कवि राजेन्द्रजीका सिर्जनाहरूमा बुद्धिपक्ष, कल्पनापक्ष, भावनापक्ष र शैलीपक्षको आवश्यक सन्तुलन भएको देखिन्छ

२६ आश्विन २०७५, शुक्रबार

पिता पद्मराज पौडेल र माता मधुकुमारी पौडेलका कोखबाट २०२९ साल मंसिर १५ गते कास्की जिल्लाको हंसपुरमा जन्मिएका कवि राजेन्द्र पौडेलजीको पेशा सिभिल इन्जिनियरिङ्ग भएपनि यौटा ससक्त कविको रुपमा नेपाली साहित्य जगत्मा उदाउनु भएको छ । बाटो, पुल, खानेपानी, भवन जस्ता निर्जिव क्षेत्रका विषयको नियमित अभ्यासका बाबजुद पनि तेहीँ भित्रवात सुमधुर कविताका झर्नाहरू झरर्झराउँन सक्नु कविको कल्पनाशीलता र क्षमता लाई मान्नै पर्दछ । गल, गँैची, छिनो, ज्यावल, ढुङ्गा, माटो, सिमेन्ट आदिका सम्बन्धले जर्जर बनेको हृदय भित्र पनि यौटा साहित्यिक लेखनी दगुर्दो रहेछ र त्यसले कोमल हृदयका गहिराईबाट साहित्यिक रसधारा चुम्दोरहेछ भन्ने कुरा उहाँवाट रचित दुईवटा छन्दोबध्द कविता संग्रह, एउटा गजल संग्रह र दर्जनौ फुटकर कविताहरुवाट प्रमाणित हुन्छ । पेसाले इन्जिनियर पौडेल आफ्नो कविता–कृति “निर्माणका धुन, अन्तर्मनका सुसेली” र गजल संग्रह “तरङ्ग”का साथ नेपाली साहित्यमा प्रवेश गरेका छन् ।

कवि राजेन्द्रजीका सिर्जनाहरूमा बुद्धिपक्ष, कल्पनापक्ष, भावनापक्ष र शैलीपक्षको आवश्यक सन्तुलन भएको देखिन्छ । पढ्दाखेरि हृदयस्पर्श गर्ने कविता एंव गजलहरूमा नै यी गुणहरू पाइन्छन् ।
प्रायःप्रत्येक युगका सामाजिक मानसिकता अनुसार नै बढी सिर्जनाहरु कोरिन्छन् । यसैले यस्ता सिर्जनाहरुलाई समाजको दर्पण पनि मानिन्छ । कवि एंव गजलकार राजेन्द्रजीका सिर्जनाहरु त्यस्तै छन् । यी सिर्जनाहरुले नेपाली समाजका वर्तमान मानसिकताहरूको मूल्याङ्कन र संयोजनको काम गर्छन् । त्यसरी सामाजिक मानसिकताको संयोजनको लागि अँगालिने शैली अनुसार सिर्जनाहरु सरल,सुबोध र आलङ्कारिक भाषाले सजिएको हुनुपर्छ । कवि राजेन्द्रजीले आफ्ना प्राय रचनाहरुमा प्रकृतिलाई मानवीकरण गर्दै प्रकृति र मानविय भावनाको उचित संयोजन गरेको अनुभूति हुन्छ ।
शास्त्रीय छन्दःपरम्परामा रचित कविको पहिलो कृति “निर्माणका धुन” हो भने दोस्रो कृति “अन्तर्मनका सुसेली” हो । त्यसरी नै गजलको रुपमा तेस्रो कृति गजल संग्रह तरङ्ग” हो । यी कविता र गजल संग्रह भित्र स्वतःस्फूर्त कविताहरू एंव गजलहरुमा साहित्यिक विशेषताहरू सँगै राजनीतिक समीक्षा पनि छ । नेपाली समाजको चरित्रचित्रण सँगै यहाँ विकसित भएका राजनीतिक कार्यकर्ताहरूको मानसिकतालाई पनि औल्याउँदै कविले आवश्यक सुधारका पक्षहरू देखाउँदै देश निर्माण र समाज निर्माणका बुलन्द धुनहरू फैलाउनु भएको छ । यी संग्रहहरुका सम्पूर्ण विचारहरू निर्माणमुखी छन् र ठोसरूमा परिभाषित हुन शब्दलालित्यको साधनाको अपेक्षा गर्छन् ।

