कांग्रेसभित्रको गुटउपगुट सिध्याउन फोरमको समायोजन गरे   गच्छदार

  विराटनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेसभित्रको गुटउपगुट सिध्याउन फोरमको समायोजन गरेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले नेपाली कांग्रेसभित्र रहेको गुटउपगुट समाप्त गरी एकता कायम गराउनका लागि नै नेपाल लोकतान्त्रिक फोरमले समायोजन गरेको विचार व्यक्त गरेका छन् । नेता गच्छदारले कांग्रेसको आन्तरिक विवादको कारण बस्न नसकेको केन्द्रीय समितिका कारण नेपाल लोकतान्त्रिक फोरमको समायोजन रोकिएको बताउँदै दशैँपछि बस्ने समितिको पहिलो बैठकको कार्यसूचीनै लोकतान्त्रिक फोरमको समायोजनको निर्णय हुने जानकारी दिए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले राष्ट्र विखण्डनको कुरा उठाउने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने बताए। मुलुकलाई खण्डित बनाई रज्य विद्रोहको कुरा गरी राष्ट्रिय एकतामा खलल पुर्या उनेलाई कारबाही गर्नु सरकारको दायित्व रहेको प्रष्ट पारे। उनले संविधान कुनै धार्मिकग्रन्थ नभएको बताउँदै जनताबाट निर्मित वर्तमान संविधानलाई पूर्णता दिन समयानुसार संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे । नेता गच्छदारले रेशम चौधरी अन्यायमा परेको र अदालतबाट छिट्टै मुद्दा फैसला भई सबै कुरा समाधान हुने विश्वास व्यक्त गरे । उनले विगतको निर्वाचनमा कांग्रेसको पराजयको भागीदारी सभापतिसहित सम्पूर्ण केन्द्रीय समिति रहेको बताउँदै एक जनालाई मात्र दोषी ठहर्या्उनु गलत भएको विचार व्यक्त गरे। रासस

एनआरएनसँग सहकार्य गर्न सरकार तत्पर छ प्रधानमन्त्री

0
काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । राजधानीमा शुक्बार देखि  शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको पहिचान विश्वसामु प्रस्तुत गर्न सङ्घले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले विकासका लागि ज्ञान र सीपको उपयोग गर्नैपर्छ भन्नुभयो । उहाँले विज्ञ सम्मेलनले गरेको निष्कर्ष विकासका लागि सरकारलाई महत्वपूर्ण सुझाव हुने उल्लेख गर्नुभयो । नेपालको मौलिक संस्कृति विश्वसामु परिचित गराउन सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले नेपाल विश्वकै छुट्टै पहिचान भएको देश हो भन्नुभयो । “अध्ययन, अनुसन्धान, अनुभवले विकासको आधार तयार पार्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, अब आर्थिक समृद्धिका लागि सबैको सहभागिता जरुरी छ ।” उहाँले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको योगदान महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरण, प्रविधिको प्रयोग आवश्यक भएको उल्लेख गर्दै पूर्वाधार विकास तथा जलविद्युत् उत्पादनको क्षेत्रमा लगानी गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले आवश्यक नीति निर्माण परिमार्जन गरेरै भए पनि लगानीको वातावरण सिर्जना गर्ने बताउनुभयो । नेपालको पर्यटन विकासमा गैरआवासीय नेपालीहरुले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै उहाँले नेपाललाई विश्वका विकसित देशसँग सुदृढ सम्बन्ध स्थापना गर्ने माध्यमका रुपमा गैरआवासीय नेपालीले इमानदारीपूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले बढ्दो व्यापार घाटाले देशको अर्थतन्त्र चुनौतीको मोडमा पुगेको वास्तविकता औँल्याउँदै त्यसो हुन नदिन महासङ्घले निर्यातमूलक उद्योगको प्रवद्र्धनमा जोड दिएको बताउनुभयो । सङ्घका अध्यक्ष भवन भट्टले विदेशमा सिकेका ज्ञान र सीपसँगै लगानी गरेर नेपाललाई समृद्ध तुल्याउन आफूहरु दृढ रहेको बताउनुभयो । उहाँले पूँजीमात्रै नभई विदेशमा सिकेका ज्ञान, सीप र अनुभवको सदुपयोग गर्न सरकारसँग आग्रह गर्नुभयो । सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष उपेन्द्र महतोले मातृभूमि नेपालको विकासलाई आफूहरूले प्राथमिकता दिएको स्पष्ट गर्नुभयो । सम्मेलनमा पूर्व अध्यक्षद्वय शेष घले र जीवा लामिछानेले लगानीमैत्री नीति आवश्यक भएको भन्दै त्यसो भएमा गैरआवासीय नेपालीले हृदय खोलेर लगानी गर्ने बताउनुभयो । –––

राउटे बस्तीमा दशैँको चटारो

0
  – प्रकाश अधिकारी  ,सुर्खेत,  यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कनेदेखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि बाक्लो छ । हिन्दू समुदायको महान् पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन् । राउटे तीन दिनअघि दैलेखबाट सुर्खेतको लेकबेँसी नगरपालिका–९ ज्यामिरे जङ्गलमा सरेका हुन् । यसअघि उनीहरु दैलेखको गुराँस गाउँपालिका–७ मा बसोबास गरेका थिए । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको राउटेको भनाइ छ । महामुखिया महिनाबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको बताउनुभयो । “दशैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ” स्थानीय गङ्गटे बजारमा भेटिनुभएका उहाँले भन्नुभयो, “चिसो बढ्यो, दशैँ पनि आयो, दशैँ मनाएर अन्तै सर्नुपर्ला ।” ज्यामिरे जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाई नहुने उहाँको भनाइ छ । फिरन्ते जीवन बिताउने यो समुदायका ४२ घरधुरीमा गरी १४८ जना छन् । दैलेखको गुराँस गाउँपालिकाले आज बस्तीमै पुगेर राउटे समुदायलाई असोज महीनाको भत्ता वितरण ग¥यो । सरकारले अति लोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक रु दुई हजार प्रदान गर्दै आएको छ । राउटेले उक्त रकम दशैँका लागि खर्च गर्ने प्रतिक्रिया दिए । “भत्ताको पर्खाइमा थियौँ, सरकारले समयमै दियो” भत्ता बुझेपछि प्रफुल्लित देखिएका एक युवाले भन्नुभयो । दशैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन् । किनमेलका लागि स्थानीय गङ्गटे बजार, वीरेन्द्रनगरसम्म पुग्ने उनीहरुको योजना छ । समुदायका चार युवा भने दशैँ खर्च जुटाउन काठमाडौँ पुगेका छन् । उनीहरु अझै बस्ती फर्केका छैनन् । राउटे घटस्थापनाका दिन बस्ती सर्नुपरेकाले जमरा राख्न पाएनन् । राउटे अगुवाका अनुसार दशैँका दिन मुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन् । यो दशैँलाई ‘असोजे दशैँ’ भन्छन् । यसका लागि राउटेले अगाडि नै खसी, बोका जम्मा गरी राख्छन् । यदि खसी नपाए बूढो बाख्री नै भए पनि खोजेर ल्याउँछन् । दशैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दशैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् । पुरुषले मात्र नाच्छन् । महिलाहरु कहिल्यै नाच्दैनन् । देवीदेवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दू संंस्कारप्रति राउटे पनि विश्वास गर्छन् । यद्यपि, उनीहरुको मृत्यु संस्कार भने फरक शैलीको छ । आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्यष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन् । जहाँ म¥यो त्यही गाडेर बस्ती सर्छन् । मुखिया सूर्यनारायण शाहीले ईश्वरबाटै श्रृष्टि चलिरहेकाले पनि चाडपर्वप्रति विश्वास रहेको बताउनुभयो । “शिकार परेन भने देउता रिसाएको बुझ्छौँ, उहाँले भन्नुभयो, “त्यही भएर शिकारका देवता भुयाँ र दारेमष्टोको पूजा गर्छौं ।”

मानवअधिकार आयोगले अभियान चलाउने

काठमाडौँ, २६  राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि देशव्यापी अभियान चलाउने भएको छ । आयोगले सो अभियान सञ्चालन सिलसिलामा प्रादेशिक र राष्ट्रिय सम्मेलन सम्पन्न गरी प्रतिवेदन तयार गरेर कार्ययोजनासमेत तयार गरेको आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिनुभयो । सम्मेलन तयारीको क्रममा आयोगले सरोकारवालासँग राय ,सुझाव लिने उद्देश्यले छलफल गरेको छ । छलफलमा सहभागीबाट दलित समुदायका मानवअधिकारका विभिन्न विषयमा सम्मेलन केन्द्रित हुनुपर्ने तथा कानून कार्यान्वयन गर्ने निकायलाई सम्मेलनमा समावेश गर्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी, दलित र गैरदलित सबैको सहभागिता हुनुपर्ने, सम्मेलनबाट आएका विषयको सम्बन्धमा सरकारलाई सिफारिश गरी सकेपछि आयोगले स्थायी संयन्त्र निर्माण गरी कार्यान्वयनको लागि निरन्तर पहल गर्नुपर्नेलगायत सुझाव दिएका थिए । राष्ट्रिय दलित आयोग र दलित गैरसरकारी संस्था महासङ्घ समेतसँग आयोगले यसअघि नै परामर्श गरिसकेको छ । –––