आशिष थापा
पुलवामा ४० भारतीय सैनिक जवानको ज्यान जाने गरि भएको आत्माघाती हमला पछि , प्रतिशोध स्वरूप भारतले गर्न लागेको हवाई हमला भन्दा केहि दिन अगाडीको कुरा हो, घरमा टि.भी.को च्यानल परिवर्तन गर्ने त्रममा एउटा फिल्म मा मेरो नजर अड्कियो, त्यो थियो ‛बोडऱ्र’, ९० को दशकमा चर्चित रहेको यो भारतीय फिल्म विशेषत भारत–पाकिस्तान बीच १९७१ मा भएको लोंघेवाला युद्ध मा आधारित थियो। फिल्म का पात्र काल्पनिक कलाकार भए पनि यथार्थ घटनामा आधारित भएर निर्माण भएको कारण त्यो समयको चर्चित फिल्म थियो। उक्त फिल्मको परख्यात गीत , ‛संदेशे आते हें, हमे तड्पाते हे’…. ,भन्ने गीत आज पनि भारतको सैनिक क्याम्प भित्र हुने विभिन्न पार्टीको नाचगानमा गुन्जिने गर्छ । जब जब देश मा युद्धको माहोल हुन्छ तब तब बिभिन्न संचार माध्यम प्रयोग गरेर रचनात्मक ढंगले युद्धलाई समर्थन गर्ने भारतीय संचार माध्यमको पुरानो कला हो। युद्धको औपचारिक सुरुवात नभए पनि भारतीय संचार माध्यमले त्यसको पहिले नै सुरुवात गर्दिन्छन् । सायद अन्तराष्ट्रिय जगत मा भारतीय संचार माध्यम अगाडी आउने कारण, एउटा कमिला बराबर को घटनालाई हाती बनाउने शिप पनि हो।
भारत र पाकिस्तान बीच को वैचारिक युद्ध धेरै अगाडी देखि सुरु भए पनि पहिलो औपचारिक युद्ध १९४७ मा जाम्मु र काश्मिरको मुद्धालाई लिएर भएको हो। मुस्लिम समुदायको बाहुल्यता भएको उक्त राज्यका हिन्दु राजा हरिश सिंहले संचालन गर्न नसकेर भारत सरकार संग सहयोग मागेको र अन्त्यमा भारत सरकारलाई दिएको बिश्वास गरिन्छ। तर पाकिस्तानले त्यसलाई जाल साजीपूर्णे अधिग्रहण गरेको दाबी गर्छ । प्राकृतिक सम्पदाको धनि यी राज्यमा दुवै देशको दाबी रहेको कारण युद्ध भयो र करिब १ बर्ष जति चल्यो। पुनः १९६५ मा काश्मिर कै मुद्धा लाई लिएर, फेरी युद्ध भयो जुन करिब १ महिना सम्म चल्यो जसमा दुवै तपÞर्m हजारौँ सैनिक तथा सर्वसाधारण अंगभंग भई ज्यान समेत गुमाउन पुगे। बग्लादेशको मुद्धालाई लिएर १९७१ मा सुरु भएको तेस्रो युद्ध , करिब ९०,००० पाकिस्तानी सैनिकले आत्मासमर्पण गरे पछि आंशिक रूपमा र संंयुक्त राष्ट्रसंघको पहलमा शिम्ला सम्झौता पछि पूर्ण रुपमा शान्त भएको थियो। झन्डै २७ बर्ष पछि कर्गिलको तनावलाई लिएर १९९९ फेरी युद्ध भयो। कर्गिल युद्धमा पाकिस्तानले आफ्नो करिब ४,००० सैनिक गुमाउनु परेको थियो। युद्धका जानकारहरु यसलाई पाकिस्तानको अतुलनिय क्षतिको रुपमा लिने गर्छन।
वास्तवमा भारत र पाकिस्तान दुवै आणविक र सैन्य शक्ति सम्पन्न राष्ट्र हुन्। २० करोड जनसङख्या भएको पाकिस्तानमा ८ लाखको हार हारीमा सैनिक छन् भने १ अर्ब ३३ करोड जनसङख्या भएको भारतमा जम्मा १२ लाख । जनसङख्याको अनुपातमा पाकिस्तानी सैनिक धेरै भए पनि भारतको तुलनामा कमै हो। सन् १९७१ मा भारतको सामु पाकिस्तानी सैनिक को सामुहिक आत्मासमर्पण र १९९९ मा भारत संगको युद्धमा ४००० सैनिक गुमाउनुले युद्धमा भारतको पकड बलियो देखाएको छ। भारतको दाबीलाई मान्ने हो भने भारतमा गरिने प्राय जसो आतंकवादी हमलामा पाकिस्तानको मात्रै हात रहेको हुन्छ। यो तथ्य कति हद सम्म सत्य हो होइन त्यो आफ्नै ठाउँमा छ तर भारतीय आतंकवाद हमलाका धेरै जसो योजनाकार भने पाकिस्तान राष्ट्रमा स्थाई बसोबास गर्ने नागरिक देखिएका छन् । जसको कारण भौगोलिक हिसाब ले आमने सामने रहेका यी दुई राष्ट्र सदैव तनावमा रहने निश्चित जस्तो देखिन्छ।
