नियात्रा समाज नेपालको केन्द्रीय सदस्यमा पुर्जा

पोखरा । नियात्रा समाज नेपालको केन्द्रीय सदस्यमा नियात्राकार तिलक प्रसाद पुन ‘पुर्जा’ चयन भएका छन् । समाजको रिक्त केन्द्रीय सदस्य पदमा पोखराका नियात्राकार पुर्जालाई चयन गरिएको हो ।

भदौ तेस्रो साता काठमाण्डौंमा बसेको संस्थाको केन्द्रीय समिति बैठकले उनलाई मनोनित गरेको जनाइएको छ । उनका पाँचवटा पुस्तकहरु प्रकाशित छन । जसमध्ये वस्तिभित्र र साइनो नामका पुस्तकहरु नियात्रा संग्रहहरु हुन् भने लोकलहरी (संयुक्त सम्पादन), लोक संस्कृतिका सुसेलीहरु तथा नेपाली सुरकर्मी र सिर्जना उनका प्रकाशित पुस्तक हुन् । उनी तीन दशकदेखि पोखरामा रहेर रिपोर्टिग र स्तम्भलेखन मार्फत पत्रकारितामा पनि सक्रिय छन् । कलासंस्कृति, साहित्य, इतिहास, समाजशास्त्र, पर्यटन, जैविक विविधता, वातावरण, भ्रमण, फोटोग्राफी र समाजसेवामा रुचि राख्ने उनका सिर्जनामा ग्रामिण जनजीवनको चित्रण पाइने गरेको छ ।

उनले पछिल्लो समय नियात्रा विधा साहित्यको लोकप्रिय विधाका रुपमा स्थापित हुँदै गएको बताए । नेपालीहरुमा घुम्ने संस्कृति विकसित हुँदै गएको भन्दै घुमेर आएपछि आफूले अनुभूत गरेको कुरालाई अभिव्यक्त गर्न पनि नियात्रा साहित्य महत्वपूर्ण माध्यम बनिरहेको उनको भनाइ छ ।

नेपालका लोकप्रिय साहित्यकारहरुले विस २०७२ सालमा नियात्रा समाज नेपालको स्थापना गरेका हुन् ।

गण्डकी प्रदेशमा सातौं र आठौं तहका कर्मचारीका लागि सेवाकालीन तालिम 

  गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूकालागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ। कार्यक्रमको उद्घाटन गदै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज  अधिकारीले तालिमको उचित सदुपयोग गरि कार्यसम्पादनमा सुधार ल्याउन सहभागीहरुलाई उत्प्रेरित गर्दै कानुन कार्यान्वयनमा कर्मचारीको भूमिका मुख्य रहने बताउनुभयाे । असल व्यवस्थापक बनेर सेवा प्रवाह गर्न यसप्रकारका तालीमहरु फलदायी हुने उहाँकाे भनाइ थियाे । प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव नारायणप्रसाद पौडेलले स्वागत र प्रशिक्षण तथा अनुसन्धान अधिकृत मनोज पौडेलले संचालन गर्नु भएकाे थियाे । तालिम तालिमको उद्देश्य     सार्वजनिक निकायहरूको सेवा प्रवाहको गुणस्तरमा सुधार ल्याउनु र प्रशिक्षार्थीहरूको कार्यसम्पादन क्षमतामा अभिवृद्धि गर्नु रहेको छ । ३० दिनसम्म सञ्चालन हुने यस तालिममा विभिन्न विषयवस्तुमा १२० सत्रहरू सञ्चालन हुनेछन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा आप्रवासी सहायता स्रोत केन्द्र सेवा शुभारम्भ 

पोखरा । पोखरा महानगरपालिकाद्धारा निर्मित आप्रवासी सहायता स्रोत केन्द्र (सहायता कक्ष) को नगर प्रमुख धनराज आचार्यले सेवा शुभारम्भ गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्की परिसरमा निर्माण गरिएको उक्त केन्द्रको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको उपस्थितिमा नगर प्रमुख आचार्यले सेवा शुभारम्भ गर्नुभएको हो ।
सो अवसरमा आचार्यले राहदानी बनाउन जाने व्यक्तिहरूलाई विदेश जानु पूर्व दिइने आवश्यक परामर्श सेवाका लागि एक व्यवस्थित सहायता कक्ष निर्माण भएको बताउनुभयो । केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेहरूलाई आवश्यक परामर्श र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको परिवारका लागि वित्तीय साक्षरता समेतका सवालमा परामर्श सेवा दिइने उहाँले बताउनुभयो ।
सहायता कक्ष राहदानी शाखाको नजिकै निर्माण गरिएकाले त्यसको प्रयोजन, आवश्यकता र औचित्यका सन्दर्भमा समेत काउन्सिलिङ गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । सेवाग्राहीहरूको सुविधाका लागि संरचना निर्माणमा पोखरा महानगरपालिकाले गरेको सहयोग प्रति उहाँले आभार समेत व्यक्त गर्नुभयो ।
सेवाग्राहीहरूले विश्राम गर्ने फल्चा सहित सहायता कक्ष निर्माणमा पोखरा महानगरपालिकाले १६ लाख रुपैयाँ खर्च गरेको छ । नागरिकहरूको सेवाका लागि सहज हुने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका रोजगार संयोजक विष्णु प्रसाद दाहाल र सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला संयोजक आदिमध्वज श्रेष्ठले महानगरपालिकाको तर्फबाट श्रम तथा रोजगारको क्षेत्रमा समन्वय गरिरहनु भएको छ ।

महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम