बाल गृहमा आश्रित बालबलिकाले पनि विजयादशमी मनाए
उर्लाबारी, मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि विजयादशमी मनाएका छन् ।
गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिनुभयो । गृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताउनुभयो ।
विसं २०५९ सालमा स्थापना भएको सो गृहमा देशका विभिन्न जिल्लाका ४६ जना बालबालिका आश्रित रहेको अध्यक्ष मिनादेवी बरालले जानकारी दिनुभयो ।
–––
प्रधानमन्त्री ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौं । वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । अपरान्ह साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइदिनेछन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाइदिने समय तालिका समेत तय भएको छ ।
यसअघि राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइदिने गर्थे यो पटक भने प्रधानमन्त्रीले पनि घोषित रुपमा टीका लगाइदिन लागेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् । दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ ।
त्यसपछि प्रधानमन्त्रीले टीका लगाइदिनेछन् । दिउँसो २ बजेपछि ओलीले मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।
राजदेवीमा १५ हजार बोका बलि
जनकपुरधाम, शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ ।
यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो । विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ ।
महावीर युवा कमिटीका अनुसार सो मन्दिरमा २०७३ सालमा १४ हजार ६१७ बोकाको बलि चढाइएको थियो । जनकवंशी राजाको कुलदेवी सो मन्दिरमा असत्यमा सत्य, अधर्ममा धर्म, अँध्यारोमा उज्यालो प्राप्ति तथा कार्यसिद्धि र मनोकामना पूर्णताका लागि बोकाको बलि दिने चलन छ । राजदेवीलाई महादुर्गा, महाकाली, महासरस्वती, महामाया चण्डिका, पार्वती, कौशिकी, जानकी र किशोरी नामले पनि पूजार्चना गर्ने परम्परा छ । अनिकालले गर्दा परेको विकट सङ्कटबाट मुक्तिका लागि राजदेवीको स्थापना गरिएको जनविश्वास पाइन्छ ।
डेढ सय महिला–बालबालिका हराए, तस्वीरसहित पत्राचार र खोजी तीव्र
काभे्रपलाञ्चोक, काभे्रपलाञ्चोकबाट तीन वर्षमा करीब १५० महिला तथा बालबालिका हराएका छन् ।
सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ । केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको उल्लेख छ । यसमध्ये १४५ जना फेला परेका छैनन् ।
आव २०७२÷०७३ देखि यही असोज अन्तिम सातासम्म २७९ महिला, ३३ बालक र ८० बालिका हराएकाले आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँका अनुसार आव २०७२÷०७३ मा १११ , २०७३÷०७४ मा १०९, आव २०७४÷०७५ मा १६१ तथा चालू आवको असोज अन्तिम सातासम्म १५ महिला तथा बालबालिका हराएको निवेदन आएको छ ।
हराएका ३९६ महिला तथा बालबालिकामध्ये महिला १५८, बालक २६ र बालिका ५७ जना फेला परेका हुन् । प्रनाउ गिरीले हराएकाहरुको खोजी गर्न जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरेको र खोजी तीव्र पारिएको बताउनुभयो ।
उहाँका अनुसार हराउने महिला तथा बालबालिकामध्ये आधाजसो प्रहरीको सक्रियतामा भेटिन्छन् भने अन्य आफन्तकै पहलमा भेटिएका छन् । पछिल्ला केही वर्षदेखि काभे्रपलाञ्चोकबाट महिला तथा बालबालिका हराउने क्रम बढिरहेकाले प्रहरीले हराएकाहरुको खोजी गर्ने छुट्टै एकाइ बनाउनुपर्ने जिल्लास्थित मानवअधिकारकर्मी भोजराज तिमल्सिना बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रहरीले यस्तो युनिट बनाओस् जसले हराएकाको मात्रै खोजी गरोस् ।”
–––