साफ च्याम्पियनसिपः नेपालको भेट माल्दिभ्ससँग
काठमाडौँ– बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।
समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छानिएको थियो । अब नेपालले फाइनल प्रवेशका लागि माल्दिभ्ससँग आगामी बुधबार ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा प्रतिपर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा सोही दिन साँझ ७।४५ बजे भारत पाकिस्तानसँग खेल्नेछ ।
समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले भुटानलाई ४–० र बङ्गलादेशलाई २–० ले पराजित गर्दै सेमिफाइलन प्रवेश गरेको हो । नेपालले दुई गोल खाँदा ७ गोल गर्न सफल भइसकेको छ । माल्दिभ्सले श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो भने भारतसँग २–० ले पराजित भएको थियो । जारी प्रतियोगितामा दुई खेल खेलेको माल्दिभ्सले गोल गर्न सकेको छैन भने दुई गोल खाएको छ ।
सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सात पटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेका छन् । नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनल भन्दा माथि पुग्न सकेका छैनन । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेको हो ।
माल्दिभ्सले घरेलु भूमी र श्रीलङ्कामा संयुक्तरुपमा आयोजना गरिएको सन् २००८ को उपाधि जितेको थिया । भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितिकेको छ ।
यूएस ओपनको फाइनलमा नियम तोडेको भन्दै सेरेनालाई १९ लाख जरिवाना
अमेरिकी टेनिस असोसिएशनले सेरेना विलियम्समाथि यूएस ओपनको फाइनलमा नियम तोडेको भन्दै १७ हजार डलर (१९ लाख रुपैयाँ) को जरिवाना तोकेको छ । सेरेना फाइनलमा जापानको नाओमी ओसाकासँग हारेकी थिइन् ।
असोसिएशनले सेरेनालाई तीन मुद्दामा जरिवाना लगाएको छ । यसमा खेलको क्रममा कोचिङ लिएका कारण चार हजार डलर, र्याकेट फ्याँकेकोमा तीन हजार डलर र चेयर अम्पायरसँग दुर्व्यवहार गरेकाले १० हजार डलर जरिवाना तोकिएको छ ।
ओसाकाले खेलको पहिलो सेट निकै सजिलै जितेकी थिइन् । दोस्रो सेटमा सेरेना उत्कृष्ट प्रदर्शनका लागि कोसिस गरिरहिन् । यो क्रममा उनका कोचले टिप्स दिनका लागि केही इशारा गरे । म्याचको क्रममा चेयर अम्पायरले एक गेमको जरिवाना लगाए । कोचको इशारालाई अम्पायरले नियमको उल्लंघन माने । अम्पायर कार्लोस रामोसको निर्णयपछि सेरेनाले रिसमा आफ्नो र्याकेट फ्याँकिदिइन् । त्यसपछि उनलाई चोर भन्दै गाली गरिन् ।
सेरेनाले जरिवाना लगाइनु ठिक नभएको बताएकी थिइन् । उनले भनिन्, ‘उनले बेइमानी गरेका थिएनन् । अम्पायरले उनीमाथि लैंगिक भेदभाव गरे । एक खेलको जरिवाना लगाइनु ठिक होइन । पुरुषको प्रतिस्पर्धामा यदि यस्तै भएको भए अम्पायरले जरिवाना लगाउँदैनथे ।
युएस ओपनः जोकोभिचलाई युएस ओपनको उपाधि
न्यूयोर्क– नोभाक जोकोभिचले जुआँ मार्टिन डेल पोट्रोलाई पराजित गरी युएस ओपन लनटेनिसको उपाधि जितेका छन् । यो जितसँगै जोकोभिचले पिट साम्प्रासको १४ ग्रान्डस्लामको रेकर्ड बराबरी गरेका छन् ।
जोकोभिचले डेल पोट्रोलाई ६–३, ७–६, ६–३ को सोझो सेटमा पराजित गरेका थिए । प्रचण्ड गर्मीका कारण यस वर्षको युएस ओपनमा खेलाडीलाई सकस परेको थियो ।
जोकोभिच यसअघि आठपटक युएस ओपनको फाइनलमा पुगेका थिए । तर उनले सन् २०११ र २०१५ मा गरी दुईपटक मात्र उपाधि जितेका थिए । उनी राफेल नाडालभन्दा तीन वटा ग्रान्डस्लामले पछि छन् भने अर्का महान खेलाडी रोजर फेडररभन्दा ६ वटा ग्रान्डस्लामको कमी छ । फेडररको नाममा हालसम्म २० वटा ग्रान्डस्लाम उपाधि जितेको रेकर्ड छ ।
उपाधि हात पारेसँगै उपस्थित दर्शकलाई सम्बोधन गर्दै पिट साम्प्रासका फ्यान जोकोभिचले भने, ‘म पिट साम्प्रासलाई प्रेम गर्दछु, तपाइँ मेरो आदर्श पुरुष हो ।’
गत वर्ष कुहिनाको चोटका कारण खेल्न नसकेका ३१ वर्षीय सर्बियाली जोकोभिच अहिलेका प्रतिभावान खेलाडी हुन् । –एएफपी
साफ च्याम्पियनसीपः नेपाललाई इतिहास रच्ने अवसर
–कुमार चौलागाई
काठमाडौँ– साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो ।
अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल हुनेछ । पाँचौ पटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ । यसअघि सन् १९९३, सन् १९९९, सन् १९९५, सन् २०११ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।
समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ । नेपालको भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल पुगेको हो ।
नेपालले साफ च्याम्पियनसीपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन । साफ च्याम्पियनसीपमा नेपाल र माल्दिभ्स अहिलेसम्म छ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ ।
साफ च्याम्पियसीपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो । नेपाल बुधबार हुने सेमिफाइनल जित्दै माल्दिभ्सविरुद्धको जितविहीन यात्राको अन्त्य गर्ने लक्ष्यमा हुनेछ । ‘धेरै वर्षपछि हामी सेमिफाइनलमा पुगेका छौँ, अब माल्दिभ्ससँंग खेल्नुपर्नेछ, माल्दिभ्स राम्रो टोली हो, उनीहरूलाई कमजोर मान्नु हुन्न’ आज बिहान ढाकामा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने ।
नेपालले ढाकामा मात्र माल्दिभ्सविरुद्ध चार खेल खेलेको छ । जसमा नेपालले एक जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ । माल्दिभ्सविरुद्ध नेपालका पूर्व स्ट्राइकर हरि खड्काले सर्वाधिक चार गोल गरेका छन् । यस्तै नवयुग श्रेष्ठको नाममा तीन गोल छ ।
नेपालले माल्दिभ्ससँग खेलेको पछिल्लो खेल सन् २०१६ को बङ्गबन्धु गोल्डकप हो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको थियो ।
दोस्रो सेमिफाइलनमा भारत–पाकिस्तान भिड्ने
बुधबारै साँझ हुने दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तान प्रतिष्पर्धा गर्नेछन् । सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सातपटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसीपको उपाधि जितिसकेका छन् ।
नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेका छैनन् । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेका हुन् ।