पोखरामा ह्योल्मो भाषाको प्रशिक्षण सुरु

पोखरा। नेपाल ह्योल्मो समाज सेवा समिति, पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा शुभारम्भ भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा सञ्चालन भएको प्रशिक्षणमा कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका व्यक्तिहरूको सहभागी रहेको छ । भाषा प्रशिक्षण कक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले नेपाल बहुभाषिक, बहु जातीय मुलुक भएको उल्लेख गर्दै मुलुकको विविधतालाई बचाउन विभिन्न समुदायमा सदियौँ देखि प्रचलनमा रहिआएका भेसभुसा, कला, संस्कृति तथा भाषा जस्ता महत्त्वपूर्ण पक्षहरूको संरक्षण तथा संवर्धन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमका विशेष अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश भित्र १०६ वटा भाषाहरू प्रचलनमा रहेको उल्लेख गर्दै सबै भाषाहरूलाई जोगाउँदै गण्डकी प्रदेशलाई भाषा तथा सांस्कृतिक रूपमा उदाहरणीय बनाउन प्रज्ञा प्रतिष्ठान सक्रिय रहेको जानकारी दिए। कार्यक्रममा खेन्पो फुन्छोग लामा, भाषा प्रशिक्षक मिङ्मार ह्योल्मो, पोखरा ह्योल्मो गुम्बा समितिका अध्यक्ष सुमित्रा ह्योल्मो लगायतले ह्योल्मो भाषा पुरानो तथा उत्कृष्ट रहेको र लवज एवं व्याकरण समेत उत्कृष्ट रहेकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिए । नेपाल ह्योल्मो समाज सेवा समिति पोखराका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर ह्योल्मोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत ह्योल्मो आमा समूह कास्कीका अध्यक्ष रिता ह्योल्मोले गर्नुभएको थियो भने सञ्चालन पूर्ण ह्योल्मोले गर्नुभएको थियो ।  

