसतमा एक घरले एक मुरी कोदो उत्पादन गर्ने गर्छन् ।” बजारको मागलाई आत्मसात् गर्न सके यसबाट स्थानीयवासीको राम्रो आयआर्जन गर्नसक्ने देखेर नै कोदोखेतीको प्रवद्र्धनमा गाउँपालिका लागेको बताइएको । यसवर्ष कोदो थन्क्याउने मौसम शुरु हुन लागेका कारण उपकरण चाँडै नै खरीद गरी ५० प्रतिशत अनुदान सहयोगमा समुदायलाई हस्तान्तरण गर्ने गाउँपालिकाको लक्ष्य रहेको कृषि महाशाखा प्रमुख शशीकुमार सिंहले जानकारी दिनुभयो । “ आगामी १० दिनभित्रै उपकरण खरीद गरी प्रत्येक वडामा पु¥याउन लागेका छौं,” उहाँले भन्नुभयो,“ उपकरणको प्रयोगले कृषकलाई कोदो माड्न निकै सहज हुने छ ।” ग्रामीण क्षेत्रमा अहिलेसम्म परम्परागत रुपमा नै लौराले हानेर कोदो झार्ने चलन छ । कृषि कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा प्रत्येक वर्ष कोदोको उत्पादन घट्दै गएको छ । कास्कीमा पछिल्ला वर्षमा कोदोखेती हुने क्षेत्रफल घटेर १४ हजार ७०० हेक्टर पुगेको छ । कोदोको उत्पादकत्व प्रति हेक्टर १.२ मेट्रिक टन रहेको यस जिल्लामा कूल १७ हजार ७०० मेट्रिक टन कोदो उत्पादन हुने गरेको छ । कास्की आसपासका स्याङजा, तनहँु, लमजुङ, गोरखा, पर्वत, वागलुङ, म्याग्दीलगायतका जिल्ला कोदो उत्पादन राम्रो हुने भएपनि उत्पादन भने घट्दो रहेको बताइएको छ । कोदो खेती कम हुन थालेसँगै यसका विभिन्न प्रजाति लोप हुँदै गएका छन् । विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्ले जस्ता विभिन्न प्रजाति पाउने गरिएकोमा ती प्रजाति लोप हुँदै गएका छन् । पछिल्लो समयमा कोदो लगाउने जमिनमा कृषकले घैया प्रजातिसाथै पाखे धान लगाउन थालेकाले पनि कोदोको उत्पादन घट्दै गएको कृषक बताउँछन् । मधुमेह जस्ता रोगका बिरामीलाई पनि खान हुने भएकोले बजारमा कोदोको अत्याधिक माग हुने गरेको पाइन्छ । पौष्टिक अन्नमध्येको कोदो रोटी, ढिँडो, पुवा जस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ । कोदोखेतीको सम्भावनालाई उजागर गर्दै यसबाट स्थानीयवासीको आजआर्जन बढाउन गाउँपालिकाले गरेको पहलकदमीलाई महत्वका साथ हेरिएको छ ।

राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट हुँदै

 

  कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ । स्थानीय समयअनुसार मध्यान्ह १२ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त अवसरमा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल हुने बताइएको छ। अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गर्दै हुनुहुन्छ । मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा हुनुहुन्छ ।

