लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटी को शुभकामना आदान प्रदान कार्यक्रम
पोखरा । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाईटीले नेपालीहरुको महान पर्ब बिजया दशमी,शुभ दिपावली,नेपाल सम्बत् एबं छठको को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका संस्थापक अध्यक्ष,पदाधिकारी र सदस्यहरुबिच शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा क्लबका अध्यक्ष लायन निर्मला आचार्य ले हामी सेवा गछौ भन्ने मुल मन्त्रलाइ आत्मसाथ गर्दे काम गर्न क्लबमा आबद्ध लायन सदस्यहरुलाइ आग्रह गर्नभयो ।उहाँले क्लबले सम्पन्न गरेका कार्यक्रमहरुको बिषयमा समेत जानकारी गराउनु भएको थियो । क्लबका संस्थापक अध्यक्ष लायन सीता देबी बरालले यस बर्ष क्लबले लिएको , दिएर बाँचौ नारालाइ सार्थक तुल्याउन बिभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको बताउनुभयो ।यस अघि क्लबले दुर्गम गाँउमा बृहत स्वास्थ्य शिबिर, अपाङ्गता भएका ब्यक्तिहरुका लागि सेतो छडी ,हिव्लचियर, बैशाखी लगाएतका सामाग्रीहरु बितरण गरिनुका साथै ,बृद्धआश्रममा सहयोग,बिद्यालय सहायता कार्यक्रम पनि संचालन गरिएको जनाकारी दिनुभयो ।
सन २०१५ मा स्थापना भएको क्लबले आफ्ना सेवामुलक कार्यक्रम मार्फत स्थापनाको छोटो अबधिमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । क्लबमा हाल ३४ जना सदस्य आबद्ध रहेका छन ।
बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग
धनुषा, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिनुभएको छ ।
जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि यहाँ आउनुभएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानको जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारवाही गर्नका लागि सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्नका लागि प्रहरी उपरीक्षक गोविन्द थपलियालाई निर्देशन दिनुभएको हो ।
महान्यायाधिवक्ता खरेलले धनुषाको औरही गाउँपालिका परवाहामा बलात्कारपश्चात् हत्या भएका १० वर्षीया बालिका मनिकाका पीडित परिवारलाई आइतबार भेट गर्नुभएको थियो ।
उहाँले भेटका क्रममा पीडित परिवारलाई आर्थिक सहयोग गर्दै पक्राउ परेका अभियुक्तलाई कडा कारवाही हुने बताउनुभयो । धनुषा प्रहरीले मनिका हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका औरही–५ का ३२ वर्षीय विनोद मुखिया बीन र सोही गाउँपालिका–३ बस्ने ३० वर्षीय नथुनी पण्डितलाई आइतबार सार्वजनिक गरेको छ ।
पक्राउ परेका दुवैले पत्रकार सम्मेलनमा आफूहरुले मनिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । गाउँकै छिमेकी रहेका दुवैलाई मनिकाले काका भनेर सम्बोधन गर्ने गरेकी थिइन् ।
पछाडी सर्यो काँग्रेसको चियापान कार्यक्रम
नेपाली काँग्रेसले चाडपर्वका अवसरमा आयोजना गरेको पुर्वनिर्धारित चियापान कार्यक्रम पछाडी सारेको छ ।
पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधनभएकाले शोक स्वरुप चियापान कार्यक्रम सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिनुभयो ।
बाँस्तोलाको निधनपछि पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पुर्वनिर्धारित चियापन कार्यक्रम पछाडी सार्दै शोक मनाउने कार्यक्रमहरु तय गरेको हो ।
बैठकले बाँस्तोलाको निधनमा हिजो, आज र भोली गरी ३ दिन पार्टीको पार्टी केन्द्रीय कार्यालय र देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने कार्यक्रम तय गरेको छ ।
पार्टी शोकमा रहेकाले श्रद्धाञ्जली बाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय पनि बैठकले गरेको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिनुभयो ।
हिजो देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित गरेको बैठकले यही कात्तिक ७ गतेका लागि तय भएको चियापान कार्यक्रम पनि बाँस्तोलाको निधनको १३ दिन भित्रै पर्ने भएकाले पछाडी सार्ने निर्णय गरेको हो ।
हरेक बर्षको कोजाग्रत पूर्णीमाका दिन चियापान कार्यक्रम गर्दै आएको काँग्रेसले यस पटक बाँस्तोलाको निधनका कारण कात्तिक १६ गते शुक्रबार गर्ने निर्णय गरेको केन्द्रीय सदस्य डा संग्रौलाले बताउनु भयो ।
उहाँले केन्द्रीय समितिसहित देशभरका सवै समितिलाई आ आफ्नो ठाउँमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न आह्वान गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।
महँगीयो भेँडाच्याङ्ग्राको मूल्य, च्याङ्ग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेँडा प्रतिगोटा १७ देखि १९ हजारसम्ममा खरीद बिक्री
बेनी, २९ दशैँलाई लक्षित गरी करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो ।
दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका पशु चिकित्सक शिव भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार, च्याङ्ग्रा १३ हजार ९८५ वटा र भेँडा दुई हजार ७१५ वटा निकासी भएका हुन् ।
म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतको ठाउँबाट जोमसोममै पुगेर व्यापारीले भेँडाच्याङ्ग्रा खरीद गरेका छन् । खाद्य संस्थानले समेत ९२५ वटा भेँडाच्याङ्ग्रा खरीद गरी लगेको पशु चिकित्सक भुसालले बताउनुभयो ।
उहाँका अनुसार, सबै भेँडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमति दिने गरिएको छ ।
मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकले समेत व्यावसायिक रुपमा भँेडाच्याङ्ग्रा पालन गर्दै आएका छन् । मुस्ताङभित्र र अन्य जिल्लाबाट समेत ल्याइएका भेँडाच्याङ्ग्रा निकासीबाट करिब रु ३५ करोड भित्रिएको छ ।
जोमसोममा च्याङ्ग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेँडा प्रतिगोटा १७ देखि १९ हजारसम्ममा खरीद बिक्री भएको थियो । अघिल्ला वर्षको तुलनामा जोमसोममै भेँडाच्याङ्ग्राको मूल्य महँगो भएको कारण बजारमा ल्याइएको भेँडाच्याङ्ग्राको मूल्य बढेको व्यवसायी नरबहादुर थापाले बताउनुभयो ।
हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका भेँडाच्याङग्राको मासु स्वास्थ्यको लागि लाभदायी र स्वादिलो हुने भएकाले दशैँमा लेकाली भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको छ ।