सेतो घोडेजात्रा सम्पन्न
साँस्कृतिक महोत्सवका रूपमा बडादशैँको मध्यरातमा यहाँ सेतो घोडेजात्रा आयोजना गरिएको छ ।
प्रत्येक वर्ष आयोजना गरिने उक्त जात्रामा तलेजु भवानीलाई त्यहाँका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा विर्सजन गरी सेतो घोडे जात्रा आयोजना गरिन्छ । । जात्रा हुनु अघि एउटा भेडाको बलि दिने र घोडालाई भक्तपुर नगरमा डुलाइने पुजारी नरेन्द्र जोशीले जानकारी दिनुभयो ।जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडा नाच देखाउन तीनपटक दगुराउने गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ ।
कारागारका कैदीले एकापसमा टीका तथा जमरा लगाई विजयादशमी मनाए
विदुर, नुवाकोट कारागारका कैदीले एकापसमा टीका तथा जमरा लगाई विजयादशमी मनाएका छन् ।
विभिन्न मुद्धामा सो कारागारमा थुनामा रहेका १ सय ४१ जना पुरुष र २० जना महिला गरी १ सय ६१ जना कैदीले एकापसमा टीका तथा जमरा लगाउाका साथै तीन सय भन्दा बढी कैदीका आफन्तबाट टीका ग्रहण गरेका हुन् । कारागारका आन्तरिक प्रशासन प्रमुख लुमडी कार्कीले कारागारमा रक्तदान र अन्य विभिन्न कार्यक्रम पनि गरिएको जानकारी दिनुभयो ।
दशैँ मनाइएपनि कैदीहरुमा भाईचारा र सद्भाव वृद्धि भई कारागार सुधारमा समेत बल पुग्ने कारागार निमित्त प्रमुख रामराजा भण्डारीले बताउनुभयो ।
–––
बाल गृहमा आश्रित बालबलिकाले पनि विजयादशमी मनाए
उर्लाबारी, मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि विजयादशमी मनाएका छन् ।
गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिनुभयो । गृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताउनुभयो ।
विसं २०५९ सालमा स्थापना भएको सो गृहमा देशका विभिन्न जिल्लाका ४६ जना बालबालिका आश्रित रहेको अध्यक्ष मिनादेवी बरालले जानकारी दिनुभयो ।
–––
प्रधानमन्त्री ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौं । वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । अपरान्ह साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइदिनेछन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाइदिने समय तालिका समेत तय भएको छ ।
यसअघि राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइदिने गर्थे यो पटक भने प्रधानमन्त्रीले पनि घोषित रुपमा टीका लगाइदिन लागेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् । दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ ।
त्यसपछि प्रधानमन्त्रीले टीका लगाइदिनेछन् । दिउँसो २ बजेपछि ओलीले मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।