दुई महीनामा स्मार्ट कार्ड पाइने
काठमाडौं । यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ ।
मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो ।
पाँच लाखभन्दा बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
लिमिटेडले ४५ दिनमा पाँचदेखि छ लाख स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी सम्झौता भएको हो ।
कम्पनीले प्रतिकार्ड १५ रुपैंया पाउँछ ।
सिफारिस कार्यान्वन नगर्नेको नालीबोली निकल्दै मानब अधिकार आयोग
काठमाडौं ।
राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो सिफारिस कार्यान्वयन नगर्ने निकायको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।
मानवअधिकार उंलघन कर्ता वा निकायलाई कारवाहीका लागि सिफारिस गरे पनि कार्यान्वयन नभएपछि आयोग स्वयंले सिफारिस कार्यान्वयन नगर्ने निकाय वा व्यक्तिको नाम सार्वजनिक गर्ने तयारी गरेको सदस्य सुदीप पाठकले जानकारी दिनुभयो ।
मानवअधिकारको उंल्लघन जस्तो गम्भीर अपराधमा संलग्नलाई कारवाही गर्न सिफारिस गर्ने तर कारवाहीको प्रक्रिया अघि बढ्न नसक्दा आयोग सिफारिसको अंग मात्रै भएको भन्ने जनगुनासो बढेपछि आयोगले आफ्नो अधिकार प्रयोग गरी सिफारिस कार्यान्वयन नगर्ने मन्त्रालय वा सम्बन्धित अधिकारीको नाम सार्वजनिक गर्ने तयारी गरेको सदस्य पाठकले बताउनुभयो ।
सदस्य पाठकले सरकारले आयोगको अनुसन्धान चित्त नबुझे पुन अनुसन्धानका लागि सिफारिस गर्नुपर्ने बताउनुभयो ।
उहाँले पुनः अनुसन्धानका लागि पनि सिफारिस पनि नगर्ने र अनि दोषिमाथि कारवाही पनि अघि नबढाउने काम सरकारबाट हुनु दुखद भएको टिप्पणी गर्नुभयो ।
आयोगले स्थापनाको १८ बर्षमा मानवअधिकार उलंघनका विभिन्न घटनाको अनुसन्धान गरी सरकारलाई ८ सय ५३ बढी सिफारिस गरेको छ ।
सरकारले परिपूरण र क्षतिपूर्तिको सिफारिस कार्यान्वय गरेपछि एउटा पनि कारवाहीको प्रक्रिया अघि बढाएको छैन ।
उपप्रधानमन्त्री पोखरेल चीन भ्रमणमा
प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन ।
चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि मंगलबार उनी त्यसतर्फ प्रस्थान गरेका हुन ।
उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यका बारेमा सम्बोधन गर्नेछन ।
भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियन चिनियाँ युआन चीनले सहयोग गर्ने सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने जनाइएको छ ।
विश्वका करीब एक सय मुलुकको प्रतिनिधित्व हुने सम्मेलनमा १५ मुलुकका रक्षामन्त्री र ४० मुलुकका सेना प्रमुखको उपस्थिति हुनेछ ।
उपप्रधानमन्त्री पोखरेल आगामी मङ्गलबार स्वदेश फर्कनेछन ।
यल कप ब्याडमिन्टन शनिबारदेखि
पाटन शङ्खमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा १० औँ यल कप ब्याडमिन्टन प्रतियोगिता–२०७५ शनिबारदेखि शङ्खमूल प्लानिङमा आयोजना हुने भएको छ ।
ब्याडमिन्टन खेलका माध्यमबाट नगरभित्र रहेका व्यक्तिबीच भ्रातृत्व, एकताका साथै स्वस्थ नागरिक र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै खेलकूद क्षेत्रको विकास गर्ने उद्देश्यले विसं २०६५ देखि आयोजना गरिएको यल कप दशौँ संस्करणसम्म आइपुग्दा यसले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ । प्रतियोगिता २०७५ कात्तिक १० देखि १७ गतेसम्म आयोजकको आफ्नै कोर्टमा सञ्चालन हुने अध्यक्ष सानुकाजी महर्जनले जानकारी दिनुभयो । रनिङ शिल्डको रुपमा रहेको दशौँ यल कपमा पुरुष युगल, भेट्रान्स (४५ वर्षमाथि), मिक्स युगल र यु–१५ छात्रतर्फ प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा करीब २०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता विश्व ब्याडमिन्टन महासङ्घ र नेपाल ब्याडमिन्टन सङ्घको नियमानुसार खेलाइनेछ । करीब रु १२ लाख ६० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलतर्फका विजयी पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ३०, रु २० र रु १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै भेट्रान्सतर्फ रु १५, रु १० र रु पाँच हजार तथा मिक्स युगल र यु–१५ तर्फ रु १०, रु सात र रु चार हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाएको छ ।