पछाडी सर्यो काँग्रेसको चियापान कार्यक्रम

नेपाली काँग्रेसले चाडपर्वका अवसरमा आयोजना गरेको पुर्वनिर्धारित चियापान कार्यक्रम पछाडी सारेको छ । पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधनभएकाले शोक स्वरुप चियापान कार्यक्रम सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिनुभयो । बाँस्तोलाको निधनपछि पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पुर्वनिर्धारित चियापन कार्यक्रम पछाडी सार्दै शोक मनाउने कार्यक्रमहरु तय गरेको हो । बैठकले बाँस्तोलाको निधनमा हिजो, आज र भोली गरी ३ दिन पार्टीको पार्टी केन्द्रीय कार्यालय र देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने कार्यक्रम तय गरेको छ । पार्टी शोकमा रहेकाले श्रद्धाञ्जली बाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय पनि बैठकले गरेको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिनुभयो । हिजो देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित गरेको बैठकले यही कात्तिक ७ गतेका लागि तय भएको चियापान कार्यक्रम पनि बाँस्तोलाको निधनको १३ दिन भित्रै पर्ने भएकाले पछाडी सार्ने निर्णय गरेको हो । हरेक बर्षको कोजाग्रत पूर्णीमाका दिन चियापान कार्यक्रम गर्दै आएको काँग्रेसले यस पटक बाँस्तोलाको निधनका कारण कात्तिक १६ गते शुक्रबार गर्ने निर्णय गरेको केन्द्रीय सदस्य डा संग्रौलाले बताउनु भयो । उहाँले केन्द्रीय समितिसहित देशभरका सवै समितिलाई आ आफ्नो ठाउँमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न आह्वान गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।

महँगीयो भेँडाच्याङ्ग्राको मूल्य, च्याङ्ग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेँडा प्रतिगोटा १७ देखि १९ हजारसम्ममा खरीद बिक्री

बेनी, २९  दशैँलाई लक्षित गरी  करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो । दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका पशु चिकित्सक शिव भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार, च्याङ्ग्रा १३ हजार ९८५ वटा र भेँडा दुई हजार ७१५ वटा निकासी भएका हुन् । म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतको ठाउँबाट जोमसोममै पुगेर व्यापारीले भेँडाच्याङ्ग्रा खरीद गरेका छन् । खाद्य संस्थानले समेत ९२५ वटा भेँडाच्याङ्ग्रा खरीद गरी लगेको पशु चिकित्सक भुसालले बताउनुभयो । उहाँका अनुसार, सबै भेँडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमति दिने गरिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकले समेत व्यावसायिक रुपमा भँेडाच्याङ्ग्रा पालन गर्दै आएका छन् । मुस्ताङभित्र र अन्य जिल्लाबाट समेत ल्याइएका भेँडाच्याङ्ग्रा निकासीबाट करिब रु ३५ करोड भित्रिएको छ । जोमसोममा च्याङ्ग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेँडा प्रतिगोटा १७ देखि १९ हजारसम्ममा खरीद बिक्री भएको थियो । अघिल्ला वर्षको तुलनामा जोमसोममै भेँडाच्याङ्ग्राको मूल्य महँगो भएको कारण बजारमा ल्याइएको भेँडाच्याङ्ग्राको मूल्य बढेको व्यवसायी नरबहादुर थापाले बताउनुभयो । हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका भेँडाच्याङग्राको मासु स्वास्थ्यको लागि लाभदायी र स्वादिलो हुने भएकाले दशैँमा लेकाली भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाको दसैं कोसेली–स्मार्ट फोन र टिभी

