युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । स्याङ्जाको स्वरेक मैदानमा बिहीबार आयोजित विश्कप प्याराग्लाइडिङ प्रतियोगिता शुभारम्भका क्रममा उहाँले नेपाली खेलाडीहरुले छोटो समयमै यस खेलको माध्यामबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएको चर्चा गर्नुभयो । राज्यले खेलाडीको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै उहाँले नेपालमा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताका साथै धेरै ठाउँमा अन्य साहासिक खेल खेल्न सकिने भएकाले प्रकृतिले दिएको उपहारलाई सक्दो सदुपयोग गरिनेमा जोड दिनुभयो । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका क्यानडालगायत २१ देशका करीब १०० भन्दा बढी खेलाडी सहभागी भएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष एवं सचिवालय संयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ एकल र महिला तथा पुरुष गरी कूल चार इभेन्ट्सको खोल हुनेछ । भीरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानमा बिहीबारबाट शुरु भएको प्रतियोगिता कात्तिक १८ गते वालिङ नगरपालिका–११ डौवाफाँटमा समापन हुनेछ । नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेन्चर क्लब जिल्ला समन्वय समिति संयोजकत्वमा सो प्रतियोगिता आयोजना गरिएको हो ।
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतार भ्रमण उपलब्धिमूलक
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।
राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गर्नुभयो ।
सो अवसरमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्चपदस्थ पदाधिकारी विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।
कतार भ्रमणको उपलब्धिबारे जानकारी दिन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमण दुईपक्षीय हितका लागि फलदायी र उपलब्धिमूलक भएको बताउनुभयो ।
भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र कतारका अमिरबीच उच्चस्तरीय भेटवार्ता भएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “भेटमा नेपाली प्रतिनिधिमण्डलद्वारा कतारलाई नेपालको कृषि, पशुपालन, पूर्वाधार विकास, विमानस्थल निर्माण, स्वच्छ पानीको निर्यातलगायत क्षेत्रमा लगानी गर्न अनुरोध गरियो ।”
कतारमा कार्यरत नेपाली कामदारको हकहित प्रवद्र्धन, सुरक्षासम्बन्धी विषयमा विस्तृत कुराकानी भएको जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा आफूले पनि कतारका श्रममन्त्रीसँग छुटै भेटवार्ता गरेको जानकारी दिनुभयो ।
भेटमा अशक्त कामदारको स्वदेश फिर्ती, उनीहरुलाई नेपालमै उपचारको व्यवस्था मिलाउन तथा नेपाली कामदारको सीप र दक्षता अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको बताउँदै उहाँले नेपालमा सीप विकास र तालीमको स्थापना, वैदेशिक रोजगार सूचना केन्द्रको स्थापना, नेपालको विकासमा कतारबाट सहयोग प्राप्त गर्नेलगायत विषयमा पनि कुराकानी भएको जानकारी दिनुभयो । उक्त विषयलाई कतारले सकारात्मकरुपमा लिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।
कतारी पक्षले सम्पूर्ण कामदारको हितलाई ध्यानमा राखेर एक कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको बताउँदै उहाँले कामदार छनोट प्रक्रियामा सहजीकरणका लागि छुट्टै केन्द्र स्थापना गर्ने तयारीसमेत गरेको जानकारी गराउनुभयो ।
भ्रमण अवधिमा मुख्य गरी तीन दस्तावेजमा हस्ताक्षर भएको जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “दुई मुलुकका सरकारी र कूटनीतिक राहदानीवाहकका लागि प्रवेशाज्ञा अनुमति दिने विषयले उच्चस्तरीय भेटघाट र भ्रमणलई सहज बनाउनेछ ।”
कृषि तथा खाद्य सुरक्षामा भएको सम्झौताले यस क्षेत्रमा सहयोग आदानप्रदानको बाटो खोलेको छ । नेपालमा जैविक खेती प्रवद्र्धन गर्ने सम्बन्धमा समेत विस्तृत छलफल भएको उहाँले बताउनुभयो ।
