पोखरा सडक महोत्सवमा विभिन्न प्रतियाेगिता सम्पन्न
पोखरा । रेवान पोखराको आयोजनामा शनिबारदेखि शुरु भएको २६ औँ पोखरा सडक महोत्सवको दोस्रो दिन विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता र सडक संवाद कार्यक्रम भएका छन ।
आइतबार भएको वेटर रेस तर्फ व्यन्जन रेष्टुरेण्टका सुबास सिर्पाली प्रथम, आइरिस पवका विनोद श्रेष्ठ दोस्रो र चिल्ली बारका अविश्यक सेन तेसो भए भने वेट्रेस रेस तर्फ व्यन्जन रेष्टुरेण्टका सिमा मल्ल प्रथम , मोनिका नेपाली दोस्रो र प्याराडिस्कोका पुजा रसाइली तेस्रो भइन । वेटर वेट्रेस तर्फका प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद रु ५ हजार , ३ हजार , २ हजार सहित प्रमाण पत्र प्राप्त गरे । विजेतालाई रेवानका अध्यक्ष विश्वराज पौडेल र होटल एशोसिएसन गण्डकीका अध्यक्ष लक्ष्मण सुवेदीले पुरस्कार प्रदान गरे । खहरेस्थित चिल्लीबार रेष्टुरेण्ट अगाडीबाट शुरु भएको दौडमा सहभागिहरुले ट्रे मा पानीको बोत्तल र ग्लासमा पेय पदार्थ लिएर दौडिएका थिए ।
मःम खाने प्रतियोगितामा पुरुष तर्फ सम्राट सुवेदी प्रथम र धन बहादुर वुढाथोकी दोस्रो भए भने महिला तर्फ सरला अधिकारी प्रथम र भिमा क्षेत्री दोस्रो भए ।
त्यस्तै सडक महोत्सव मै पहिलो पटक सेफ प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए । सेफ प्रतियोगिता तर्फ ३६० स्काइ लजका राजु नेपाली प्रथम , चिल्ली बारका जितु मगर द्वितिय र मेड५ रेष्टुरेण्टका शंकर मगर तृतीय भएका छन् ।
यस्तै जारी महोत्सवमा पोखरा भ्रमण वर्ष २०२५ चुनौती र अवसर शिर्षकमा सडक संवाद कार्यक्रम सम्पन्न भएको छ । जस्को मुख्य वक्ताको रुपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य , वक्ताका रुपमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपक राज जोशी, पाटा नेपाल च्यप्टर अध्यक्ष खेम लकै , पोखरा पर्यटन परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे र पर्यटन उद्यमी शिव ढकाल रहेका थिए । अम्मटमा भोलि पनि पर्यटन प्रवद्वनका लागि खाना, संस्कृति र साहसिक खेल शिर्षकमा सडक संवाद कार्यक्रम हुने सडक संवाद कार्यक्रम संयोजक बसन्त गौतमले जानकारी दिनु भयो ।
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराले बर्सेनि फेवाताल किनारमा पोखरा सडक महोत्सव आयोजना गरेर आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउँदै आएको छ । अंग्रेजी नयाँ वर्ष–२०२५ स्वागतार्थ २६ औं पोखरा सडक महोत्सव पुष २७ गते सम्म चल्नेछ ।
स्थानिय तह, संरक्षण क्षेत्र र सरोकारवाला निकायहरूसंग अन्तरक्रीया
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानिय तह ,संरक्षण क्षेत्र र सरोकारवाला निकायहरू संग समन्वय र सहकार्यका बिषयमा अन्तरक्रीया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले संरक्षण क्षेत्र र स्थानीय तहबिच प्रभाबकारी समन्वय स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो। पौडेलले क्षेत्राधिकार लगायत अन्य सरोकारका बिषयमा देखिएको अन्यौलता निराकरण गर्न कार्यक्रम फलदायी भएको बताउनुभयो । नेपाल सरकार ,प्रदेश सरकार , स्थानिय तह र संरक्षण क्षेत्रको प्रभाबकारी र नतिजामुखी परिणाममा कार्यक्रम फलदायी भएको उल्लेख गर्नुभयो । नियम र कानुन कडाइका साथ कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै प्रमुख पौडेलले नियम उल्लंघन गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गर्नुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संरक्षणका सबालमा सबै पक्ष गम्भीर हुनुपर्ने उल्लेख गर्दै निरन्तर सहयोग र सहकार्यमा जोड दिनुभयो । संरक्षण क्षेत्रमा हुने कुनै पनि कानुन बिपरितका काम हुन नदिन स्थानीय सहित सरोकारवालाहरू सजगताका साथ लागी पर्नुपर्ने भन्दै प्र जि अ पाण्डेले आगलागी र अन्य मानव सृजित बिपत्ती नियन्त्रणमा जोड दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका बन संरक्षण अधिकृत बाबुलाल तिरूवाले संरक्षण क्षेत्रको बर्तमान अबस्था र स्थानीय तह संगको समन्वय र सहकार्यका बिसयमा अबधारणा पत्र पेश गर्नु भएको थियो। कार्यक्रममा कास्कीका पालिका प्रमुख सहित बन कार्यालय र सम्बन्धित सरोकारवाला कार्यालय प्रमुखको उपस्थिति रहेको थियो।। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप- प्रमुख सरिता माल र संचालन शाखा अधिकृत झबिश्वर रेग्मीले गर्नुभएको थियो।