अख्तियार दुरुपयोगविरुद्ध उजूरी कास्कीमा बढी

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तीन महीनामा अख्तियार दुरुपयोगविरुद्ध पौने दुई सय उजूरी परेका छन् । आर्थिक वर्ष २०७५ ÷७६ को साउनदेखि असोजसम्म १६९ नयाँ उजूरी परेका हुन् । पुरानोसहित ४५६ उजूरी परेको आयोगको पोखरा कार्यालयले जनाएको छ । विस्तृत अनुसन्धानमा आठ, तामेलीमा १९, अन्य कार्यालय वा महाशाखामा प्रेषित सात, कारवाहीका लागि लेखिपठाएको १३ र अन्य उजूरीमा गाभिएका २२ छन् । उजूरीमध्ये ६९ को फछ्र्याेट भएको तथा फछ्र्याेट हुन बाँकी ३८७ रहेको पोखरा कार्यालयका सूचना अधिकारी रमेश ढकालले जानकारी दिनुभयो । आयोगको पोखरा कार्यालयले गण्डकी प्रदेशको नवलपुरबाहेक १० जिल्ला हेर्दै आएको छ । सबैभन्दा बढी कास्की जिल्लामा उजूरी परेको छ । कास्कीमा तीन महीनामा ८८ उजूरी परेका छन् भने मनाङमा परेको छैन । कास्कीपछि पर्वत र तनहुँ बढी उजूरी पर्ने जिल्लामा देखिएका छन् । पर्वतमा २२ र तनहुँमा १८ उजूरी परेका छन् । मन्त्रालयगत उजूरीको विवरण हेर्दा सबैभन्दा बढी सङ्घीय मामिला तथा सामान्य प्रशासनमा देखिएको छ । सो मन्त्रालयमा तीन महीनामा ६७ उजुरी परेका छन् । त्यसपछि शिक्षा विज्ञान प्रविधि देखिएको छ जसमा ३६ उजूरी परेका छन् । तीन महीनाभित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उजूरी परेको छैन । गत आर्थिक वर्ष यसै अवधिमा सबैभन्दा बढी शिक्षा मन्त्रालयअन्तर्गत ५० उजूरी परेकामा सो आर्थिक वर्षको तीन महीनामा भने सबैभन्दा बढी सङ्घीय मामिला र अन्तर्गत परेको छ । स्थानीय तहको निर्वाचनपछि विकास निर्माणका कामले तीव्रता पाउन थालेसँगै आर्थिक अनियमितता हुन जाने हुँदा उजूरी बढेको हुन सक्ने उपसचिव ढकालको भनाइ छ ।

