कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थाले
’
दमौली, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने जनता पछुताउन थालेको टिप्पणी गर्नुभएको छ ।
कांग्रेस व्यास नगरसमिति वडा नं १० ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बढ्दो महँगी, भ्रष्टाचार, बलात्कारका घटना न्यूनीकरणमा सरकार असफल भएसँगै जनता निराश हुन थालेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताले जे सोचेर कम्युनिष्ट पार्टीलाई बहुमत दिएका थिए सरकारले जनभावनाअनुसार काम गर्न सकेन ।” नेता पौडेलले स्थानीयस्तरको विकासका लागि व्यास नगरपालिका तथा जिल्ला समन्वयमा गएर माग राख्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।
–––
‘७० प्रतिशत हिंसाको कारक मदिरा’ नियन्त्रणमा जुट्नु जरुरी
काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताएका छन्। गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा र ट्राफिक व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा उनले विकास र समृद्धिको बाधक हिंसा निस्तेज बनाउन जरुरी रहेको बताए।“सबै प्रकारका अपराध निस्तेज नगरेसम्म समृद्ध नेपाल निर्माण हुनसक्दैन”,उनले भने।
गृहमन्त्री थापाले विकास समृद्धि, सुशासन र शान्तिको उच्चतम अवस्था समाजवादको लक्ष्य पूरा गर्न सरकार र जनता एकजुट हुनुपर्ने बताए। “मुलुकमा अझैसम्म पनि अशान्ति र द्वन्द्व निम्त्याउने तत्व सक्रिय भइरहेका छन्, त्यसतर्फ हामी सजग हुनुपर्छ”, गृहमन्त्री थापाले भने।
उनले ७० प्रतिशत हिंसाको कारक मदिरा नियन्त्रणमा जुट्नु जरुरी रहेको उल्लेख गरे। हिंसा रोक्न स्थानीयस्तरबाटै जनता परिचालन गरेर आन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले मदिरा नियन्त्रणका लागि वडामा कति पसल सञ्चालन गर्ने र कुनकुन समय बिक्रीवितरण गर्ने भन्नेबारे स्थानीय क्षेत्रले योजना बढाएर अगाडि बढ्नुपर्छ भने। गृह मन्त्रालयका सहसचिव नारायण शर्मा दुवाडीले लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा निवारणका लागि मन्त्रालयले गरिरहेको कामका बारेमा जानकारी दिएका थिए।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजमा हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तह र प्रहरी सँगसँगै हुनुपर्ने बताए। “हिंसा नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रमा सिसी क्यामरा जडान गरेको छ”,उनले भने।
उनले महानगरपालिका काठमाडौँ क्षेत्रमा भएको जथाभावी पार्किङ हटाउन र ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उपत्यकामा मदिरा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले गरिरहेको काम र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे जानकारी दिएका थिए। सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तिले महिला तथा बालबालिका हिंसा, लागुऔषध र मदिरा नियन्त्रणका लागि आआफ्नो रायसुझाव दिएका थिए। रासस
कांग्रेसभित्रको गुटउपगुट सिध्याउन फोरमको समायोजन गरे गच्छदार
विराटनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेसभित्रको गुटउपगुट सिध्याउन फोरमको समायोजन गरेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले नेपाली कांग्रेसभित्र रहेको गुटउपगुट समाप्त गरी एकता कायम गराउनका लागि नै नेपाल लोकतान्त्रिक फोरमले समायोजन गरेको विचार व्यक्त गरेका छन् ।
नेता गच्छदारले कांग्रेसको आन्तरिक विवादको कारण बस्न नसकेको केन्द्रीय समितिका कारण नेपाल लोकतान्त्रिक फोरमको समायोजन रोकिएको बताउँदै दशैँपछि बस्ने समितिको पहिलो बैठकको कार्यसूचीनै लोकतान्त्रिक फोरमको समायोजनको निर्णय हुने जानकारी दिए ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले राष्ट्र विखण्डनको कुरा उठाउने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने बताए। मुलुकलाई खण्डित बनाई रज्य विद्रोहको कुरा गरी राष्ट्रिय एकतामा खलल पुर्या उनेलाई कारबाही गर्नु सरकारको दायित्व रहेको प्रष्ट पारे।
उनले संविधान कुनै धार्मिकग्रन्थ नभएको बताउँदै जनताबाट निर्मित वर्तमान संविधानलाई पूर्णता दिन समयानुसार संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेता गच्छदारले रेशम चौधरी अन्यायमा परेको र अदालतबाट छिट्टै मुद्दा फैसला भई सबै कुरा समाधान हुने विश्वास व्यक्त गरे । उनले विगतको निर्वाचनमा कांग्रेसको पराजयको भागीदारी सभापतिसहित सम्पूर्ण केन्द्रीय समिति रहेको बताउँदै एक जनालाई मात्र दोषी ठहर्या्उनु गलत भएको विचार व्यक्त गरे। रासस
एनआरएनसँग सहकार्य गर्न सरकार तत्पर छ प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ ।
राजधानीमा शुक्बार देखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको पहिचान विश्वसामु प्रस्तुत गर्न सङ्घले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।
मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले विकासका लागि ज्ञान र सीपको उपयोग गर्नैपर्छ भन्नुभयो ।
उहाँले विज्ञ सम्मेलनले गरेको निष्कर्ष विकासका लागि सरकारलाई महत्वपूर्ण सुझाव हुने उल्लेख गर्नुभयो ।
नेपालको मौलिक संस्कृति विश्वसामु परिचित गराउन सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले नेपाल विश्वकै छुट्टै पहिचान भएको देश हो भन्नुभयो ।
“अध्ययन, अनुसन्धान, अनुभवले विकासको आधार तयार पार्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, अब आर्थिक समृद्धिका लागि सबैको सहभागिता जरुरी छ ।”
उहाँले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको योगदान महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
उहाँले कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोग आवश्यक भएको उल्लेख गर्दै पूर्वाधार विकास तथा जलविद्युत् उत्पादनको क्षेत्रमा लगानी गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले आवश्यक नीति निर्माण परिमार्जन गरेरै भए पनि लगानीको वातावरण सिर्जना गर्ने बताउनुभयो ।
नेपालको पर्यटन विकासमा गैरआवासीय नेपालीहरुले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै उहाँले नेपाललाई विश्वका विकसित देशसँग सुदृढ सम्बन्ध स्थापना गर्ने माध्यमका रुपमा गैरआवासीय नेपालीले इमानदारीपूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले बढ्दो व्यापार घाटाले देशको अर्थतन्त्र चुनौतीको मोडमा पुगेको वास्तविकता औँल्याउँदै त्यसो हुन नदिन महासङ्घले निर्यातमूलक उद्योगको प्रवद्र्धनमा जोड दिएको बताउनुभयो ।
सङ्घका अध्यक्ष भवन भट्टले विदेशमा सिकेका ज्ञान र सीपसँगै लगानी गरेर नेपाललाई समृद्ध तुल्याउन आफूहरु दृढ रहेको बताउनुभयो ।
उहाँले पूँजीमात्रै नभई विदेशमा सिकेका ज्ञान, सीप र अनुभवको सदुपयोग गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष उपेन्द्र महतोले मातृभूमि नेपालको विकासलाई आफूहरूले प्राथमिकता दिएको स्पष्ट गर्नुभयो ।
सम्मेलनमा पूर्व अध्यक्षद्वय शेष घले र जीवा लामिछानेले लगानीमैत्री नीति आवश्यक भएको भन्दै त्यसो भएमा गैरआवासीय नेपालीले हृदय खोलेर लगानी गर्ने बताउनुभयो ।
–––