क्यान्सर, कमिशन र बा

१३ कार्तिक २०७५, मंगलवार

बैकुण्ठ ढकाल

नेपाल हो, यहाँ अहिले पनि गोली खान नपाएर र गोली खाएर मानिस मरिरहेका छन । गोली खाने आर्थिक हैसियत भएकाहरु गोली खान नजानेर मरिरहेका छन । गोली खाने हैसियत नभएकाहरु यसै मर्ने भैहाले । गोली खाएर मर्नेहरु नियोजित रुपमा मरिरहेका छन । यो मराई हुनेखानेहरुको संख्या ठूलो छ । त्यसका पछाडिका कारणहरु धेरै छन, लहरो तान्दा पहरो जान्छ । यहाँ गोली खाएर मरेकाहरुको कुरा हैन, गोली खान नपाएर वा गोली खाने तरिकाले नजारेर मरिरहेकाहरुको कुरा गर्न खोजिएको हो । धेरै जसो नेपालीहरु गोली खानुपर्ने अबस्थामा पुगिसकेको तर खानु पर्छ भन्ने थाहा नपाएर मरिरहेका छन । त्यहाँमाथि क्यान्सर मार्नको लागि त गोली खाएर हुँदैन, झोल नै खानुपर्छ वा करेन्ट लगाउनु पर्छ वा अंग नै काटेर फ्याक्नु पर्छ ।
अमेरिकी बिख्यात नायिका एन्जेलिना जोलीले क्यान्सबाट बच्न भनेर दुबै स्तन काटेर फालिन, त्यसको बिषयमा उनले न्यूयोर्क टाईम्समा लेख पनि लेखेकी छन । उनी अमेरिकामा जन्मिन हुर्किन, बढिन पढिन अनि आफ्नो आमाले भोगेको दुःख देखेर त्यस अगाबै आफूले त्यसबाट मुक्ति पाईन । त्यसको बिपरीत नेपाली चेली बलिउड नायिका मनिषा कोइरालाले क्यान्सर भईसकेपछि मात्रै पाठेघर काटेर फ्याँकिन । मनिषालाई क्यान्सको बारेमा थाहा नभएको होइन उनका हजुरबा बिपी कोइरालाको पनि क्यान्सरबाटै निधन भएको थियो । मनिषासंग ठूलो रकम खर्च गर्न सक्ने क्षमता थियो, बिश्वका जुनसुकै ठाउँमा गएर उपचार गराउन सक्ने हैसियत थियो र अहिले भर्बकासाथ मैले पुर्नजिबन पाएँ भन्न सकिरहेकी छन । मनिषा जस्तै नेपाली चेलीहरु हुन जसलाई अहिले पनि क्यान्सरको बारेमा थाहा छैन । रोग पहिचान नै नभई मृत्युबरण गरिरहेका छन । अस्पताल गए पनि गलत उपचारको सिकार भईरहेका छन । अस्पताल जानु भनेको उपचार पाउनु भन्दा पनि दुःख बढि पाउनु हो भन्ने बहुसंख्यकको बुझाई बन्दै गएको छ ।
मलाई राम्रैसंग याद छ, भर्खर एसएलसी सकेर बसेको थिएँ, मेरो बा रोगले लगभग थलिनु भएको थियो । त्यसको एक प्रमुख कारण हो, कच्चा बैद्यको मात्रा । प्राथमिक स्वास्थ्य केन्द पालुङका एक अहेबले लगातार पेन किलरको प्रयोगले नै मेरो बा मलगायत मेरो परिवारलाई टुहुरो बनाएर जानु भएको हो । २०५९ साल बैशाख दुई गते बाको स्वास्थ्य परिक्षणको लागि ललितपुरको पुल्चोकस्थित शान्ति फर्ममा पुग्यौं, त्यहाँ डाक्टर आनन्द कुमार श्रेष्ठले बाको बारेमा भबिष्यबाणी गरिदिनु भयो, सबै रिपोर्टहरु हेरेर । त्यस लगत्तै हामी क्यान्सरको लागि नाम कहलिएका डाक्टर मदनकुमार पियाकोमा पुग्यौं, काठमाण्डौं हस्पिटल त्रिपुरेश्वर । त्यहाँ पुग्दा मैले पियालाई चिकित्सक कम ब्यापारी बढि पाएँ । पियाको सुझाब थियो, केमोथेरापी गर्ने तर त्यसको ग्यारेन्टी थिएन । अनि उनले सोधे थैली कस्तो छ रु थैली हेरेर उपचार गर्छौं, चलाउने त केमो नै हो एकपटकको १० हजार रुपैंया पर्ने पनि छ, पैंतीस सय पर्ने पनि । तपाँईहरु सल्लाह गरेर भोलि आउनु । उनले थैली हेरे, रोग हेरेनन, रोगीको अबस्था हेरेनन । हेरे न केबल बिरामीको थैली । अनि हामीले पनि पियालाई हेरेनौं । काठमाण्डौं छाडेर हामी बिपी कोइराला क्यान्सर अस्पताल चितवन हानियौं । त्यहाँ पनि मेरो चिकित्सक, बिरामी र बिरामीको अभिभाबकबीच हुनुपर्ने जस्तो सम्बन्ध स्थापित हुन सकेन । डाक्टरले भने जति सबै प्रक्रिया र रिपोर्टहरु पूरा गरेर डाक्टर झाको टेबुलमा पुग्दा, मलाई केहि पनि थाहा छैन भन्ने जवाफ आयो, सबै रिपोर्ट हेरिसकेपछि ।
