प्रेस युनियन राससमा रिसाल

प्रेस युनियन रासस प्रतिष्ठान शाखाको अध्यक्षमा वरिष्ठ सम्पादक मोहिनी रिसाल निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिष्ठान शाखाको आज सम्पन्न तेस्रो अधिवेशनले पूर्णप्रसाद मिश्र उपाध्यक्ष, छविलाल कुमाल सचिव, कुमार चौलागाईं कोषाध्यक्ष तथा मैना थापा, प्रीतम भट्टराई र आदित्य दाहाललाई सदस्यमा निर्विरोध चयन गरेको छ । त्यसैगरी केन्द्रीय पार्षद्मा सूर्यचन्द्र बस्नेत, पूर्णप्रसाद मिश्र, एकराज पाठक, सोमनाथ लामिछाने, निर्मला आचार्य, कृष्ण अधिकारी र कृष्णप्रसाद सापकोटा तथा प्रदेश पार्षद्मा दिलीप अधिकारी, छविलाल कुमाल, कुमार चौलागाईं, पवित्रा गुरागाईं, रोशा बस्नेत, प्रीतम भट्टराई र सिवी अधिकारी निर्विरोध चयन हुनुभएको छ । विसं २०४८ मा स्थापना भएको युनियनको रासस शाखाको तेस्रो अधिवेशन आजै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले उद्घाटन गर्नुभएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते शनिबार

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएकोछ । कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले  आग्रह गरेको छ ।

‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु

    काठमाडौँ, श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडाँैमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षित आप्रवासनसम्बन्धी विद्यमान चुनौती सम्बोधन गर्न आवश्यक रणनीतिक साझेदारी र सामूहिक प्रयत्नको सहजीकरण गर्ने सम्बन्धमा बैठकले महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो । कोलम्बो प्रोसेसको सोच र प्रतिबद्धता कार्यान्वयनका लागि क्षेत्रगत कार्यसमूह निकै महत्वपूर्ण अङ्गका रुपमा रहेको चर्चा गर्दै उहाँले विगतका दुई वर्षमा ती समितिका १८ बैठक सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी दिनुभयो । मन्त्री विष्टले आफूलाई परिवर्तित विश्व श्रम र आप्रवासी परिदृश्यमा प्रतिविम्बित तथा स्थापित गर्न १५ वर्षको समय कम नभएको बताउँदै श्रमिकको जीवनस्तरमा परिवर्तन ल्याउनु नै बैठकको प्रभावकारिताका मूल सूचक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “श्रमिकको जीवनस्तरमा परिवर्तन ल्याउन गरिएका प्रयत्न पर्याप्त थिए त ? प्रभावकारी र सिर्जनशील ढङ्गले थप काम गर्न सक्थ्यौँ ? भविश्यमासमेत अनुशरण गर्नसक्ने असल सिकाइ के कस्ता छन्, यी विषयमा केन्द्रित भएर छलफल गर्न आग्रह गर्दछु ।” मन्त्री विष्टले कार्यसमूहका सदस्यलाई आगामी दिनमा अझ प्रभावकारी परिणाम प्राप्त गर्न समन्वय र सूचना साझेदारीको ठोस प्रणाली विकास गर्न आग्रह गर्दै प्रत्येक कार्यसमूहको उपस्थितिमा केन्द्रित रहेर सबै सदस्य राष्ट्रले विगतका समझदारी कार्यान्वयनको अनुगमनका उपायका सम्बन्धमा छलफल गर्न पनि ध्यानाकर्षण गराउनुभयो । उहाँले कोलम्बो प्रोसेसका सदस्य राष्ट्रले सहमति गरेका चार अतिरिक्त विषयगत क्षेत्र कन्सुलर सहायता, आप्रवासनसँग सम्बन्धित दिगो विकास लक्ष्यको कार्यान्वयन, आप्रवासी कामदारको स्वास्थ्य र महिला आप्रवासी कामदारको समानताको सन्दर्भमा समेत छलफल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यी विषय प्रोसेसको सदस्य राष्ट्रको साझा चुनौतीका रुपमा रहेका छन्, ती चुनौती सामना गर्न सबैको सामूहिक र प्रभावकारी प्रयत्न जरुरी छ ।” मन्त्री विष्टले श्रम आप्रवासनका क्षेत्रमा प्रभावकारी काम गर्न सदस्य राष्ट्रका अनुभव, स्रोत साधन, सूचना र जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । “आप्रवासी श्रमिकको मानवाधिकार र सुरक्षा सुनिनिश्चत गर्नु हामी सबैको साझा प्राथमिकता बनेको छ” उहाँले भन्नुभयो, “नेपालले लामो समयदेखि उठाउँदै आएको सुरक्षित आप्रवासनको मुद्दाले अन्ततः विश्वव्यापी रुपमा महत्वपूर्ण स्थान पाउन थालेको छ ।” मन्त्री विष्टले श्रम आप्रवासन श्रमिकको उद्गम मुलुक र गन्तव्य मुलुकको विकासका लागि एक महत्वपूर्ण माध्यम बन्दै आएको उल्लेख गर्दै श्रम आप्रवासनका क्षेत्रमा साझा हितको प्रवद्र्धन गर्न उच्च अधिकारीस्तरीय र मन्त्रिस्तरीय बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उच्च अधिकारीस्तरीय बैठकमा प्रोसेसका पाँचवटै कार्यसमूहका अध्यक्षले कार्यप्रगति र कार्यदिशा प्रस्तुत गर्नेछन् । बैठकले श्रम आप्रवासनसम्बन्धी काठमाडाँै घोषणापत्रलाई अन्तिम रुप दिनेछ । उक्त घोषापत्रलाई शुक्रबार बस्ने मन्त्रिस्तरीय परामर्श बैठकले अनुमोदन गर्नेछ । बैठकमा कोलम्बो प्रोससमा आबद्ध सदस्य राष्ट्रका उच्च अधिकारीलगायत प्रतिनिधिमण्डलको सहभागिता छ । कोलम्बो प्रोसेसमा नेपाल, अफगानिस्तान, कम्बोडिया, थाइल्याण्ड, बङ्गलादेश, चीन, भारत, इण्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का र भियतनाम आबद्ध छन् । –––  

शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका शेयरमा पनि

    काठमाडौँ, कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका शेयरमा समेत परेको छ । राम्रो भनिएका र ठानिएका कम्पनीको शेयरसमेत आधारभूत मूल्यको हाराहारीमा रहँदा त्यसले लगानीकर्तालाई नकारात्मक प्रभाव पारेको छ । कुनै समय जलविद्युत् कम्पनीको शेयर लगानीकर्ताका लागि प्रमुख आकषर््ाणको थलो रहँदै आएको थियो । लामो समयदेखि ओरालो लागेको नेशनल हाइड्रोपावर कम्पनीको बजारमा प्रतिकित्ता शेयर रु ७७ मा खरीद बिक्री भएको छ । बुधबार सो कम्पनीको शेयर आधारभूत मूल्यभन्दा रु २३ कममा खरीद बिक्री भएको छ । यस्तै दिव्यश्वेरी हाइड्रोपावर कम्पनीको शेयरसमेत आधारभूत मूल्यभन्दा कममा खरीद बिक्री भएको छ । सो कम्पनीको प्रतिकित्ता शेयर रु ९७ मा खरीद बिक्री भएको स्टकको तथ्याङ्कले देखाएको छ । घट्दो बजारको प्रभाव खानीखोला हाइड्रोपावर कम्पनीलाई समेत परेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ९७ मा कारोवार भएको छ । आधारभूत मूल्यभन्दा तल झरेको सो कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई नकारात्मक प्रभाव परेको छ । चिलिमे जलविद्युत् कम्पनीको शेयरबाहेक अरु जलविद्युत् कम्पनीको अवस्था खराब रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ । सरकारी स्वामित्वको चिलिमे कम्पनीको शेयर प्रतिकित्ता रु ६८८ मा कारोवार भएको छ । कुनै समय चिलिमे जलविद्युत् कम्पनीको शेयरमा पनि लगानीकर्ताको उल्लेख्य चासो रहने गर्दथ्यो । पछिल्लो दिनमा सो कम्पनीको शेयरमा समेत उच्च गिरावट आएको छ । स्टकका अनुसार अरुण काबेली जलविद्युत् कम्पनीको शेयर रु २१२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु १२६, बरुण हाइड्रोपावर कम्पनीको शेयर रु १२१ मा खरीद बिक्री भएको छ । रु ५०१ मा थप सार्वजनिक निष्काशन गरेको बुटवल पावर कम्पनीको शेयरसमेत घटेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४६० मा खरीद बिक्री भएको छ । शेयर बजार ओरालो लाग्दा त्यसको प्रभाव छ्याङ्दी हाइड्रोपावरको शेयर रु १०८, कालिका पावर रु ११३, नेपाल हाइड्रो डेभलपर्स रु १२० मा खरीद बिक्री भएको छ । हिमालयन पावर पार्टनर रु २०५, ङादी ग्रुप पावर रु १२९, पञ्चकञ्या माई रु १२३, राधी विद्युत् कम्पनी रु १८० र रैराङ हाइड्रोपावरको शेयर प्रतिकित्ता रु १११ मा खरीद बिक्री भएको छ । यस्तै रिडी हाइड्रोपावरको शेयर रु १०५, सिनर्जी पावर डेभलपर्स रु १०० र युनाइटेड मोदीको प्रतिकित्ता रु १४३ मा खरीद बिक्री भएको छ । नेप्सेमा सूचीकृत सानिमा माई जलविद्युत् कम्पनीको कुनै तथ्याङ्क देखिएको छैन । धितोपत्र बोर्डमा १५ जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको तयारी गरिरहँदा दोस्रो बजारमा भने जलविद्युत् कम्पनीका शेयर निरन्तर ओरालो लागिरहेको छ । कात्तिक १६ गतेदेखि १९ गतेसम्म माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री ग¥यो भने बुधबारदेखि मध्य भोटेकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर बिक्री शुरु गरेको छ । –––