नगरपालिकाले भत्कायो विद्यालय भवन

वडाध्यक्षमाथि आक्रमण,

  सर्लाही,  रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५÷२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उहाँले बताउनुभयो । आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उहाँको बायाँ खुट्टा भाँच्चिएको छ । उहाँको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको उहाँले बताउनुभयो । आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका छन् । उहाँको साथमा रहेको नगद, मोबाइल र सुनको हनुमानी समेत लुटी लगेको घाइते महतोले बताउनुभयो । उहाँ नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । –––

एयर एशिया, बक्यौता नतिरी सेवा बन्द

मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको १३ करोड रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एशियाले यात्रुको अभाव रहेको भन्दै गएको असोज २७ गतेदेखि उडान स्थगन गरेको हो । कम्पनीले एक वर्षका लागि काठमाडौँ गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । एयर एशियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई  १३ करोड बक्यौता तिर्न बाँकी छ । यो विलम्ब शुल्क हो । कम्पनीले हालसम्म करीब ३० करोड रकम बुझाइसकेको विमानस्थलले जनाएको छ । एयरलाइन्सले अवतरण (ल्याण्डिङ), पार्किङ (विशौनी), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतमा बक्यौता तिर्नुपर्नेछ । एयर एशियाले वाइड बडी ए ३३० बाट दैनिक उडान भर्दै आएको थियो । बाँकी बक्यौता तिर्नका लागि नेपालस्थित मलेसियाली राजदूतावासले पहल गर्ने आश्वासन दिएको छ । एयर एशियाले नेपाल पर्यटन बोर्डलाई सात करोेड २३ लाख बक्यौता तिर्न बाँकी छ । कम्पनीले पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ ।

सुटरसहित ३ जना पक्राउ

निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य सुटरसहित ३ जनालाई प्रहरीले  पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई भारतको सिक्किमबाट पक्राउ गरेर ल्याएको हो । पक्राउ पर्नेमा मुख्य सुटर अमरबहादुर राना, लोप्साङ लामा र रोशन बुढाथोकी रहेका छन् । लोप्साङ लामा यसअघि रुपन्देहीमा युवा संघका नेता दुर्गा तिवारीको हत्या घटनाका मुख्य सुटर रहेको प्रहरीको भनाइ छ । बुढाथोकी भने सुटर नभइ हत्याका योजनाकार रहेको प्रहरीले बताएको छ ।गौचन हत्याका मुख्य सुटर अमर राना दुई वर्ष अघि काठमाडौंमा नै भएको गुण्डानाइके दावा लामालाई गोली हान्ने घटनामा पनि संलग्न रहेको महाशाखाको भनाइ छ । गौचन हत्यामा संलग्नको आरोपमा यसअघि गुण्डानाइके समिरमान सिंह बस्नेतसहित अन्य पक्राउ परिसकेका छन् ।  गौचनको काठमाडौंको शान्ति नगरमा आफ्नै गाडीभित्र गोली हानी हत्या भएको थियो ।