अनि मैले त्यहाँ औषधि पसल संचालन गरेर मामाको एक जना साथीको सोर्स फार्सले भोलिपल्ट बुबालाई अस्पताल त भर्ना गराएँ । तर, हाम्रा सबै प्रयासहरु असफल साबित भए । डाक्टर श्रेष्ठ र ती औषधीपसल संचालकले गरेको भबिष्यबाणी अनुसार नै त्यही बर्षको साउन ३० गते मेरो बा हामी सबैलाई छाडेर सदाका लागि बिदा हुनु भयो ।
समयमै पत्ता लगाउन सकेमा ४० प्रतिशत क्यान्सर निको हुने चिकित्सकहरु बताउँछन । तर मेरो बा ४० प्रतिशत भित्र पर्नु भएन । नेपालमा ९० प्रतिशतभन्दा बढी मानिस क्यान्सरको उपचारका लागि समयमै अस्पताल पुग्दैनन । मेरा बा यसमा चाहिं पर्नुभयो वा भनौं यसमा पारियो । प्राथमिक स्वास्थ्य केन्द्र पालुङका ती अहेबले यहाँ रोग निको हुँदैन भनिदिएको भए मेरो बालाई काठमाण्डौं आउन कसैले र केहिले पनि रोक्न सक्ने थिएन । समयमै उपचारका लागि नपुग्दा अधिकांश बिरामीले जटिल समस्या भोग्नुपरिरहेको चिकित्सकहरुले बताएका छन ।
नेपालमा हरेक वर्ष ५ हजारभन्दा बढी नयाँ क्यान्सरका रोगी बढिरहेको तर तीमध्ये जम्मा १० प्रतिशत मात्र अस्पताल आउने गरेको बताईन्छ । बल्ल–बल्ल आएका पनि जटिल समस्या भएपछि मात्र अस्पताल पुग्ने गरेका छन । क्यान्सरको सामान्य लक्षण देखिनेबित्तिकै उपचारका लागि जाने हो भने बिरामीले पुनजिबन पाउन सक्छ । बिपी कोइराला क्यान्सर अस्पतालका रेडिएसन अंकोलजिस्ट डा। अञ्जनीकुमार झाले चेतनाको अभाव, अशिक्षा तथा गरिबीका कारण क्यान्सरका रोगी उपचारका लागि अस्पताल आउन नसकेको बताए । सामान्यतया क्यान्सर भन्ने बित्तिकै निको नहुने रोग भन्ने आमधारणाले समस्या पारिरहेको छ । त्यसको लागि मनिषा र एन्जेलिनाको उदाहरण हेरे पुगिहाल्छ । एन्जेलिना र मनिषाको उदाहरण नहेरे जगदिश घिमीरेको आत्मबृतान्त पढ्नेले अर्कोलाई सुनाईदिंदा पनि पर्याप्त हुन्थ्यो ।
क्यान्सरको सम्बन्ध बंशसंग पनि सम्बन्धित हुन्छ । एन्जेलिनाले भनेको सुझाब आम नेपालीलाई काम लाग्दो छ । उनले खासगरी स्तन क्यान्सर र पाठेघर क्यान्सरको पारिवारिक इतिहास भएका सबै महिलालाई चिकित्सकसँग सल्लाह गर्न सुझाब दिएकी छन ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरले वर्षमा ४ लाख ५८ हजारको मृत्यु हुन्छ ।  त्यसमा खासगरी अविकसित र अल्पविकसित मुलुकहरुमा बढिको मृत्यु हुने गरेको छ । नेपालमा रोग लुकाउने प्रबितिले समस्या झनै बढाएको छ । सबै एन्जेलिना जोली, मनिषा कोइराला र जगदिश घिमीरे जस्तै हुँदैनन पनि । भए पनि उनीहरुको कुरा क्यान्सर भएकाहरुसम् नपुग्न पनि सक्छ । लक्षण यही नै हो भनेर ठ्याक्कै छुट्टयाउन गाह्यो हुने भएकाले पनि समस्या छँदैछ । रोग नलुकाउने र त्यसको कारण, लक्षण भनिदिने अनि रोगको उपचार बिधि र बिकल्पहरु सुझाई दिने हो भने क्यान्सरको छायाँमा रहेकाहरुलाई धेरै नै राहत हुने थियो ।
नेपालमा रोगको बारेमा थाहा पाएर मात्रै पनि हुने अबस्था छैन । यहाँ त एउटा औषधीमा समेत कमिशनको खेल छ । उपचारका लागि पुग्ने बिरामीहरुमा कमिशन, शैयामा कमिशन, सरकारीबाट निजी अस्पतालमा लैजान कमिशन, एम्बुलेन्समा कमिशनको जमाना आएको छ । एकआधलाई छाड्ने हो भने रोगको बारेमा जानेको भनिदिंदा समेत कमिशन वा पैसा लिनुपर्छ भन्ने प्रबिति हुर्किदै गएको छ । यस्तो परिस्थितिका बीच पनि रोग नियन्त्रणमा लिन सक्ने र स्वीकार गर्न सक्ने चुनौतीमा नडराउने मनको खोजी चानचुने बिषय हुँदै होइन

Leave a Reply