रोमान्चक पीपीएल : पोखरा फाइनलमा, चितवन र काठमाडौंले प्ले अफ खेल्ने

पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो चरणमा पुग्ने टोलीको टुङ्गो लागेको छ । शनिबार लिग चरणको अन्तिम दुई खेल सकिएसंगै पीपीएलको दोस्रो चरण पुग्ने तीन टोलीको तय भएको हो । शनिबार भएको पहिलो खेलमा पोखरा पल्टनले हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले हराएको थियो । यस्तै अन्तिम खेलमा चितवन राइनोजले विराटनगर टाईटन्सलाई ४ विकेटले नै हराएको थियो । जितसंगै शरद भेषवाकरको पोखरा शीर्ष स्थानमा रहेर फाइनल पुगेको छ ।  पारस खड्काको चितवन दोस्रो र ज्ञानेन्द्र मल्लको काठमाडौंले तेस्रो स्थानमा रहेर एलिमिनेटर (प्लेअफ) मा स्थान बनाएका छन्  । दिपेन्द्र सिंह ऐरीको एक्स्पर्ट धनगढी ब्लुज, सोमपाल कामीको बुटवल ब्लास्टर्स र सन्दीप लामिछानेको विराटनगर भने प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएको छ  । पीपीएलमा शीर्ष टोलीले सिधै फाइनल खेल्ने र तेस्रो तथा चौथो टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नुपर्ने नियम रहेको थियो । यस्तो अवस्थामा अन्तिम दिनसम्म फाइनल र प्ले अफ पुग्ने टोलीको टुङ्गो लागेको थिएन । फाइनल र प्ले अफ समीकरण अन्तिम दिनसम्म रोमान्चक मोडमा पुगेको थियो ।अन्तिम दिनको दुई खेल बाँकी रहदा सहभागि ६ वटै टोलीको फाइनल र प्ले अफ पुग्ने सम्भावना रहेको थियो । शनिबारको खेलपछि पोखराले ५ खेलबाट ३ जित र दुई हार व्यहोर्दै ६ अंक जोड्यो । र, पोखराले नेट रन रेटको आधारमा शीर्ष स्थान हात पार्यो । शीर्ष स्थान हात पारेसंगै प्रतियोगिता नियम अनुसार मंगलबार हुने फाइनलमा स्थान पक्का गर्यो । यस्तै विराटनगरलाई हराएसंगै चितवनले ५ खेलबाट ३ जित र दुई हारसंगै ६ अंक नै जोड्यो । तर, चितवन नेट रन रेटमा पोखरा भन्दा पछि रह्यो । जसको कारण चितवनले प्ले अफ खेल्नु पर्यो । अब चितवनले आइतबार प्ले अफमा काठमाडौंसंग खेल्नेछ । अन्तिम खेलमा पराजित भएपनि काठमाडौंले ५ खेलबाट ६ अंक नै जोड्यो । र, एक्स्पर्ट धनगढीभन्दा नेट रन रेटमा माथि रहदै काठमाडौंले प्ले अफमा स्थान बनाउन सफल भयो । यता, ५ खेलबाट ६ अंक जोडेर पनि चौथो स्थानमा रहदै धनगढी प्रतियोगिताबाट बाहिरियो । यस्तै सुरुवातमा लगातार दुई जित निकालेको बुटवलले ५ खेलबाट ४ अंक जोड्दा प्लेअफ यात्रा तय गर्न सकेनन्  । सुरुवातबाटै खराब लयमा देखिएको विराटनगर ५ खेलबाट २ अंक जोडेर अन्तिममा रहदै प्रतियोगिता सकाएको छ ।

खुला कराते प्रतियोगिताको उपाधि भारदेउलाई

नेपाल सितोरियो कराते सङ्घ शाखा डोजो भारदेउले दोस्रो कोन्ज्योसोम खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । आज सम्पन्न प्रतियोगिताअन्तर्गत भारदेउले पाँच स्वर्ण, छ रजत र दुई कांस्यका साथ च्याम्पियन बनेको हो । ललितपुरको भारदेउमा भएको प्रतियोगितामा पाँच स्वर्ण, चार रजत र छ कास्यसहित प्रयागपोखरी डोजो दोस्रो र काभ्रेले चार स्वर्ण, तीन रजत र एक कास्य जित्दै तेस्रो भयो । प्रतियोगिताको पुरुषमा थिमी डोजोका शिरिष श्रेष्ठ तथा महिलामा आयोजक भारदेउकी अस्मिता तामाङ उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल स्याङ्तानले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा प्रदेश नं ३ का विभिन्न जिल्ला तथा डोजोबाट १४० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरेको भारदेउ डोजोका प्रमुख दीलबहादुर घलानले जानकारी दिनुभयो ।

साफ यू–१५ : नेपाल चौथो स्थानमा

 

 साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत नेपालले भारतसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित मैदानमा आज भएको खेलमा १८ औँ मिनेटमा थलेचु बनलरुटफेलाले गरेको गोल नै भारतको जितका लागि पर्याप्त बन्यो । पहिलो हाफमा शुन्यका विरुद्ध एक गोलले पछि परेका नेपाल दोस्रो हाफमा सुधारिएको प्रदर्शन त गरें, तरपनि गोल गर्न नसक्दा भारतसँग पराजित हुन पुग्यो । जितसँगै अघिल्लो संस्करणको विजेता भारत तेस्रो बन्यो । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग शुन्यका विरुद्ध चार गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो । प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्समाथि शुन्यका विरुद्ध चार गोलको सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलादेशसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भयो । पहिलो खेलमै पाकिस्तानसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भएका भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । पाकिस्तान र बङ्गलादेशबीचको खेल एन्फा मैदानमा अहिले जारी छ ।

दुर्घटनामा, एकको मृत्यु, तीन घाईते

दमक । झापाको कमल गाउँपालिका ३ झिलझिलेमा मारुती भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा २७ वर्षीय श्रवण कुमार शर्माको मृत्यु भएको छ,। उनी मोटरसाइकलको पछाडी बसेका थिए। मोटरसाईकल चालक तारा शर्मा घाइते छन् । मारुती चालक सामान्य घाईते छन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मारुतीमा रहेकी आशा खड्कालाई समेत चोट लागेको र उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना कसरी भएको भन्नेबारे प्रहरीले मारुती चालकसँग सोधपुछ  गरिरहेको जनाईएको छ ।