सम्मानपूर्वक बाँच्न पाउनुपर्ने अधिकारबाट वञ्चित हुनु परेको ज्येष्ठ नागरिककाे गुनासो
पाेखरा । सम्मानपूर्वक बाँच्न पाउनुपर्ने अधिकारबाट वञ्चित हुनु परेको ज्येष्ठ नागरिकले गुनासो गरेका छन । बिहीबार जेष्ठ नागरिक दिवसको अबसरमा पाेखरामा आयोजना गरिएको जेष्ठ नागरिककाे लागि कानुनी संरक्षण विषयक कास्की जिल्ला स्तरीय अनुशिक्षण कार्यक्रमका सहभागीले नागरिकको मौलिक अधिकारअन्तर्गतको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका साथै आरक्षणका नाममा उपलब्ध सेवा सुविधाबाट आफूहरू वञ्चित भएको गुनासो गरेका हुन् ।
कार्यक्रममा बाेल्दै पाेखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले जेष्ठ नागरिकका सवालमा काम गर्न वडा कार्यलय सधैं प्रतिवद्ध रहेको बताउनुभयो ।
जेष्ठ नागरिक संघ कास्कीका अध्यक्ष केशव ढकालले यातायात साधनमा परिचयपत्र देखाउँदा वेवास्ता गरिने र छुटको कुरा गर्दा दुर्व्यवहार समेत व्यहोर्नु परेको बताउनुभयाे । सार्वजनिक यातायात साधनमा ज्येष्ठ नागरिक छुट र सुविधा दिने कार्यविधि २०७० को दफा ३ को १ मा ६० वर्ष उमेर पार गरेका व्यक्तिलाई परिचयपत्रका आधारमा आरक्षण तथा छुट दिइने व्यवस्था उल्लेख छ । जसमा एक सवारी साधनमा बढीमा दुई जनालाई उक्त सुविधा दिइने व्यवस्था छ तर, उक्त व्यवस्था अनुसार सार्वजनिक यातायातका साधनमा सुविधा नपाएको उहाँले बताउनुभयाे ।
जेष्ठ नागरिक संघ पाेखरा महानगरका अध्यक्ष भुपेन्द्र गिरीले ज्येष्ठ नागरिक भएकै कारण आफूहरूले राज्यबाट निर्धारण गरिएको संविधानमा उल्लेखित मौलिक अधिकारबाट वञ्चित हुनुपरेको बताउनुभयाे । उहाँले जेष्ठ नागरिकहरू दुर्व्यवहार, डिप्रेसन, निराशाजन जीवन, घृणा तथा अवहेलनाको सिकार भएको गुनासो पोख्नुभयाे ।
जेष्ठ नागरिककाे लागि कानुनी संरक्षण विषयक कार्यक्रमकाे सहजिकरण गर्दै अधिबक्ता सरिता तिम्सिना पगेनीले जेष्ठ नागरिकका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, संघसंस्था तथा तीनै तहका सरकारहरूबीच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामुहिक प्रयास गर्नु पर्नेमा जाेड दिनुभयाे ।
उहाँले नेपालको संविधानकोे धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ । हाल राज्यले ज्येष्ठ नागरिकलाई मासिक ४ हजार भत्ता दिएको जानकारी गराउनुभयाे ।
जेष्ठ नागरिक संघ पाेखरा महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष टाेपराज ढुङ्गानाले कागजमा सीमित अधिकारलाइ कार्यान्वयनमा ल्याउन सबै सरोकारवालाले चासो दिनुपर्ने बताउनुभयाे।
पाेखरा बृद्धाश्रम सीतापाईलाकाे आयोजना , जेष्ठ नागरिक संघ गण्डकी र जेष्ठ नागरिक संघ कास्कीको सह आयोजना एवम् सामाजिक बिकास कार्यलय कास्कीले समन्वयमा कार्यक्रम गरिएको हाे ।
पाेखरा बृद्धाश्रम सीतापाईलाका उपाध्यक्षा भिम प्रसाद सुवेदीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन जेष्ठ नागरिक संघ गण्डकीका सचिव ईच्छा बहादुर वाग्लेले गर्नुभएको थियाे।
पोखरा १५ मा माघ २ गतेदेखि ‘बृहत् खेलकुद महोत्सव’
पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने भएको छ । वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो ।
माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुने खेल महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारीले जानकारी दिए ।
‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ ।
वडा अध्यक्ष तोरणबहादुर बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा स्थानीय तहमा खेलकुदको माध्यमवाट समुदायको सर्वांङ्गिण विकास गर्न केन्द्रित रहेको बताए ।
‘खेलकुद मनोरञ्जन वा प्रतिस्पर्धा मात्र नभई शारीरिक र मानसिक स्वास्थ्य सुधार, सामाजिक रूपान्तरण र समावेशीकरणको प्रभावकारी माध्यम हो ।’ वडाध्यक्ष बानियाँले भने– ‘यो महोत्सवले स्थानीय स्तरमा खेलकुदको महत्वलाई स्थापित गर्न तथा समुदायमा सकारात्मक सोच र अनुशासनको विकास गर्न योगदान पु¥याउने ठानेका छौँ ।
स्थानीय युवाहरूलाई सकारात्मक क्रियाकलापमा सक्रिय गराउनुका साथै उनीहरूको प्रतिभा पहिचान र विकास गर्दै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको निर्माण गर्ने यसको मुख्य उद्देश्य रहेको बानियाँले बताए । विभिन्न समुदायबीच आपसी सद्भाव, सहयोग र सहिष्णुतालाई प्रवद्र्धन गर्दै समावेशी समाजको निर्माणमा महत्वपूर्ण योगदान दिने लक्ष्य पनि लिइएको छ ।
खेल संयोजक आशिष भण्डारीले स्थानीय प्रतिभाहरूको पहिचान गरी तिनीहरूको क्षमता विकास गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन विगत तीन वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
‘अघिल्ला वर्षहरुमा पाएको सफलता र थप अनुभवले यस संस्करणमा खेलकुदको विधा थप्दै पुरस्कार राशीमा पनि वृद्धि गरेका छौँ ।’ उनले भने – ‘करिब दुई हजार खेलाडी विभिन्न खेलमा प्रतिष्पर्धा गर्नेछन् । यो खेलकुदको महोत्सव नै हो ।’
फुटबलतर्फ पुरुष विधामा विजेताले ४० हजार तथा उपविजेताले ३३ हजार ४ सय, विद्यालय स्तरीय छात्र फुटबलतर्फ विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार प्राप्त गर्नेछन् । यस्तै, भलिबल तर्फ पुरुष र महिला दुवैतर्फका विजेताले २६ हजार ७ सय, उपविजेताले २० हजार, विद्यालयस्तरीय युनी हक्की छात्र छात्रा दुवै तर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रो हुनेले ६ हजार पाउनेछ ।
विद्यालयस्तरीय छात्र साइक्लिङतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, तेस्रो हुनेले ४ हजार र सान्त्वना हुने २ जनाले २ हजार प्राप्त गर्नेछन् । सडक दौड पुरुष, महिला, छात्र र छात्रा सबै चार वटै विधातर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ६ हजार र सान्त्वना हुने २ जनाले ५ हजार नगद पुरस्कार पाउनेछन् ।
ब्याडमिन्ट डबल महिला र पुरुषतर्फ प्रथम हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार, सिंगलतर्फ महिला र पुरुष दुवै विधामा प्रथम हुनेले ५ हजार र दोस्रो हुनेले ४ हजार पाउनेछ । महिला रस्साकसीमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनेले ६ हजार पाउनेछन् । ह्विलचेयर बास्केटबलमा विजेताले १० हजार र उपविजेताले ८ हजार तथा ह्वीलचेयर दौडमा प्रथम हुनेले ६ हजार ७ सय, दोस्रो हुनेले ५ हजार ५ सय, तेस्रो हुनेले ४ हजार र सान्त्वना २ जनाले २ हजार ७ सय पाउने आयोजकले जनाएको छ ।
विभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने खेल संयोजक भण्डारीले जानकारी दिए ।
नेपाली यू १९ महिला राष्ट्रिय क्रिकेट टीमकी सदस्य सिद्ध माविमा कक्षा ११ मा अध्ययनरत रचना चौधरीलाई ३४ हजार नगद पुरस्कारसहित सम्मान, खेलाडी प्रोत्साहन अन्तर्गत खेल्छ गण्डकीमा ग्रासरूट टेनिस खेलमा वडाको अमिनतराबाट छनौट भई निरन्तर प्रशिक्षणमा रहेका १० जना खेलाडीहरूलाई प्रोत्साहन स्वरूप पौष्टिक सामाग्री वितरण गरिएको छ ।
हिमालयन लाईफ नेपाल र राइट फर चिल्ड्रेनको थप आर्थिक तथा प्राविधिक सहयोग पनि खेलकुद महोत्सवमा मिलेको वडाले जनाएको छ । पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य तथा वडा सदस्य मन्दिरा गौतम, वडा सदस्य बलराम पौडेल, वडा सदस्य सेतीमाया गुरुङको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन वडा सचिव युवराज पौडेलले गरेका थिए ।