संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन सकेन ः देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको उद्घाटन, चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण र प्रेस युनियन चितवनको आठौंँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण कुरा भएकामा जोड दिनुभयो ।
काङ्ग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो,“प्रेस स्वतन्त्रता, मौलिक अधिकार र लेख्ने बोल्ने स्वतन्त्रताको पक्षमा कुनै पनि किसिमको बन्देज लगाउन पाइँदैन ।” उहाँले कुनै पनि हालतमा प्रेस स्वतन्त्रता हनन हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रेस युनियन स्वतन्त्र निकाय हो । तपाईँहरुलाई पार्टीबाट अङ्कुश लगाउने काम हुँदैन ।” सभापति देउवाले रु ५५ लाखको लागतमा नवनिर्मित ‘नेपाल प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र’ भवनको पनि उद्घाटन गर्नुभयो ।
कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले लोकतन्त्रमा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा रु ५१ हजार १५१ राशिको चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ बाट किशोर नेपाल, २०७३ बाट कुलचन्द्र वाग्ले र २०७४ बाट तेजप्रकाश पण्डितलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी रु ११ हजार १११ को क्रियाशील पत्रकारिता पुरस्कार ‘नारायणी अनलाइन’का राजु चौधरीलाई प्रदान गरियो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, पुरस्कारदाता प्रमोदकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, नेपाल ट्रेड युनियन काङ्ग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा भवन निर्माण गर्न जग्गादान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठलगायत आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो । युनियनको आठाँैं जिल्ला अधिवेशन आजदखि शुरु भएको छ । शनिबार नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुने छ ।
सरकारले छ महीनामा रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार गरेको छ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले छ महीनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “सरकारले आर्थिक विकासका लागि आधार तयार पारेको छ । पावरबहन र सम्पर्क सञ्जालको विस्तारमा महत्वपूर्ण सम्झौता भएका छन् । त्यसले देश भूपरिवेष्ठित होइन, जमीनबाट जोडिएको देशमा परिणत भएको छ ।”
कागेश्वरी मनहरा नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सरकारको आलोचनाका लागि आलोचना गर्ने प्रवृत्ति उचित नभएको बताउनुभयो ।
काठमाडौँलाई केन्द्रमा राखेर चीन र भारतबाट रेल सञ्जालको विस्तार गर्ने विषयमा महत्वपूर्ण सम्झौता भएको र कार्यान्वयनको प्रक्रियामा समेत गएको भन्दै उहाँले आगामी केही वर्षमा त्यसको वास्तविक प्रगति देखिने उल्लेख गर्नुभयो ।
सरकार गठन भएपछि विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय हटेको, डुबान समस्या समाधानका लागि पहल भएको, करीब आधा दर्जन स्थानबाट हवाईजहाज प्रवेश गर्न पाउनेजस्ता सहमति भएको भन्दै उहाँले केही पनि भएन भनेर गलत प्रचार गर्नुको कुनै अर्थ नहुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै ११ वर्षदेखि विराटनगरमा बस्दै आएको दूतावासको सम्पर्क कार्यालय हटेको छ । सिमराको आकाशबाट मात्रै नेपाल जहाज प्रवेश गर्न पाउने अवस्था थियो, त्यसको समेत सुधार भएर आधा दर्जन स्थानबाट प्रवेश गर्न पाउने व्यवस्था भएको छ । डुबानको समस्या समाधान हुने क्रममा छ । यी सरकारका महत्वपूर्ण उपलब्धि हुन् ।”
यस्तै चीनसँग व्यापार तथा पारबहन सम्झौता भई नेपालले विभिन्न सात वटा बन्दरगाहसमेत प्रयोग गर्न पाउने सहमति हुनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो ।