देशको विकास निर्माणमा समर्पित अभियन्ता राजेन्द्रजीको भावना यिनै संग्रहहरुले प्रतिनिधित्व गरेको आभास मिल्दछ । सारांशमा स्रष्टा पौडेलले महाकवि वाल्मीकिको उक्त्ति ‘जननी जन्मभूमिश्च स्वर्गादयि गरीयसी’ लाई शिरोधार्य गर्दै आफ्नो मन–मष्तिष्कबाट यी ग्रन्थहरुमा कविता–धारा बगाएका छन् । वास्तवमा पौडेल विविध व्यावहारिक संघर्ष र अनुभव प्राप्त सामाजिक, मिलनसार, साहित्यप्रेमी, सरस्वती उपासक स्मरणीय प्रतिभा हुन्, काव्यप्रेमी सचेत युवा हुन् । पेसाले प्राविधिक नौलो–नौलो, नयाँ विषयहरूमा लाग्नुपर्ने, समय खर्चिनुपर्ने र नाम–दाम कमाउन पर्ने मान्छे हुन् उनी । जे होस् उहाँ आफ्नो पेसागत साधनामा त हुँदै हुनुहुन्छ, यो उहाँका अनुराग वा रूचि विषय हो । जो प्रशंसनीय एवं समादरणीय छ । उहाँलाई सचेत साहित्यप्रेमीवर्ग बीच सुपरिचित गराउने आधार निर्मित गरिरहेछ । जो प्राविधिक वर्ग बीच यसप्रकारको सम्भावना कताकति मात्र देखापर्छ– संभव चाहिँ छ । जे होस्, प्राविधिक प्रतिभामार्फत् पाइनसकिने सारस्वत उपासना एकप्रकारको गौण वा अतिरिक्त विषय नै सम्झनुपर्छ । अतः प्राविधिक प्रतिभाको प्रस्तुत काव्ययात्रा विशेष उपलब्धिमूलक प्राप्ति हो । जो प्रशंसनीय छ, स्मरणीय मान्नुपर्छ । यो एकप्रकारको माता सरस्वतीको अनुराग हो– विशेष कृपा हो ।

कवि राजेन्द्र पौडेल नेपाली कविताकाव्यको विकास, विस्तार र परम्परामा वि.सं. २०७२ मा निर्माणका धुन (कवितासङ्ग्रह) मार्फत् कृतिकारका रूपमा देखा परेका एक उल्लेखनीय कवि हुन् । उने आफू कक्षा तीनमा अध्ययन गर्दा देखि नै कविता लेख्ने र वाचन गर्ने अभ्यासलाई अँगाल्दै अघि बढेको कुरा उल्लेख गरेका छन् । यस आधारमा उनको कविता साधनाको मात्राले वि.सं. २०३७ देखि आजसम्म आइपुग्दा लगभग साढे तीन दशक पार गरिसकेको देखिन्छ । यसबीच आफ्नो जन्मभूमिको प्राकृतिक सौन्दर्य, हंसपुर, पोखराको साहित्यिक वातावरण, विभिन्न कवि र गुरूहरूको प्रेरणा र आफ्नो तीव्र प्रयासका माध्यमबाट उनी पेशाले÷व्यवसायले इञ्जिनियर रहेपनि वार्णिक र वर्णमात्रिक छन्दलाई राम्ररी खेलाएर उत्कृष्ट कविताहरू रचना गर्ने एक उदाहरणीय कविको रूपमा समेत देखिन्छन् । गीत, गजल र वर्णमात्रिक भनिने छन्दोबद्ध कविताका अतिरिक्त आफ्नो पेशागत विषय र समसामयिक विविध विषयमा लेखनिबन्धहरूसमेत लेख्ने र लेखिरहने कवि पौडेल वर्तमान नेपाल र नेपालीको विविध समस्याका सूक्ष्मज्ञाता, चिन्तक र विश्लेषकका रूपमा समेत रहेको कुरा उनका विभिन्न कविताहरूको अध्ययन गर्दा अनुभव हुन्छ । उनी कल्पनालाई भन्दा यथार्थलाई, सौन्दर्यलाई र वस्तुलाई भन्दा विषयगत सन्दर्भलाई यथेष्ट शैलीगत माधुर्यका साथ अभिव्यक्ति दिन सक्षम कविका रूपमा देखिन्छन ।्
संस्कृत र नेपाली भाषासाहित्यको औपचारिक विशेष अध्ययनको अभाव र नितान्त वस्तुगत गणितीय जगत्सँग सम्बन्धित इञ्जिनियरिङ्ग सेवा र व्यवसायमा समर्पित व्यक्तिबाट पनि यसप्रकारका उत्कृष्ट कविताहरू रचिएर एकपछि अर्को ग्रन्थका माध्यमबाट अगाडि बढ्दै कृति सिर्जनालाई अन्यन्त तन्मय र रुचिका साथ निरन्तरता दिइरहनु पनि कवि पौडेलको उल्लेखनीय वैशिष्ट्य मान्न सकिन्छ । भाषा, भाव र लयको एक उत्कृष्ट संगम मानिने कविता सिर्जनामा कवि पौडेल अव्वल देखिन्छन् । अब नेपाली पाठकहरूले उहाँका काव्यहरू पढ्न पाउनु पर्छ । आगामी काव्यले पनि उनको यही उत्कृष्ट कवितात्मक प्राप्तिलाई निरन्तरता दिऊन् भन्ने आशा र अपेक्षाका छ । अन्तमा नेपाली साहित्यमा छन्द कवि तथा गजलकार राजेन्द्र पौडेलकको आगमनलाई हृदय देखि स्वागत गर्दै उहाँको साहित्यिक यात्राले निरन्तरता पावोस् । हार्दिक शुभकामना ।

Comments

sanu sharma
Reply
October 12, 2018

proud of you dai

Leave a Reply