अहिले जाम्मु र काश्मिर राज्यको ४३% भू–भाग भारतको अधिनमा, ३७% भू–भाग पाकिस्तान र बाँकी २०% भू –भाग चीनको नियन्त्रणमा छ। जम्मु, काश्मिर उपत्यका, लद्दाख र सिमोचन ग्लासियर भारतले लिएको छ। आजाद काश्मिर र गिलगित बलिस्तान पाकिस्तानको हो भने शक्सगम उपत्यका र अक्सआइ चिन चाइनाको नियन्त्रण छ। यसरि जाम्मु र काश्मिर भागमा तीन राष्ट्रको स्वार्थ जोडिएको प्रस्टै देखिन्छ। नेपाल यी तीनै राष्ट्रको छिमेकि राष्ट्र हो। अवश्य नै यसमा आएको उतार चडावले नेपाललाई चोखो राख्दैन ।
विशाल नेपालका सम्राट स्वर्गीय राजा पृथ्वी नारायण शाहले भनेका थिए ’नेपाल दुई ढुंगा बीचको तरुल हो’,भारतको चीन संग केहि हद सम्म मतभेद छ भने पाकिस्तान संग पूर्ण रुपमा मत भिन्नता छ। जाम्मु, काश्मिरको मुद्धामा भारत, पाकिस्तान र चीनको स्वार्थ जोडिएको छ। यसरि जोडिएको स्वार्थी सम्बन्धले भारत र चीन बीचको नयाँ युद्ध सुरु नगर्ला भन्न सकिन्न । यसो भएमा छिमेकी राष्ट्रको युद्धका निम्ति हुने सेना र हतियारमा उच्च लगानीले नेपालको आर्थिक समवृद्धि नहुने पक्का छ । भारत र चीनले अपनाएको आर्थिक नीतिले नेपालको विकाशमा पूर्ण रुपमा असर पर्ने भएको कारण पनि यी दुई राष्ट्र बीच नेपालले सन्तुलन मिलाउन मध्यस्तथाको भूमिका निर्वाह गर्न जरुरि हुन्छ ।
खुल्ला सिमाना र साझा संस्कृतिले भारतसंग जोडिएको नेपाल, भारत–पाक युद्धले अत्ति आवश्यक वस्तु जस्तै कच्चा पदार्थ, इन्धन, दैनिक उपभोग्य वस्तु (दाल, चामल, तरकारी) ढुवानी को आयात निर्यातमा समस्या आउँछ । एक हिसाबले २०४५ र २०७२ साल को नाकाबन्दी जस्तो भयाभह स्थिति नआउला भन्न सकिन्न । यति मात्रै कहाँ हो र, हाल सालै पर्यटन मन्त्रालयले जारी गरेको नेपाल भ्रमण बर्ष–२०२० मा भारतीय र विदेशी पर्यटक आगमनलाई प्रत्यक्ष रुपमा असर पार्नेछ । भारत–पाकिस्तान हुदै आउने उडान समेत प्रभावित हुन्छन जसको सिधा असर पर्यटन व्यवसाय पर्छ ।
सन् १९४७ नोभेम्बर ७ मा नेपाल , भारत र बेलायत बीच भएको त्रिपक्षीय सम्झौता अनरुप भारतीय र बेलायती सेनामा नेपाली लैजाने सम्झौता भएको थियो । जसको कारण भारत ले हरेक बर्ष गोर्खा पल्टनको नाममा कयौँ नेपालीहरुलाई भारतीय सैनिकको रुपमा भर्ति गर्छ। यसरि भर्ति भएका सैनिक लाई प्राय जस्तो उच्च जोखिम स्थान जस्तै जाम्मु, काश्मिर तथा कुनै विघट ठाउँमा पठाईन्छ। केहि समय अगाडी भएको पुलवामा आक्रमणमा पनि नेपाली मूलका भारतीय सैनिक मारिएका थिए। भारत–पाक युद्धले नेपाली बिधवाको संख्या बढाउने मा दुई मत छैन। मनोबैज्ञानिक रुपमा नेपाल प्रवेश गरेको यो युद्धले नेपाल र नेपालीलाई दिर्घकालिन असर पार्छ।
पाकिस्तानका नव–निर्वा्चित प्रधानमन्त्री इमरान खान भारी मतले विजयी भएर आएका हुन्। उनले इतिहास काल देखि भारतसंग रहेको तनावलाई कम गर्ने शैलीमा प्रस्तुत हुन जरुरि छ। भारत आफैले पनि एशिया महादेश मा अपनाएको दब–दबा नीतिलाई परिमार्जन गरि मेलमिलापको नीति लाई अगाडी सार्न आवश्यक छ। अन्यथा यो युद्धले विश्व अर्थतन्त्रमा भारत र पाकिस्तानको राजनैतिक तथा आर्थिक प्रभाव कम पार्ने देखिन्छ। जसको असर एशिया महादेशले दिर्घकालिन रुप मा भोग्नु पर्ने हुन्छ। यस कुरालाई समयमा नै सोच्ने कि ?
(लेखक पोखरा बिश्वबिध्यालय,व्यवस्थापन संकायमा उप–प्राध्यापक पदमा कार्यरत हुनुहुन्छ।)