काठमाडौं – सरकारसँग वार्ताको पहल भइरहेका बेला प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ। विप्लवनिकट श्रोतका अनुसार लामालाई प्रहरीको एक टोलीले राजधानीको काँडाघारीबाट पक्राउ गरेको हो।
विप्वलवपक्षले यसको पुष्टि गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा पक्राउको पुष्टि गर्दै उनलाई काँडाघारीबाट शनिबार राति १२ बजे हिरासतमा लिइएको बताए। प्रहरीले लामासँगै विप्लवका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा लिएको छ ।
लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटना गराउन निर्देशन दिएको आरोप प्रहरीले लगाएको छ । उपत्यकामा भएका विस्फोटमा ५ जना भन्दा धेरैले ज्यान गुमाएका थिए।