क्यान्सर, कमिशन र बा

बैकुण्ठ ढकाल नेपाल हो, यहाँ अहिले पनि गोली खान नपाएर र गोली खाएर मानिस मरिरहेका छन । गोली खाने आर्थिक हैसियत भएकाहरु गोली खान नजानेर मरिरहेका छन । गोली खाने हैसियत नभएकाहरु यसै मर्ने भैहाले । गोली खाएर मर्नेहरु नियोजित रुपमा मरिरहेका छन । यो मराई हुनेखानेहरुको संख्या ठूलो छ । त्यसका पछाडिका कारणहरु धेरै छन, लहरो तान्दा पहरो जान्छ । यहाँ गोली खाएर मरेकाहरुको कुरा हैन, गोली खान नपाएर वा गोली खाने तरिकाले नजारेर मरिरहेकाहरुको कुरा गर्न खोजिएको हो । धेरै जसो नेपालीहरु गोली खानुपर्ने अबस्थामा पुगिसकेको तर खानु पर्छ भन्ने थाहा नपाएर मरिरहेका छन । त्यहाँमाथि क्यान्सर मार्नको लागि त गोली खाएर हुँदैन, झोल नै खानुपर्छ वा करेन्ट लगाउनु पर्छ वा अंग नै काटेर फ्याक्नु पर्छ । अमेरिकी बिख्यात नायिका एन्जेलिना जोलीले क्यान्सबाट बच्न भनेर दुबै स्तन काटेर फालिन, त्यसको बिषयमा उनले न्यूयोर्क टाईम्समा लेख पनि लेखेकी छन । उनी अमेरिकामा जन्मिन हुर्किन, बढिन पढिन अनि आफ्नो आमाले भोगेको दुःख देखेर त्यस अगाबै आफूले त्यसबाट मुक्ति पाईन । त्यसको बिपरीत नेपाली चेली बलिउड नायिका मनिषा कोइरालाले क्यान्सर भईसकेपछि मात्रै पाठेघर काटेर फ्याँकिन । मनिषालाई क्यान्सको बारेमा थाहा नभएको होइन उनका हजुरबा बिपी कोइरालाको पनि क्यान्सरबाटै निधन भएको थियो । मनिषासंग ठूलो रकम खर्च गर्न सक्ने क्षमता थियो, बिश्वका जुनसुकै ठाउँमा गएर उपचार गराउन सक्ने हैसियत थियो र अहिले भर्बकासाथ मैले पुर्नजिबन पाएँ भन्न सकिरहेकी छन । मनिषा जस्तै नेपाली चेलीहरु हुन जसलाई अहिले पनि क्यान्सरको बारेमा थाहा छैन । रोग पहिचान नै नभई मृत्युबरण गरिरहेका छन । अस्पताल गए पनि गलत उपचारको सिकार भईरहेका छन । अस्पताल जानु भनेको उपचार पाउनु भन्दा पनि दुःख बढि पाउनु हो भन्ने बहुसंख्यकको बुझाई बन्दै गएको छ । मलाई राम्रैसंग याद छ, भर्खर एसएलसी सकेर बसेको थिएँ, मेरो बा रोगले लगभग थलिनु भएको थियो । त्यसको एक प्रमुख कारण हो, कच्चा बैद्यको मात्रा । प्राथमिक स्वास्थ्य केन्द पालुङका एक अहेबले लगातार पेन किलरको प्रयोगले नै मेरो बा मलगायत मेरो परिवारलाई टुहुरो बनाएर जानु भएको हो । २०५९ साल बैशाख दुई गते बाको स्वास्थ्य परिक्षणको लागि ललितपुरको पुल्चोकस्थित शान्ति फर्ममा पुग्यौं, त्यहाँ डाक्टर आनन्द कुमार श्रेष्ठले बाको बारेमा भबिष्यबाणी गरिदिनु भयो, सबै रिपोर्टहरु हेरेर । त्यस लगत्तै हामी क्यान्सरको लागि नाम कहलिएका डाक्टर मदनकुमार पियाकोमा पुग्यौं, काठमाण्डौं हस्पिटल त्रिपुरेश्वर । त्यहाँ पुग्दा मैले पियालाई चिकित्सक कम ब्यापारी बढि पाएँ । पियाको सुझाब थियो, केमोथेरापी गर्ने तर त्यसको ग्यारेन्टी थिएन । अनि उनले सोधे थैली कस्तो छ रु थैली हेरेर उपचार गर्छौं, चलाउने त केमो नै हो एकपटकको १० हजार रुपैंया पर्ने पनि छ, पैंतीस सय पर्ने पनि । तपाँईहरु सल्लाह गरेर भोलि आउनु । उनले थैली हेरे, रोग हेरेनन, रोगीको अबस्था हेरेनन । हेरे न केबल बिरामीको थैली । अनि हामीले पनि पियालाई हेरेनौं । काठमाण्डौं छाडेर हामी बिपी कोइराला क्यान्सर अस्पताल चितवन हानियौं । त्यहाँ पनि मेरो चिकित्सक, बिरामी र बिरामीको अभिभाबकबीच हुनुपर्ने जस्तो सम्बन्ध स्थापित हुन सकेन । डाक्टरले भने जति सबै प्रक्रिया र रिपोर्टहरु पूरा गरेर डाक्टर झाको टेबुलमा पुग्दा, मलाई केहि