किष्णप्रसाद भट्टराई (किसुनजी)को जन्मजयन्तीको अवसरमा पोखरामा  विचार गोष्ठी

पोखरा ।  नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री सन्त नेता किष्णप्रसाद भट्टराई (किसुनजी)को १०१ औं जन्मजयन्तीको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजनामा भएको गोष्ठी पूर्व मन्त्री दिपकुमार उपाध्यायले पानसमा बत्ति वालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री उपाध्यायले किसुनजीको जीवनीको वारेमा व्याख्या गरेका थिए । आध्यात्मिक व्यक्ति समेत रहेका किसुन जीमा स्वार्थको भाव नरहेको र आफू हारेर पनि पार्टी र देशको फाइदाको लागि सधै लडेको जानकारी गराएका थिए । राजनीतिमा हार र जीतले कुनै प्रभाव नपार्ने बताउँदै जीत र हार भन्दा माथी आफूलाई राख्नुपर्ने कथ्य सिकाएको बताए । अहिलेको राजनीति अनैतिकता छलछाम, स्वार्थमा वगेको देखिएको बताउदै डन र धनको संस्कृति मौलाएर गम्भिर रोगको शिकार बन्न पुगेको छ । उनले भने, ‘अब रोगलाग्यो यसलाई सर्जरी नै गर्नुपर्ने अवस्था आएको छ, अरुलाई दोष दिने होइन सत्यको खोजी गरेर असत्यलाई चिर्ने प्रयास गरिएन भने पार्टी खतराको अवस्थामा आइपुगेको छ ।’ पूर्वमन्त्री उपाध्यायले भने, ‘किसुन जी भन्नुहुन्थ्यो सत्ता प्राप्ती मेरो रुची होइन मोक्ष नै मेरो लक्ष्य हो, चरित्रमा इमान्दारिता भयो भने सबै झुक्नुपर्छ । किसुनजीले अबसर आएपछि अन्तरिम संविधान र निर्वाचन समयमानै काम गरेर साहस देखाउनुभएको, आर्थिक पारदर्शिता देखाउनुभएको, भाषणमा नभई व्यवहारमा देखाएका कामहरुले उहाँलाई सदा अमर राखेको छ ।’ त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले किसुनजी लगायतका नेताहरुको त्याग तपस्याका उहाँहरु आजपनि आदर्श पुरुष कहलिएको बताए । सभापति शर्माले राज्यको जिम्ेवारी पदमा हुदा वा नहुँदा पनि आफुलाई नचुकाएको आदर्श पुरुष रहेको बताउँदै वीपीलाई समेत किसुनजीले आफूलाई लागेको कुरा राखेर आफूतर्फ आकर्षण गराएका तथ्यहरु रहेको जानकारी गराए । उनले सत्य र निष्ठाको राजनीति गरेमा कहिल्यैपनि शीर झुकाउनु नपर्ने र पार्टी र संगठन बलियो हुने बताए । सभापति शर्माले ‘प्रजातन्त्र विना जनता र राज्यको जीवन स्तर सकरात्मक परिवर्तन असम्भव भएको बताउँदै प्रजातन्त्रमा जनता मालिक, कार्यकर्ता पार्षद र नेताहरु सेवक हुन्छन् । आज ठीक उल्टो भएको छ ।’ सबै विरासत छोडेर म नै सर्वव्यापी हो भनेर आउँदा आज पार्टी र देशको अवस्था नाजुक बन्न पुगेको उल्लेख गरेका थिए । किसुनजी लगायतको अग्रज नेताहरुको योगदान कार्यक्रममा होइन व्यवहारमा उतार्ने बेला आएको बताउँदै शर्माले जनता र राज्यको हितमा काम गरे पहिलाको विरासत पुन स्थापित हुने जानकारी गराएका थिए । प्रजातन्त्र स्थापनाका लागि कृष्णप्रसाद भट्टराईले १८ वर्ष जेल जीवन बिताएको र सदैब नेपाली जनताको जीवनस्तर उकास्न चिन्तित रहने गरेको बताए । किसुनजी जस्तो नेता संसारमा बिरलै मात्र पाउन सकिन्छ भन्दै गिरिजाबाबु, गणेशमान, सुबर्ण शमशेर सहित नेताहरुलाई मिलाएर कांग्रेसलाइ बलियो बनाउन किसुनजीको योगदान महत्वपुर्ण रहेको सभापति शर्माले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले गण्डकी प्रदेशले गरेको गोष्ठीले किसुनजीको जीवनीलाई कार्यकर्ता माझ पुर्याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका थिए । भट्टराईले कांग्रेस भित्रबाट गिरिजाबाबु र किसुनजीको बिचमा द्वन्द बढाउन खोज्ने केहि नेताहरु समेत रहेको बताउंदै आँफु किसुनजीको प्रेरणाबाट राजनीतिमा सक्रिय बनेको समेत स्पष्ट पारे। उनले घर परिवारको माया मोह र सबै दवाब र प्रभावबाट मुक्त भएर देश र जनताको लागि सदैब क्रियाशील रहने प्रेरणा किसुनजी बाट नै मिल्ने भएकोले कांग्रेसजनले किसुनजीको इतिहास पढ्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्वमन्त्री यज्ञबहादुर थापाले किसुनजीले सिकाएको निष्ठा र त्याग सदा अमर रहने बताउँदै काँग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुपर्छ भनेर सदैब लागिपर्ने नेताको रुपमा किसुनजी रहेको स्पष्ट पारे । नेपाली कांग्रेस कास्कीका अध्यक्ष किशोरदत्त बरालले पार्टीलाई उत्पादन जोड्नुपर्ने जानकारी गराएका थिए भने प्राडा कुशुमाकर न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको गोष्ठी सहमहामन्त्री कोपिला रानाभाटले स्वागत र प्रवक्ता माधव बास्तोला (मधु)ले धन्यबाद व्यक्त गरेको गण्डकी प्रदेश सदस्य एव प्रचार विभाग उपप्रमुख शिरोमणी बरालले जानकारी दिए।

