स्थगित ‘ए’ डिभिजन लिग मङ्सिर १ देखि – तालिका सार्वजनिक

राष्ट्रपति भण्डारी कतार प्रस्थान

 

 राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गर्नुभयो । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्च पदाधिकारी विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत हुनुहुन्छ । राष्ट्रपति यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रमको स्वास्थ्य स्थिर , काङ्ग्रेस सभापति देउवाद्धारा स्वास्थ्यस्थितिबारे जानकारी

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । “प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन्, सुगरको लेभल पनि स्थिर छ”, प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे आज साँझ सञ्चारकर्मीलाई जानकारी दिँदै प्रा डा सायमीले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री ओलीलाई भेटेर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । यसैगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीलाई आजै भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । उहाँलाई छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा आज बिहान ०४ः३० बजे भर्ना गरिएको थियो ।

पिपीएल क्रिकेट : चितवन पोखरासंग पराजित

पोखरा । घरेलु टोली पोखरा पल्टनले सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ५ विकेटले हराएर शरद भेषवाकरको टिम पोखराले दोस्रो जित निकालेको हो । पोखरा रंगशालामा चितवनले दिएको १४१ रनको लक्ष्य पोखराले १७ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।  खराब सुरुवात गरेको पोखराको जितमा रबि इन्दर सिंहले ६५ रनको अर्धशतकीय इनिङस खेले  । सिंहले रोहित कुमार पौडेलसंग तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए  । रोहित १९ रनमा आउट भए । त्यसअघि पोखराले २ ओभर सकिदा २ विकेट गुमाएर एक रन पनि जोड्न सकेको थिएन । यस्तै कप्तान शरदले ३७ रन जोडे  । चितवनका करण केसीले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४० रन बनाएको थियो ।  चितवनका लागि सन्नी पटेलले अविजित ४६ रनको योगदान दिदा कप्तान पारस खड्काले ४४ रन बनाए । त्यस्तै सोनु तामाङले २१ र अनिल कुमार साहले १६ रन जोडे । पोखराका बिक्रम भुसालले २ तथा महेबुब आलम, मोहमद नाभिद र शरद भेषवाकरले १/१ विकेट लिए । जितसंगै पोखराले ३ खेलबाट ४ अंक जोडेको छ । पोखराको प्ले अफ पुग्ने सम्भावना बलियो बनेको छ । पोखराले पहिलो खेलमा विराटनगर टाईटन्सलाई हराएको थियो । तर, आइतबार भएको खेलमा बुटवल ब्लास्टर्ससंग ३३ रनले हराएको थियो । चितवनको यो लगातार दोस्रो हार हो ।  चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससंग ७० रनले पराजित भएको थियो ।  पराजित चितवनले २ खेलबाट अंक जोड्न सकेको छैन । यो हारसंगै चितवनको प्ले अफ पुग्ने सम्भावना कठिन बन्दै गएको छ ।