सरकारले क्रमशः विकास, निर्माण, आर्थिक समृद्धि र सम्पर्क सञ्जालको विस्तारलाई विशेष प्राथमिकतामा राखेको भन्दै अध्यक्ष दाहालले सरकारको सकारात्मक काम कारवाहीलाई जनतासमक्ष पु¥याउन र जनतमतलाई थप बलियो बनाउनसमेत नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत, चीनजस्ता छिमेकी देशको भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताले जनतामा समेत नयाँ खालको उत्साह पैदा भएको र कम्युनिस्ट पार्टीको सरकार जनताको सुख दुःखमा साथ दिन्छ भन्ने तथ्यसमेत स्थापित भएको बताउनुभयो ।
उहाँले वामपन्थीको सरकारले केही गरेन भनेर प्रचार गर्नेलाई ठन्डा दिमागले सोच्न र सकारात्मक कामलाई सकारात्मकरुपमा नै लिनसमेत आग्रह गर्नुभयो ।
सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको स्पष्ट पार्दै उहाँले त्यसको परिणाम भने आगामी दिनमा नै देखिँदै जाने र आर्थिक विकासमा गुणात्मक परिवर्तन हुने स्पष्ट पार्नुभयो ।
केही समयभित्रै राजधानी काठमाडौँको सबै सडकको मर्मत सम्भार गर्ने विषयमा प्रधानमन्त्री ओली र आफूले दृढ सङ्कल्प गरेको भन्दै विकास निर्माणका काममा भइरहेको ढिलाइ क्षम्य नहुने बताउनुभयो ।
“केही समयभित्रै राजधानीका सबै सडक कालोपत्रे हुने र धुलो तथा धुवाँरहित बनाउन हामी प्रयासरत छौँ, त्यसलाई समाधान गर्छौं’ अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा वर्षाका कारण काम गर्न नसकिएको स्थानमा समेत अब छिट्टै मर्मत सम्भारको काम अगाडि बढ्छ ।”
विगतमा कुनै पनि सरकार स्थिर हुन नसक्दा जनताले दुःख पाएको र राष्ट्रसमेत समस्यामा परेको भन्दै उहाँले नेपाली जनताले कम्युनिस्ट पार्टीप्रति गरेको विश्वासलाई अक्षरशः कार्यान्वयन गरेर देखाइने दृढता व्यक्त गर्नुभयो ।
“जनताले हामीलाई ऐतिहासिक अवसर प्रदान गरेका छन्, यो अवसरलाई हामी पूर्णरुपमा सदुपयोग गर्छौं र देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्छौं” अध्यक्ष दाहालले भन्नुभयो ।
नेकपालाई ऐतिहासिक अवसर र चुनौती दुवै रहेको दोहो¥याउँदै उहाँले नेपाली जनतालाई सुशासन, विकास र समृद्धि दिनुपर्ने र सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गरेर छाडिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
वृद्धवृद्धाको भत्ता वृद्धि गर्ने, विकासका कामलाई गति दिएर अगाडि जाने सडकका खाल्डाखुल्डी पुर्ने धुलो रोक्ने काममा सरकार प्रतिबद्ध भएर लाग्ने उहाँको भनाइ थियो ।
फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपाका नेता वामदेव गौतमले नै उपनिर्वाचन नलड्ने भनेर नै स्पष्ट पारिसक्नु भएकाले त्यसमा थप टिप्पणी जरुरी नरहेको बताउनुभयो । कार्यक्रममा नेकपाका नेता नारायण दाहाल, कृष्ण राईलगायतको उपस्थिति थियो ।
ए डिभिजन लिग ः मनाङ्को विजयी शुरुवात
मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी शुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले विजयी शुरुवात गरेको हो ।
मनाङको जितमा अफिज ओलावलेले दुई तथा हेमन गुरुङले एक गोल गरे । ब्रिगेडका रजक तिवारीले एक गोल गरेका थिए । खेलमा शुरुवाती अग्रता भने ब्रिगेडले लिएको थियो । पहिलो हाफको २८ औँ मिनेटमा रजक तिवारीको गोलबाट ब्रिगेडले लिएको थियो तर, ४७ औँ मिनेटमा हेमनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको ५७ औँ मिनेटमा ओलावलेले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा ओलावलेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३–१ को जित दिलाए ।
जितसँगै मनाङले लिगको पहिलो खेलमा महत्वपूर्ण तीन अङ्क जोडेको छ । ब्रिगेडले भने अग्रता जोगाउन नसक्दा हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।
