श्रीलङ्काका राष्ट्रपतिद्धारा संसद विघटन

श्रीलङ्काका , श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबारदेखि लागु हुनेगरी संसद विघटन भएको घोषणा गर्नुभएको छ । आफैले नियुक्त गरेको नयाँ प्रधानमन्त्रीको समर्थनमा उहाँले संसद विघटन गर्दै निर्वाचन गराउने घोषणा गर्नु भएको हो । सिरिसेनाद्धारा अपदस्त हुनु भएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भने राष्ट्रपतिको कदम असंवैधानिक भन्दै अस्विकार गर्दै आउनु भएको छ । राष्ट्रपति सिरिसेनाले गत महिना विक्रमासिङ्घेलाई पदच्युत गर्दै पूर्वराष्ट्रपति तथा विपक्षी दलका नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका नियुक्त गरेको घोषणा गर्नु भएको थियो । सन् २००९ मा गृहयुद्धको अन्त्य भएको घोषणा गर्नु भएका पूर्वराष्ट्रपति राजपाक्षे श्रीलङ्कामा लोकप्रिय हुनुहन्छ र साथै विवादास्पद हुनुहुन्छ । उहाँले आउदो जनवरी ५ तारिखमा निर्वाचन गर्ने घोषणापनि गर्नुभएको समाचारमा जनाइएको छ । विघटीत संसदमा २२५ जना सांसद रहेका थिए । राष्ट्रपतिको घोषणासँगै निर्धारित कार्यकाल भन्दा दुई बर्ष अगाडी नै संसद विघटन भएर निर्वाचन हुन लागेको हो । राष्ट्रपति सिरिसेनाका यी घोषणा तथा निर्णयहरुलाई विक्रमासिङ्घेले भने गलत भन्नु भएको छ । उहाँको पार्टीले पनि त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ । राष्ट्रपति सिरिसेनाले आफुलाई हटाउन नमिल्ने भएकाले आफूले प्रधानमन्त्री पद नछाड्ने र अहिले पनि आफु नै प्रधानमन्त्री रहेको उहाँले दाबी गर्दै आउनु भएको छ । श्रीलङ्कामा बढ्दो राजनीतिक संकटप्रति अन्तर्राष्ट्रिय समुदायले पनि चासो र चिन्ता व्यक्त गरेका छन् । उनीहरुले पनि आफ्ना पछिल्ला कदम सच्याउन राष्ट्रपति सिरिसेनालाई आग्रह गरेका छन् । राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिने अधिकारीहरुले बताएका छन् । सिरिसेनाद्धारा नियुक्त प्रधानमन्त्री राजापाक्षेको पक्षमा संसद्मा बहुमत पुग्ने अवस्था नदेखिएपछि संसद विघटन गरेको बताइएको छ । आफैसँग राष्ट्रपति पदमा प्रतिश्पर्धा गरेका राजापाक्षेलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कमा नयाँ राजनीतिक संकट सृजना भएको हो । ––– एएफपी  

काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक :सभापति देउवा

काठमाडौँ, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक रहेको बताउनुभएको हो । नेपालको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उहाँले बिपी र सुवर्ण शमशेरले स्थापना गर्नुभएको मान्यता नै काङ्ग्रेसको मार्गदर्शक नीति हो भन्नुभयो । सुवर्ण शमशेरको योगदानको विषयमा थप अनुसन्धान हुनुपर्ने बताउँदै सभापति देउवाले त्यो काम पार्टीले गर्ने जानकारी दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुवर्ण शमशेरले सङ्घर्षको अवस्थामा पनि पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गर्नुभएको स्मरण गर्नुभयो । काङ्गेसमा एकता आवश्यक रहेको भन्दै नेता पौडेलले मुलुकको वर्तमान गम्भीर परिस्थितिलाई काङ्ग्रेसले आँकलन गर्न नसकेको र स्थिति यस्तै रहने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनमा थप जटिलता आउने चेतावनी दिनुभयो । नेता पौडेलले सुवर्ण शमशेर त्यागी, दानी र कार्यकर्तालाई स्नेह गर्ने नेता हुनुहुन्थ्यो भन्नुभयो । उहाँले सरकारले अहिले आफ्नो हैसियतअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो । सोही कार्यक्रममा काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टीभित्र विवाद र बहस हुनु स्वभाविक हो, त्यसलाई व्यवस्थापन गर्ने दायित्व नेतृत्वले पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुवर्ण शमशेर राजनीतिका कुशल सञ्चालक र अर्थतन्त्रका सफल व्यवस्थापक हुनुहुन्थ्यो भन्नुभयो । सोही अवसरमा पूर्वसभामुख तारानाथ रानाभाटले बिपी र सुवर्णजीले देखाएको मार्गबाट विचलित हुँदा नै काङ्ग्रेस कमजोर भएको दाबी गर्नुभयो । काङ्ग्रेसका नेताहरुले आफ्नो कार्यशैली बदल्न र एकता कायम गर्न आग्रह गर्दै उहाँले पार्टीको अहिलेको अवस्थाका लागि नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुभयो । कार्यक्रममा प्रथम गभर्नर हिमालय शमशेरले सरल जीवनका धनी सुवर्णजीले नेपालको अर्थतन्त्रलाई पारदर्शी र व्यवस्थित गर्ने पहिलो भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो । सांसद दिव्यमणि राजभण्डारीले सुवर्ण शमशेरले दिनुभएको योगदानलाई देश र पार्टीले आवश्यक रुपमा सम्मान दिन नसकेको बताउँदै बीपी अन्तर्राष्ट्रिय तहको नेता हुनुहुन्थ्यो भन्नुभयो । उहाँँले बिपी र सुवर्ण शमशेरको मिल्ती अहिलेका नेताका लागि पनि अनुकरणीय हुनुपर्दछ भन्नुभयो । सुवर्ण शमशेरसँग नजिक रहेर काम गर्नुभएका नेता खुशीलाल मण्डलले पार्टी बनाउने, सबै आर्थिक दायित्व लिने काङ्ग्रेसका संस्थापक नेतामध्येका सुवर्ण शमशेरलाई बिर्सनु काङ्ग्रेस बैगुनी सरह हुनु हो भन्नुभयो । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीको सभापतित्वमा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष होमनाथ दाहाल, पूर्वमन्त्री डा सुरेश मल्ल, बार एशोसियसका अध्यक्ष शेरबहादुर केसी, डेमोक्रेटिक लयर एशोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारी, समाजका बरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र महासचिव गोकर्ण अर्यालले पनि आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । समाजको वर्तमान समितिले मुखपत्र ‘चिन्तन’को छैठौँ स्मृति अङ्क सुवर्ण शमशेर कृतित्व समेटेर प्रकाशित गरेको हो । यसअघि बिपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादलगायत नेताहरुको सम्झनामा समाजले विशेष अङ्क प्रकाशित गरिसकेको छ । –––  