भूपी काव्य पुरस्कार असफल गौतमलाई

    पोखरा । थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक असफल गौतमलाई प्रदान गरिने भएको छ ।   नेपाली साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने स्रष्टालाई हरेक दुई वर्षमा अर्पण गरिदै आएको पुरस्कारको राशि ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ ।   नेपाली साहित्यका क्षेत्रमा भूपीको योगदानलाई चिरस्थायी बनाउन समीक्षा र समालोचनाका माध्यमबाट व्यक्तिगत तथा संस्थागत हिसाबले कलम चलाएर पु¥याएको योगदानको उच्च कदर गर्दै यो वर्ष असफललाई सम्मान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक ई. रुजिन्द्र तुलाचनले जानकारी दिए ।   पुतलीबजार–७, स्याङ्जामा जन्मेका असफल गौतमका ‘सबैका सारथि संगी’ (जीवनी–२०७७), ‘मानवअधिकार गीत’ (२०७४), ‘सत्तलमा सिर्जना’ (गजलसङग्रह–२०७१), ‘हाइकुः आलेख र अभिलेख’ (इतिहास–२०७०), ‘नेपालका भाट जातिको अध्ययन’ (इतिहास–२०६९), ‘दुर्गाबहादुर शाह बाबाः व्यक्तित्व र कृतित्व’ (समालोचना–२०६९), ‘बिस्कुन’ (समालोचना–२०६८), ‘सिलोक बन्दै छन्’ (मुक्तकसङ्ग्रह–२०६७), ‘समसामयिक तीजे गीतसङ्ग्रह’ (२०६७), ‘सङ्घर्षका पाइलाहरू’ (सामाजिक उपन्यास–२०६६), ‘पीपलपाते ओठ’ (लोकदोहोरी एल्बम–२०६१) र ‘चट्टै कम्मरमा’ (लोकदोहोरी एल्बम–२०६०) प्रकाशित छन् ।   नेपाली साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर गरी झण्डै चार दर्जन पुस्तक सम्पादन गरिसकेका उनका राष्ट्रिय–स्थानीय पत्रपत्रिकामा पाँचसय बढी समालोचनात्मक, अनुसन्धानात्मक र फुटकर रचना प्रकाशित छन ।   असफल रूना साहित्य पुरस्कार, सङ्घर्षशील सामाजिक पुरस्कार, अन्तर्राष्ट्रिय स्रष्टा साहित्य चौतारी पुरस्कार, ज्योतिष भविष्यवाणी पत्रकारिता पुरस्कार, राष्ट्रिय लेख प्रतियोगिता प्रथम पुरस्कार, खुला गजल प्रतियोगिता द्वितीय पुरस्कार, राष्ट्रिय निबन्ध प्रतियोगितामा उत्कृष्ट पुरस्कार, उत्कृष्ट मुक्तककार पुरस्कारबाट पुरस्कृत हुनुका साथै झण्डै तीन दर्जन संघसंस्थाबाट विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन् ।   स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका निवर्तमान अध्यक्ष उनी सङ्घर्षमा कलम साहित्य समाजका संस्थापक अध्यक्ष हुन् । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनका पूर्व अध्यक्ष उनीसँग आदर्श समाज राष्ट्रिय दैनिकमा ग्राफिक डिजाइनर, रिपोर्टर तथा डेस्क सम्पादक भई काम गरेको अनुभवसमेत छ ।   उनी मानवअधिकार पत्रकार सङ्घ गण्डकीका अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव, डागर स्मृति प्रतिष्ठान नेपालका सचिव, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका कोषाध्यक्ष रहेका छन् ।   स्मरण रहोस्, आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कारबाट विभिन्न संघसंस्थामा अक्षयकोष स्थापना गरी शिक्षा, साहित्य र समाजसेवाका क्षेत्रमा सेवा गर्दै आएका असफल ऋषिराम स्मृति कोष, अभिभावक स्मृति कोष र गौरीमाया स्मृति छात्रवृत्ति कोषका संस्थापकसमेत हुन् ।   विस १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपीका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रह (२०२५), ‘परिर्वतन’ (नाटक, २०१०), ‘नयाँ झयाउरे’ (कविता, २०१०) र ‘निर्झर’ (कविता, २०१५) प्रकाशित छन् । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रहलाई नेपाली कविताको विशिष्ट कृति मानिन्छ । उक्त कृतिले २०२६ सालको साझा पुरस्कारसमेत प्राप्त गर्न सफल भएको थियो ।   भूपी शेरचनको ९१ औं जयन्ती समारोहबीच यही १० पुसमा पोखरामा भव्य समारोह आयोजना गरी असफललाई पुरस्कार अर्पण गरिने थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचनले जानकारी दिए ।   भूपी शेरचनको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित उक्त पुरस्कारबाट यस अगाडि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा, तीर्थ श्रेष्ठ र उषा शेरचन पुरस्कृत भइसकेका छन् ।  