पनि थाहा छैन भन्ने जवाफ आयो, सबै रिपोर्ट हेरिसकेपछि । अनि मैले त्यहाँ औषधि पसल संचालन गरेर मामाको एक जना साथीको सोर्स फार्सले भोलिपल्ट बुबालाई अस्पताल त भर्ना गराएँ । तर, हाम्रा सबै प्रयासहरु असफल साबित भए । डाक्टर श्रेष्ठ र ती औषधीपसल संचालकले गरेको भबिष्यबाणी अनुसार नै त्यही बर्षको साउन ३० गते मेरो बा हामी सबैलाई छाडेर सदाका लागि बिदा हुनु भयो । समयमै पत्ता लगाउन सकेमा ४० प्रतिशत क्यान्सर निको हुने चिकित्सकहरु बताउँछन । तर मेरो बा ४० प्रतिशत भित्र पर्नु भएन । नेपालमा ९० प्रतिशतभन्दा बढी मानिस क्यान्सरको उपचारका लागि समयमै अस्पताल पुग्दैनन । मेरा बा यसमा चाहिं पर्नुभयो वा भनौं यसमा पारियो । प्राथमिक स्वास्थ्य केन्द्र पालुङका ती अहेबले यहाँ रोग निको हुँदैन भनिदिएको भए मेरो बालाई काठमाण्डौं आउन कसैले र केहिले पनि रोक्न सक्ने थिएन । समयमै उपचारका लागि नपुग्दा अधिकांश बिरामीले जटिल समस्या भोग्नुपरिरहेको चिकित्सकहरुले बताएका छन । नेपालमा हरेक वर्ष ५ हजारभन्दा बढी नयाँ क्यान्सरका रोगी बढिरहेको तर तीमध्ये जम्मा १० प्रतिशत मात्र अस्पताल आउने गरेको बताईन्छ । बल्ल–बल्ल आएका पनि जटिल समस्या भएपछि मात्र अस्पताल पुग्ने गरेका छन । क्यान्सरको सामान्य लक्षण देखिनेबित्तिकै उपचारका लागि जाने हो भने बिरामीले पुनजिबन पाउन सक्छ । बिपी कोइराला क्यान्सर अस्पतालका रेडिएसन अंकोलजिस्ट डा। अञ्जनीकुमार झाले चेतनाको अभाव, अशिक्षा तथा गरिबीका कारण क्यान्सरका रोगी उपचारका लागि अस्पताल आउन नसकेको बताए । सामान्यतया क्यान्सर भन्ने बित्तिकै निको नहुने रोग भन्ने आमधारणाले समस्या पारिरहेको छ । त्यसको लागि मनिषा र एन्जेलिनाको उदाहरण हेरे पुगिहाल्छ । एन्जेलिना र मनिषाको उदाहरण नहेरे जगदिश घिमीरेको आत्मबृतान्त पढ्नेले अर्कोलाई सुनाईदिंदा पनि पर्याप्त हुन्थ्यो । क्यान्सरको सम्बन्ध बंशसंग पनि सम्बन्धित हुन्छ । एन्जेलिनाले भनेको सुझाब आम नेपालीलाई काम लाग्दो छ । उनले खासगरी स्तन क्यान्सर र पाठेघर क्यान्सरको पारिवारिक इतिहास भएका सबै महिलालाई चिकित्सकसँग सल्लाह गर्न सुझाब दिएकी छन । विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरले वर्षमा ४ लाख ५८ हजारको मृत्यु हुन्छ ।  त्यसमा खासगरी अविकसित र अल्पविकसित मुलुकहरुमा बढिको मृत्यु हुने गरेको छ । नेपालमा रोग लुकाउने प्रबितिले समस्या झनै बढाएको छ । सबै एन्जेलिना जोली, मनिषा कोइराला र जगदिश घिमीरे जस्तै हुँदैनन पनि । भए पनि उनीहरुको कुरा क्यान्सर भएकाहरुसम् नपुग्न पनि सक्छ । लक्षण यही नै हो भनेर ठ्याक्कै छुट्टयाउन गाह्यो हुने भएकाले पनि समस्या छँदैछ । रोग नलुकाउने र त्यसको कारण, लक्षण भनिदिने अनि रोगको उपचार बिधि र बिकल्पहरु सुझाई दिने हो भने क्यान्सरको छायाँमा रहेकाहरुलाई धेरै नै राहत हुने थियो । नेपालमा रोगको बारेमा थाहा पाएर मात्रै पनि हुने अबस्था छैन । यहाँ त एउटा औषधीमा समेत कमिशनको खेल छ । उपचारका लागि पुग्ने बिरामीहरुमा कमिशन, शैयामा कमिशन, सरकारीबाट निजी अस्पतालमा लैजान कमिशन, एम्बुलेन्समा कमिशनको जमाना आएको छ । एकआधलाई छाड्ने हो भने रोगको बारेमा जानेको भनिदिंदा समेत कमिशन वा पैसा लिनुपर्छ भन्ने प्रबिति हुर्किदै गएको छ । यस्तो परिस्थितिका बीच पनि रोग नियन्त्रणमा लिन सक्ने र स्वीकार गर्न सक्ने चुनौतीमा नडराउने मनको खोजी चानचुने बिषय हुँदै होइन