राष्ट्रपति भण्डारीले सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने

  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने भएकी छिन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार आगामी कात्तिक २ गते दिउँसो १ देखि २ बजेसम्म विशिष्ट व्यक्तित्व तथा २ देखि ४ बजेसम्म सर्वसाधारणलाई टीकाका लागि राष्ट्रपति कार्यालय शीतल निवासको ढोका नं १ खुला रहनेछ । राष्ट्रपतिबाट टीकाग्रहण गर्न इच्छुक व्यक्तित्व, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई टीकाका लागि समय तोकिएको हो । यस्तै निजामती, जङ्गी, प्रहरी तथा राष्ट्रसेवकलाई पनि समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ

आज महाअष्टमी पर्व,महाकाली,महालक्ष्मी र महासरस्वतीको बिशेष पुजाआजा गरी मनाइँदै,

  पोखरा, आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज  महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ ।यस दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । यसै दिन पोखराका शक्तिपीठ  बिन्दुबासीनी ,भद्रकाली,अकलादेबी,शितलादेबी, काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा,  उपत्यका बाहिरका नुवाकोटका देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । “सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनले भने । ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको अध्यक्ष गौतमले बताए । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको उनको भनाइ छ । दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउँछन् । “राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उनले भने । यी तीन शक्ति दुर्गाबाट मात्र प्राप्त गर्न सकिन्छ । यसै दिन राति पशुबलिको विधि र पूजाआजासहित कालरात्रि मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ । यस दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गरिन्छ । देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजाकोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् । राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।

विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता कात्तिकमा

0
  स्याङ्जा,  यहाँ प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेञ्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा हुने प्रतियोगिता आगामी कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन गरिनेछ । नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकप आयोजना हुने बताउँदै यो राज्य र खेलाडीका लागि गर्वको कुरा भएको बताउनुभयो । प्रतियोगिता व्यवस्थापन मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले प्रतियोगिताले स्याङ्जाको पहिचान विश्वमै हुने तथा नेपालमा हवाई खेलको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने कार्यमा यो प्रतियोगिता महत्वपूर्ण अवसर हुने बताउनुभयो । आँधीखोला भ्याली एभिएशन जोनलाई विश्वमा चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने समन्वय प्रमुख सुन्दासको भनाइ छ । जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागिरहेको सन्दर्भमा हवाई साहसिक पर्यटकको सङ्ख्यामा वृद्घि गर्ने, हवाई खेलको सम्भावनालाई विश्वसामु उजागर गर्ने र आँधीखोला भ्यालीको हवाई खेलको सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङका प्रशिक्षक सानोबाबु सुनुवारले हवाई खेलका लागि वातावरणीय एवं प्राविधिक हिसाबले आँधीखोला भ्याली उत्कृष्ट भएको बताउनुभयो । बाबु एडभेन्चर क्लबका अध्यक्ष कृष्णजङ्ग केसीले स्वरेक मैदानमा विश्वकपको आयोजना गर्नका लागि अन्तर्राष्ट्रिय संस्था एफएआइ र पिजिएडब्लुसी र राष्ट्रिय खेलकूद परिषद् र नेपाल ओलम्पिक कमिटीले अनुमति दिएको जानकारी दिनुभयो । प्रतियोगितामा नेपालसहित जापान, क्यानडा, दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर, भारत, पाकिस्तानलगायत करीब ३० भन्दा बढी देशका महिला र पुरुष खेलाडीले भाग लिने बताइएको छ । प्रतियोगिताको प्रमुख सहयोगी भीरकोट र वालिङ नगरपालिका तथा सहयोगीमा जिल्लाका सबै स्थानीय तह रहेको आयोजकले जनाएको छ ।

गोदावरीको तेघरी नै सुदूरपश्चिमको राजधानीका लागि उपयुक्त पुर्वमन्त्री भट्ट

  पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले कैलालीका गोदावरीमा राजधानी तोकिनु जंगल मास्नलाई नभई वृक्षारोपणका लागि रहेको बताएका छन् । मंगलबार आफ्नै निवासमा दशैं तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टले भने, ‘जंगल मास्ने कुरो हुँदैन, बरु वृक्षारोपणमा विशेष जोड दिइन्छ उनले अगाडि थपे,‘ मेरो बसाई अत्तरियामा निकै पुरानो हो । मैले बुझेको जैविक मार्ग गोदावरी तेघरी क्षेत्र होइन । जैविक मार्ग त लालझाडी र बसन्ता क्षेत्र हो, यो क्षेत्र त सधैं बस्ती क्षेत्र नै हो ।’ साथै, उनले गोदावरीको तेघरी नै सुदूरपश्चिमको राजधानीका लागि उपयुक्त रहेको दाबी गरे । सांसद भट्टले धनगढीलाई ब्यबसायिक केन्द्र, अत्तरियालाई प्रशासनिक केन्द्र र दिपायललाई शैक्षिक केन्द्र बनाउनु पर्नेमा जोड दिए । फरक प्रशंगमा बोल्दे पूर्व मन्त्री समेत रहेका भट्टले तत्काल प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको सम्भावा नरहेको जानकारी गराए । प्रदेश सभाले भरखर मात्रै राजधानी र नामाकरण गरेकाले यसलाई मुर्तरूपदिन सबैले लाग्नु पर्न कुरामा जोड दिए । समग्र शुदुरपश्चिम प्रदेशको विकासका लागि सरकारलाई सबै जनताले सहयोग गर्नुपर्ने भन्दै  नेता भट्टले अहिलेको समय फुट्नु भन्दा जुट्नु पर्ने रहेको बताए । शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभा सदस्य , पत्रकार बुद्धिजीवी ,स्थानिय बासिन्दा ,सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।