पुष २५ देखि माघ ७ गते सम्म हुने पोखरा महोत्सवको तयारी तीब्र

  पोखरा । तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ ।  पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीब्र पारिएको जनाएको हो । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाईटेड क्लबले तेह्रौं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड छात्राबास निर्माणको लागि अगाडी बढ्ने भएको छ । युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा गरिब तथा आर्थिक विपन्न परिवारका वालवालिकालाई लक्षित गरी युनाईटेड छात्राबास निर्माणका लागि हालै शिलान्यास कार्यक्रम सम्पन्न भइसकेको र डिपीयार अनुरुप निर्माण कार्य अगाडी बढेको महोत्सव प्रचार प्रसार संयोजक तथा युनाईटेड क्लबका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारका अनुसार उक्त छात्राबासलाई क्लबले निकट भविष्यमा विद्यालयको रुपमा सञ्चालन गर्ने लक्ष्य रहेको छ । शिक्षा संगै स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रलाई समेत निरन्तरता भने रहने उनले बताए । १३ औं संस्करण सम्म आइपुग्दा युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी शिक्षा क्षेत्रमा पोखरा र आसपासका रहेका विभिन्न सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति अक्षयकोष स्थापना गरी शैक्षिक सामाग्रीहरु वितरण गरिसकेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा विभिन्न ग्रामीण बस्तीमा लक्षित गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको र खेलकुदको क्षेत्रमा क्लब आफैले खेलकुद प्रतियोगिता आयोजना गर्दै विभिन्न खेलकुद प्रतियोगितामा प्रायोजन, सहयोगी संस्था, प्रर्वद्धक एवं सहभागीता जनाउदै आइरहेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखानाको अवधारणा लिई पोखरा महानगरपालीकाको पचभैया क्षेत्रमा पर्ने सामुदायिक बनहरुलाई समेटेर चिडियाखाना निर्माणको पहल गरेको र हाल उक्त काम गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको ओजनामा समावेश भइ काम भइरहेको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए । युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा महोत्सवका कार्यसम्पादन उप समिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणमा समेत काम गर्ने उद्देश्यले अगाडी वढिरहेको र त्यसका लागि पोखरा महानगरसंग सहकार्य गरेर अगाडी बढ्ने वताए । क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले युनाईटेड क्लब र अमरसिंह माविको सहकार्यमा पोखरा महोत्सव १३ औं संस्करण सम्म आइपुगेको बताए । महोत्सव बाहेक युनाईटेड क्लबले नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरी त्यसबाट बचत भएको रकमबाट विपद व्यवस्थापन कोष स्थापना गरी विपदका घटनाबाट प्रभावितहरुलाई सहयोग गर्दै आएको क्वलले जनाएको छ । महोत्सवकै माध्यामबाट सेती नदी खोचलाई शाहसिक पर्यटकीय गन्तब्य स्थल बनाउन समेत सम्बन्धित निकाय समक्ष पहलकदमी गर्दै आइरहेको छ । १२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २५० स्टल रहने र महोत्सवको सम्पूर्ण स्टलहरु पूर्ण रुपमा बुकिङ भइसकेको महोत्सव प्रचार प्रसार संयोजक सुनारले बताए । महोत्सवमा २ लाख ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकले जनाएको छ । त्यसैगरी महोत्सबबाट १ करोड ५१ लाख ७५ हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खर्च भइ २८ लाख १५ हजार बचत गर्ने लक्ष्य आयोजकले राखेको छ । पोखरा महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, ज्योती मगर, प्रकाश दुतराज, रचना रिमाल, शान्ति श्री परियार, श्याम राना, अस्मिता अधिकारी, राजु परियार, सम्झना लामिछाने मगर, शान्तिरानी परियार, जीवन दाहाल, चोलेन्द्र पौडेल लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छभने लाईभ कन्सर्ट तर्फ भीटेन, लाहुरे, उर्गेन, फिरन्ते, रकहेड्स, पूर्ण राई एण्ड दाजुभाई, जेमसी संगै स्थानिय ब्याण्डहरुको प्रस्तुती रहने क्लवका वरिष्ठ उपाध्यक्ष तथा कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी हांस्य ब्यङ्ग्य तर्फ म्याकुरी, दीपक थापा, पोखरेली धुर्मुस र माग्ने बुढाको प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन । तेह्रौँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, सह प्रायोजकमा बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड रहेको छभने प्रायोजकहरुमा पोखरा सेकुवा घर अमरसिंह चोक, साकुरा डिजाइनर्स एण्ड विल्डर्स प्रालि, स्टारसिड टेक्नोलोजिस प्रालिको बिक्रेता जेपी इलेक्ट्रिकल्स प्रालि र बिवस इलेक्ट्रिकल्स पोखरा १० बुद्धचोक, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, हस्पिटालिटि पार्टनरमा होटल टास्क इन्टरनेश्नल प्रालि अमरसिंहचोक, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैक, अफिसियल इन्स्योरेन्स नेपाल लाइफ इन्स्योरेन्स, ड्रिङकीङ वाटरमा सोल्टी वाटर, पेमेन्ट पार्टनरमा रेभल, अफिसियल एयरलायन्समा यति एयरलायन्स, सहयोगी संस्थाहरुमा अमरसिंह मावि, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, अमरसिंह महिला समुह रहेका छनभने प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको छभने अझै प्रायोजकहरु आउने क्रम जारी रहेको युनाईटेड क्लबका अध्यक्ष तथा महोत्सव मुल समारोह संयोजक लोक बहादुर थापाले बताए । महोत्सवमा फरक क्षमता भएका, बृद्धबृद्धा (बृद्धभत्ता कार्ड) एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका वालवालिकाहरुलाई निशुलक प्रवेश गराइने छ । महोत्सवमा पर्यटकीय स्थलको जानकारी दिने स्टललाई निशुल्क प्रदान गरिने छ । युनाईटेड क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले बोलेका थिए ।