आजको खेलसँगै लिगका पहिलो चरणका खेल सकिएको छ । पहिलो चरणको खेल सकिएसँगै लिग एक महीनाका लागि स्थगित हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दोस्रो चरणका खेल अब छठपछि सञ्चालन गर्ने एन्फाले जनाएको छ ।
सन्दीपको राष्ट्रिय कीर्तिमान : नेपाल उपाधिसहित दोस्रो चरणमा प्रवेश
–कुमार चौलागाई
आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ ।
छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिष्पर्धा गरिरहेको नेपालले वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा उपाधि जितेको हो ।
मलेशियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदान आज सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक विकेट गुमाउँदै एक रन बनाउँदा पानी परेर खेल रद्द भएपछि नेपाललाई विजेता घोषणा गरिएको थियो ।
सिङ्गापुर र नेपालको समान छ खेलबाट समान ११÷११ अङ्क भए पनि नेपाल रन रेटका आधारमा अघि भएपछि उपाधि जितेको हो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिङ्गापुरले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल बनाएको थियो ।
सिङ्गापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रनको योगदान दिए । ३२ बल खेल्दै उनले ३ चौका प्रहार गरे । त्यसैगरी मनप्रीत सिङ र सिद्वान्तले समान १०÷१० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । त्यस्तै सोमपाल कामी र करत्रण केसीले दुई÷दुई विकेट झारे भने ललित राजवंशी र वसन्त रेग्मीले एक÷एक विकेट लिए ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यान्मालाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले दोस्रो खेल २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भूटान तथा २४ गते चीनलाई पराजित गरेको थियो ।
यसअघिका खेलको पाँच खेलमा सिङ्गापुर पनि अपराजित टोली हो । नेपाल र सिङ्गापुरले समान पाँच खेलबाट १०÷१० अङ्क जोडेका छन् । रनरेटका आधारमा नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै आएको थियो ।
नेपालले टी–२० मा सिङ्गापुरविरुद्ध पछिल्लो पटक सन् २०१३ मा खेलेको थियो । एसिसी टी–२० अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उक्त खेलमा नेपालले १२१ रनको जित निकालेको थियो ।
गत महीना मलेसियामा भएको ५० ओभरको खेलमा पनि नेपालले सिङ्गापुरलाई ४ विकेटले हराएको थियो । यस छनोटबाट नेपाल, सिङ्गापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
अब एशिया छनोटमा छ टोलीले खेल्नेछन् । यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोल गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिष्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।
सन्दीपको राष्ट्रिय कीर्तिमान
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एशिया क्षेत्र छनोट समूह ’बी’ प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन् ।
सन्दीपले आज सिङ्गापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन् । सन्दीप प्रतियोगिताको सुरुवाती पाँच खेलमा २० विकेट लिएर कीर्तिमान नजिक पुगेका थिए ।
यसअघि सिनियरस्तरमा एकै प्रतियोगितामा बढी विकेट लिने कीर्तिमान वसन्त रेग्मी र विनोद दासको संयुक्तनाममा थियो । वसन्तले सन् २०१२ मा भएको आइसिसी डिभिजन–४ क्रिकेट प्रतियोगितामा २१ विकेट लिँदै विनोद दासको नाममा रहेको कीर्तिमान बराबरी गरेका थिए । विनोदले सन् २००५ को एसिसी ‘फास्ट ट्रयाक कन्ट्रिज’ प्रतियोगितामा नेपालका लागि २१ विकेट लिएका थिए ।
प्रतियोगितामा सन्दीपले सिङ्गापुरविरुद्ध चार, चीनविरुद्ध तीन, भुटानविरूद्ध तीन, थाइल्यान्डविरुद्ध पाँच, मलेसियाविरुद्ध पाँच र म्यानमारविरुद्ध चार विकेट लिएका थिए ।