दस्तावेजले दुई मुलकका सुरक्षा अधिकारीबीच पनि सुरक्षाका क्षेत्रमा मिलेर काम गर्ने विषयलाई पनि समेटेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
कतार चेम्बरद्वारा आयोजित कार्यक्रमलाई राष्ट्रपतिले सम्बोधन गर्नुका साथै त्यहाँका निजी लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गर्नुभएको उहाँले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले त्यहाँस्थित नेपाली दूतावासको समन्वयमा कतारमा कार्यरत नेपाली कामदारसँग भएको भेटमा सिकेको ज्ञान, सीप र दक्षता तथा आर्जन गरेको रकम नेपालको विकासमा लगानी गर्न आह्वान गर्नुभएको थियो । नेपालीको उक्त भेलालाई परराष्ट्रमन्त्री ज्ञवालीले पनि सम्बोधन गर्नुभएको थियो ।
बिहीबार त्यहाँका सरकारी अधिकारी र निजी क्षेत्रका लगानीकर्ताले राष्ट्रपतिसँग गर्नुभएको शिष्टाचार भेटमा उहाँले नयाँ विमानस्थल निर्माण, जलविद्युत्, शुद्ध खानेपानी एवं खाद्य क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत हुनुहुन्थ्यो ।
–––
आधारभूत स्वस्थ्य सेवा प्रदान गर्नु सरकारको पहिलो दायित्व : मन्त्री बस्नेत
पोखरा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले स्वस्थ जनता नै समृद्धिको आधार भएको बताउनुभएको छ ।
कास्की जिल्लाको रुपा गाउँपालिका–१ बाह्रपिर्केमा नवनिर्मित थुम्की स्वास्थ्यचौकी भवन तथा स्वास्थ्य जाँच प्रयोगशाला बिहीबार उद्घाटन गर्दै उहाँले आधारभूत स्वस्थ्य सेवा प्रदान गर्नु सरकारको पहिलो दायित्व भएको बताउनुभएको हो । इम्पावर नेपाल फाउण्डेशनका अध्यक्ष एवं अमेरिकाको मिचिगन विश्वविद्यालयका प्रा डा मुरारी सुवेदीले रुपाको स्वास्थ्य, भौतिक विकास, खानेपानी, कृषिलगायत क्षेत्रमा हालसम्म रु चार करोड ५० लाख लगानी भइसकेको र त्यसबाट स्थानीय जनताको जीविकोपार्जनमा समेत सहयोग पुगेको बताउनुभयोे ।
उक्त गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँ पालिकामा रहेका पाँच स्वास्थ्यचौकीमा इम्पावर नेपाल फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा प्रयोगशाला सञ्चालन भएको र आगामी मङसिर महीनाभित्र सबै स्वास्थ्यचौकीमा औषधालयको समेत व्यवस्था गरिने जानकारी दिनुभयो ।स्वास्थ्य मन्त्रालयको रु दुई करोड ३० लाख आर्थिक सहयोगमा साढे दुई तल्लेसुविधासम्पन्न उक्त भवन निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा प्रा डा सुवेदीलाई गाउँपालिकाको तर्पmबाट सम्मान गरिएको थियो ।
खेलको माध्यामबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री विश्वकर्मा
स्याङ्जा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यामबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । स्याङ्जाको स्वरेक मैदानमा बिहिबार आयोजित विश्कप प्याराग्लाइडिङ प्रतियोगिता शुभारम्भका क्रममा उहाँले नेपाली खेलाडीहरुले छोटो समयमै यस खेलको माध्यामबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएको चर्चा गर्नुभयो ।
राज्यले खेलाडीको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै उहाँले नेपालमा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताका साथै धेरै ठाउँमा अन्य साहासिक खेल खेल्न सकिने भएकाले प्रकृतिले दिएको उपहारलाई सक्दो सदुपयोग गरिनेमा जोड दिनुभयो । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका क्यानडालगायत २१ देशका करीब १०० भन्दा बढी खेलाडी सहभागी भएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष एवं सचिवालय संयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ एकल र महिला तथा पुरुष गरी कूल चार इभेन्ट्सको खोल हुनेछ । भीरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानमा बिहीबारबाट शुरु भएको प्रतियोगिता कात्तिक १८ गते वालिङ नगरपालिका–११ डौवाफाँटमा समापन हुनेछ । नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेन्चर क्लब जिल्ला समन्वय समिति संयोजकत्वमा सो प्रतियोगिता आयोजना गरिएको हो ।
–