दसैं नजिकिँदै गर्दाको यो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगियो भने स्वदेश फर्किएका नेपालीहरुको बाक्लो उपस्थिति देख्न सक्छौं। विदेशबाट स्वदेश फर्किंदा अधिकांश नेपालीले आफ्ना परिवार र आफन्तका लागि केही उपहार तथा चिनो ल्याउने चलन नयाँ होइन। यसरी स्वदेश फर्किएकाहरुले बढी मात्रामा टिभी, मोबाइल फोन, ब्ल्यांकेट, घडी, लत्ताकपडा, गरगहना, क्यामेरालगायतका सामाग्रीहरु उपहारको रुपमा ल्याउने गरेको पाइन्छ। त्यसमध्ये पनि भन्सार छुटका कारण धेरै कामदारले टिभी र मोबाइल फोन ल्याउने गरेका छन्। टिभी र मोबाइल नै पहिलो रोजाइमा पर्नुमा नयाँ प्रविधि, कम मूल्य तथा भन्सार शूल्क छुट रहेको स्वयम् कामदार बताउँछन्। दक्षिण कोरियाबाट ३ वर्षपछि स्वदेश फर्किंदै गरेका सप्तरीको राजविराजका दिनेश गौतम मंगलबार त्रिभुवन विमानस्थलमा ‘एलइडी’ टिभीका साथमा भेटिए। ‘घरमा आवश्यक पर्ने भएकोले एउटा ३२ इन्चको टिभी र २ वटा मोबाइल लिएर आएको छु।’, गौतमले भने, ‘नेपाल आएपछि पनि किन्न परिहाल्छ। त्यसमाथि उता नयाँ प्रविधि तथा सस्तोमा पाइने भएकोले पनि ल्याएको हुँ।’ भन्सारका कारण पनि यस्ता सामान नेपालसम्म आइपुग्दा क्रय मूल्य उच्च हुन्छ। ‘नेपालमा किन्दा एउटै मोडल भएपनि बढी मूल्य पर्छ। सरकारले विदेशबाट फर्किंदा सीमित संख्यामा यस्ता समान ल्याउन दिने भएकोले पनि हामीलाई धेरै सस्तो पर्न जान्छ।’, गौतमले थपे। उनले परिवारका सदस्यले मोबाइल आवश्यक रहेको बताउनुभयो पछि टिभीसँगै मोबाइल पनि लिएर आएको स्पष्ट पारे। नेपालमा भन्दा विदेशमा कम मूल्यमा ‘स्मार्टफोन’ किन्न पाइन्छ। कतिपय अवस्थामा त ‘स्मार्ट फोन’ खरिद गर्दा विशेष छुटको पनि व्यवस्था गरिएको हुन्छ। विशेष छुटकै कारण सस्तो मूल्यमा फोन पाइने भएपछि धेरैले मोबाइल लिएर आउने गरेको संयुक्त अरब इमिरेट्स ९युएई०बाट नेपाल फर्किएका काभ्रेका जीवन केसीले बताउनुभयो ।। ‘नेपालको भन्दा धेरै कम मूल्यमा मोबाइल किन्न पाइन्छ। त्यसमाथि नेपालमा नपाइने र नयाँ मोडेलसमेत बिक्रीका लागि राखिएपछि त्यतापट्टि धेरैको आकर्षण हुन्छ’, केसीले बताउनुभयो । यस्तै, मलेसियाबाट दसैं मनाउन घर फर्किएका धरानका सुबोध लिम्बु पनि मलेसियामा नेपालीलाई लक्षित गरेर टिभी र मोबाइलमा छुट दिएकाले आफूले पनि एउटा टिभी र ३ वटा मोबाइल बोकेर आएको बताउनुभयो । लिम्बु, केसी र गौतम घर फर्किंदै गर्दा विमानस्थलमा भेटिएका हुन्। यसरी घर फर्किने धेरै नेपालीले ३२ इन्चसम्मको टिभी लिएर आउने गरेका छन्। ३२ इन्चसम्मको टिभी ल्याउँदा सरकारले भन्सार शुल्कमा छुट दिएको छ। यसका कारण प्रायजसोले यो सुविधाको उपभोग गरेको पाइन्छ। विदेशमा नेपालमा भन्दा झन्डै आधा मूल्यमा टिभी र अन्य मोबाइल फोन किन्न पाइन्छ। अर्थ मन्त्रालयको निजी, गुन्टा, झिटीसम्बन्धी प्रावधानअनुसार विदेशबाट आउनेले प्रयोग गरिरहेको फोनबाहेक २ वटासम्म मोबाइल फोन ल्याउन पाइन्छ। तर, विदेशबाट घर फर्किनेहरुले भन्सार नियमभन्दा बढी फोन लिएर आउने गरेका छन्। यसरी आउँदा पनि विमानस्थलमा भने खासै कडाइ गरिएको पाइँदैन। ३ वटा मोबाइल ल्याएर आएको भएपनि विमानस्थलमा रहेको भन्सार फाँटमा कुनै पनि जाँचबुझ नगरिएको लिम्बुले बताउनुभयो । कतिपयका हकमा भने विदेशबाट फर्किंदा कुन सामान, कति परिमाणमा ल्याउन पाइन्छ भन्ने जानकारी नहुँदा धेरैले विमानस्थलमा सास्ती व्योहोर्ने गरेका छन्। चाडपर्व नजिकिँदै गर्दा औसतमा नेपालीहरुको स्वदेश फर्किने संख्या विदेशिनेको भन्दा ३ गुणा बढी हुन्छ। विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार यसबीचमा झन्डै २ हजार ५ सय नेपाली औसतमा नेपाल फर्किएका छन्। भने विदेशिनेको संख्या करिब ७ सय रहेको छ।

बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग

0

महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिनुभएको छ । जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि यहाँ आउनुभएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानको जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारवाही गर्नका लागि सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्नका लागि प्रहरी उपरीक्षक गोविन्द थपलियालाई निर्देशन दिनुभएको हो । महान्यायाधिवक्ता खरेलले धनुषाको औरही गाउँपालिका परवाहामा बलात्कारपश्चात् हत्या भएका १० वर्षीया बालिका मनिकाका पीडित परिवारलाई आइतबार भेट गर्नुभएको थियो । उहाँले भेटका क्रममा पीडित परिवारलाई आर्थिक सहयोग गर्दै पक्राउ परेका अभियुक्तलाई कडा कारवाही हुने बताउनुभयो । धनुषा प्रहरीले मनिका हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका औरही–५ का ३२ वर्षीय विनोद मुखिया बीन र सोही गाउँपालिका–३ बस्ने ३० वर्षीय नथुनी पण्डितलाई आइतबार सार्वजनिक गरेको छ । पक्राउ परेका दुवैले पत्रकार सम्मेलनमा आफूहरुले मनिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । गाउँकै छिमेकी रहेका दुवैलाई मनिकाले काका भनेर सम्बोधन गर्ने गरेकी थिइन् ।