बाग्लुङ बसपार्कमा हदैसम्मको लार्पबाही,सम्बन्धित निकाय मौन

पोखरा महागनरपालिका वडा नं २ स्थित बाग्लुङ्बसपार्क ,जहाँ दैनिक हजारौको संख्यामा यात्रुहरुको चहलपहल हुने गर्दछ । ब्यापार ब्यबसाय गर्नेहरुलाई पनि भ्याइनभ्याई छ। चालक सहचालक सबै आफ्नै काममा ब्यस्त देखिन्छन । टिकट काउन्टर नजिकै  यहाँ फोहोर गर्न सख्त  मनाही छ जरिवाना रु ५००० लेखिएको साइनबोर्ड  पनि देखिन्छ।  साईनबोर्ड कै आडमा फोहोरका पोकाहरुको थुप्रो पनि देखिन्छ ।  साईनबोर्ड लाई  साक्षी राखेर फोहोर संकलन ?   यो दृष्य देख्दा जो कोही लाइ अचम्मित तुल्याँउछ । कतिपय फोहोर कै कारण नाक थुनेर हिहिरहेको देख्न पाइन्छ भने कोहि साईनबोर्ड पढ्दै हाँसिरहेको पनि देखिन्छ । स्वच्छ,सुन्दर,पोखरा बनाउने महानगरको नारालाइ यो दृष्यले नराम्रोसंग ब्यङ्ग गरे झै लाग्छ । स्थानिय ब्यापारीहरुले  नै  निर्लज्ज शुल्क सहित जरिवाना तोकिएको साईनबोर्डको आडमा फोहोर थुपार्ने गरेको बाग्लुङ्ग बसपार्क स्थित  दिपेन्द्र मेडिकल्सका दिपेन्द्र तिमिल्सनाले जानकारी दिए । महानगरको  फोहोर उठाउने गाडी समयमै नआइदिदा  दुर्गन्धले पसलमा बसेर ब्यापार गर्न  समेत असहज भएको उनले बताए । हजारौ आन्तरिक र बाहिय पर्यटक ओहोरदोहोर गर्ने बसपार्क जस्तो ठाँउमा देखिने यस्ता दृष्यले कस्तो सन्देश दिइरहेको छ त एक पटक गम्भिर भएर सोच्न आबश्यक छ । यस्ता लापरबाही का बिरुद्ध सम्बन्धित निकायको समयमै  ध्यान जान जाओस ।पर्यटकिय नगरी पोखरालाइ स्वच्छ,सुन्दर बनाउन  नारा तय गरेर मात्रै पुग्दैन ,नाराको ब्यबाहारिक कार्यन्वयनमा पनि जुट्ने हो कि स्थानिय सरकार ।

गलत सूचना दिने पक्राउ

     बाजुरा, १०० नं मा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले शनिबार पक्राउ गरेको छ । शुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । प्रहरीले जनसेवाका लागि टोल फ्रि नं का रूपमा १०० नम्बरलाई जारी गरेको छ । सुवेदी श्रेष्ठ बोलेको भन्दै प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने गरेकाले बडिमालिका नगरपालिका–८ बस्ने टेकबहादुर रावलका २३ वर्षीय छोरा वीरेन्द्र रावललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया शुरु गरिएको प्रहरी नायब उपरीक्षक भाटले बताउनुभयो । गलत मानसिकता र नियत राखी सुरक्षा निकायमाथि नै अविश्वास गर्ने खालको गतिविधि, आचरण देखाएको र गाली गरेकाले रावलमाथि सार्वजनिक अपराधसम्बन्धी मुद्दामा कारवाही गर्ने तयारी गरिएको भाटले जानकारी दिनुभएको छ । जय मालिका यातायात प्रालिको जिप काउन्टरमा काम गर्दै आएका रावलले आफ्नो र अरुको मोबाइल प्रयोग गरेर विगत केही सातादेखि प्रहरीलाई गलत सूचना दिँदै आएको प्रहरीले बताएको छ । –––