१७ हजार भँेडाच्याङ्ग्रा निकासी
दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो ।
दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका पशु चिकित्सक शिव भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार, च्याङ्ग्रा १३ हजार ९८५ वटा र भेँडा दुई हजार ७१५ वटा निकासी भएका हुन् ।
म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतको ठाउँबाट जोमसोममै पुगेर व्यापारीले भेँडाच्याङ्ग्रा खरीद गरेका छन् । खाद्य संस्थानले समेत ९२५ वटा भेँडाच्याङ्ग्रा खरीद गरी लगेको पशु चिकित्सक भुसालले बताउनुभयो ।
उहाँका अनुसार, सबै भेँडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमति दिने गरिएको छ ।
मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकले समेत व्यावसायिक रुपमा भँेडाच्याङ्ग्रा पालन गर्दै आएका छन् । मुस्ताङभित्र र अन्य जिल्लाबाट समेत ल्याइएका भेँडाच्याङ्ग्रा निकासीबाट करिब रु ३५ करोड भित्रिएको छ ।
जोमसोममा च्याङ्ग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेँडा प्रतिगोटा १७ देखि १९ हजारसम्ममा खरीद बिक्री भएको थियो । अघिल्ला वर्षको तुलनामा जोमसोममै भेँडाच्याङ्ग्राको मूल्य महँगो भएको कारण बजारमा ल्याइएको भेँडाच्याङ्ग्राको मूल्य बढेको व्यवसायी नरबहादुर थापाले बताउनुभयो ।
हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका भेँडाच्याङग्राको मासु स्वास्थ्यको लागि लाभदायी र स्वादिलो हुने भएकाले दशैँमा लेकाली भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको छ ।
उपचार नगर्ने डाक्टर पंडितको बर्खास्तीको माग राख्दै तालाबन्दी
दीपेन्द्र बस्नेत ,बेलौरी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरले बिरामीको उपचारमा देखाएको हेलचक्र्याईमा असन्तुष्टि जनाउँदै डाक्टरको कार्यकक्षमा काँग्रेसद्वारा गरिएको तालाबन्दीसंगै पूर्व सांसद दिवानसिह बिष्टबिरुद्ध जारी गरिएको विज्ञप्तिको निन्दा गर्दै नेपाली काँग्रेसले प्रेस विज्ञप्ति जारी गरेको छ ।
शुक्रबार हृदयघातको समस्याका कारण उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी बेलौरी नगरपालिका ६ कि चन्द्रा थापाको उपचारमा कनिष्ठ स्वास्थ्यकर्मीलाई खटाउँदै डाक्टर अमित पंडित निजी मेडिकलतर्फ लागेपछि विवाद देखिएको थियो ।
दक्षिणी क्षेत्रका जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्दै आएको प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचारमा लापरबाही गरेको सम्बन्धमा बादबिवाद भएपछि स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन ढकालले विज्ञप्ति निकाल्दै पुर्व सांसद बिष्टलाई बदनाम गराउन दुष्प्रचार गरिएको भन्दै नेपाली काँग्रेस क्षेत्र नम्बर १ कञ्चनपुरले विज्ञप्ति जारी गर्दै स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिद्वारा प्रकाशित विज्ञप्तिको आलोचना गरेको छ ।
पीडाका कारण शैयामा छट्पटाई रहेका बिरामीको उपचारमा लाग्न आग्रह गर्दा समेत डाक्टरले बेवास्ता गरेपछि भएको वादबिवादलाई अतिरंजित गर्दै पूर्व सांसद बिष्टलाई बदनाम गराउन गरिएको षड्यन्त्रको कञ्चनपुर क्षेत्रनम्बर १ का काँग्रेस क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय र सचिव विश्राम रानाद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत आपत्ति जनाइएको छ ।
स्वास्थ्य केन्द्रमा निःशुल्क बितरण गरिने औषधिसमेत बाहिरबाट किन्न लाउने, स्वास्थ्य केन्द्रमा उपलब्ध प्याथोलोजी सेवासमेत निजी प्रयोगशालाबाट गराउने, सर्पदंशको उपचार नगर्ने लगायतका डाक्टर पंडितले गर्दै आएको नेपाली काँग्रेसको कञ्चनपुर क्षेत्र नम्बर १ ले विज्ञप्ति जारी गर्दै बिरोध जनाएको छ ।
बिरामीको उपचारमा चरम लापरबाही गर्ने डाक्टर अमित पंडितको बर्खास्तीको माग राख्दै स्वास्थ्य केन्द्रको प्रशासन कक्षमा शुक्रबारनै काँग्रेसले तालाबन्दी गरेको छ ।
स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिले स्वास्थ्य संस्थाबाट हुँदै आएका कमजोरी सच्याउन डाक्टर पन्डितको बर्खास्ती र कपोकल्पित भ्रामक प्रचार गर्ने अध्यक्षलाई कार्वाही तथा रीत नपुगाई स्वास्थ्य संस्थामा भर्ना गरिएका कर्मचारी खारेजी नगरे कडा आन्दोलन गरिने नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरे
सिकागो । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले “निलोलाई मतदान” लेखेका ठूला ब्यानर पनि फहराएका थिए । प्रदर्शनकारीहरुले ट्रम्पलाई “महिला विरोधी एजेण्डा” बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए ।
निर्वाचन लक्षित र्यारली डाउनटाउन पार्कबाट सुरु भएको थियो । र्यातलीमा सहभागीहरुलाई डेमेक्राट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियो मार्फत् सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेकी थिइन् ।
ट्रम्प प्रशासनलाई उत्तरदायी र जिम्मेवार बनाउन आफ्नो पक्षलाई जिताउनु पर्ने उनको भनाई थियो । एएफपी
लागुऔषधसहित पक्राउ
सिन्धुली, सिन्धुलीमा लागुऔषधसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका–९ घर भई मलङ्गवा नगरपालिका–७ बस्दै आएका १९ वर्षीय अनिलकुमार बैठालाई काठमाडौँतर्फ आउने क्रममा कमलामाई नगरपालिका–६ ट्राफिक चेक पोष्ट अगाडि लागुऔषधसहित असोज २६ गते पक्राउ गरेको हो ।
बैठाको साथबाट फेनेग्राम एम्पुल ४०० वटा, नोफिन एम्पुल ४०० वटा र डाइजेपाम ४०० वटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । घटनामा संलग्न अन्य व्यक्तिको समेत पहिचान भइसकेको र चाँडै नै पक्राउ गरिने उहाँको भनाइ छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालयले दशैँका समयमा चाडपर्व मनाइरहँदा हुन सक्ने घटनालाई कमी गर्न ४०० जना प्रहरी जिल्लाभर परिचालन गरिएको प्रहरी उपरीक्षक यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बिपी राजमार्गको माझीटार, ढुङ्ग्रेबास र सिन्धुली बसपार्कमा प्रहरी सहायता कक्ष सञ्चालन गरिएको छ ।
यातायात व्यवसायी वा जुनसुकै क्षेत्रबाट दशैँका नाममा बसले बढी भाडा लिए वा आफूलाई ठगिएको महसुस भएमा प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । साथै चाडपर्वलाई मर्यादित तवरले मनाउन आग्रह गर्दै कहिँकतै आपराधिक गतिविधि हुन लागेको थाहा पाएमा प्रहरीलाई जानकारी गर्न अनुरोध गर्नुभयो ।
–––