मान्छेको मूल्य कति हो ?

0
560

डा. टीकाराम पोखरेल
मान्छेको मूल्य कति हो ? परीक्षाको उत्तरपुस्तिकामा लेख्ने गरी यसको उत्तर पाउन सकिएको छैन । त्यसो त मान्छेको मूल्य नै हुन्छ कि हुँदैन भन्ने नै पनि बहसको विषय छँदैछ । भौतिकवादी युगमा हरेक कुरालाई मूल्यमा मापन गरिने हुँदा मान्छेको मूल्य नै हुँदैन भन्न पनि सकिँदैन । प्राकृतिक प्रकोपमा लाखौँ, करोडौँ वा यति र उति धनजनको क्षति भयो भनिन्छ । ‘जन’ अर्थात् मान्छेको क्षति हुन्छ भने क्षति हुने कुराको मूल्य पक्कै हुन्छ । मूल्य नहुने कुराको त के को क्षति ? विज्ञानका दृष्टिमा कुनै वस्तुको परिमाण मापन गरिन्छ भने त्यो नै त्यसको मूल्यको आधार हो ।
मान्छेको मूल्य छ, त्यसोभए मान्छे बिक्री हुने हाटबजार कहाँ लाग्छ ? जिज्ञासा अस्वाभाविक छैन । प्रचीन कालमा मानिसलाई दासदासीको रुपमा खुलमखुला विक्री गर्ने गरिएको भन्ने इतिहास पढिए पनि आज त्यस्तो हाटबजार लाग्ने स्थान पाइँदैन भन्ने आदर्श विश्वास छ । यद्यपि खुलमखुला नभए पनि विश्वका कुनाकाप्चामा कुनै न कुनै रुपमा मान्छे आज पनि विक्री भइरहेको छ । खाली खुला बजार नभएको मात्र हो ।
मानिसको भौतिक विक्रीको जमाना सकियो भनेर एकछिनलाई मान्ने हो भने पनि मान्छेको किनबेच रोकिएको छैन । कानुनले त विक्री रोक्यो, तर मान्छे आफैँ कुनै न कुनै रुपमा विक्री भैरहेको छ । इतिहासमा शक्तिशाली मान्छेले शक्तिहीन मान्छेलाई बेच्थ्यो । आधुनिक जमानामा भने मान्छे परिस्थितिको दास भएर स्वयम्ले स्वयम्लाई विक्री गरिरहेको छ ।
मानिस विक्री नै हुन्छ भन्ने हो भने मानिसको मूल्य कति हो त ? तरकारीको भाऊ सिजन अनुसार फरक भएजस्तो परिस्थिति अनुसार मान्छेको मूल्य फरक हुने गर्छ । मानिस मर्दा मानिसको मूल्य कति हुन्छ ? त्यसबेला आँसुले बताउँछ मानिसको मूल्य । जति धेरै आसँु त्यति धेरै मूल्य । जसको लागि धेरै आँसु झारिन्छ, चाहे त्यो व्यक्तिप्रति आँसु झार्नेको श्रद्धाले, मायाले वा आवश्यकता जेसुकैले किन नहोस् । आँसुमा मानिस साटिन्छ । आसुँ झारेर मरेर गएको मानिसको मूल्य चुक्ता गरिन्छ । जसरी सहिदहरुका मूल्य मौनधारणमा गएर टुंगिन्छ ।
त्यसो त आजकलका सहिदको मूल्य मौनधारणले मात्र पनि चुक्ता हुँदैन । सहिदको मूल्य आजकल बढेको छ । आजकलका सहिदले पाउने १० लाखको मूल्य हेर्दा लाग्छ, गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराजहरुको योगदान खै ? खै तिनीहरुले १० लाख लिन सकेका, सायद ती साना सहिद हुन् । १० लाखमा विक्दैनन् तिनीहरुका योगदान । आसुँको मूल्यकै कुरा गर्ने हो भने ती चार शहिदका सन्तानले कति आँसु बगाए होलान्, उनीहरुले मात्र होइन, आजसम्म नेपालीहरुले उनीहरुप्रति श्रद्धा व्यक्त गरेर उनीहरुको मूल्यको गान गाइरहेका छन् । तर १० लाखे सहिदहरुले ती सहिदहरुलाई अवमूल्यन गरिरहेका त छैनन् ? यसको उत्तर आन्दोलनमा मर्नु अगाडि नै मरेमा ५० लाख पाउने छौ भनी मूल्य तोक्नेहरुले भन्न सक्लान कि नसक्लान् ?
फेरि मृत्युको मूल्यकै कुरा । मान्छेको मृत्युको मूल्य कति ? एउटै मान्छेलाई राज्यले मा¥यो भने कति, त्यहि मान्छेलाई सवारी चालकले मार्दा ? अनि अपराधीले मार्दा नि ? साँच्ची आफैँ दुर्घटनामा मरेको मान्छेको मूल्य कति हुन्छ ? सरकारले मार्दा मान्छेको मूल्य आन्दोलनले तोक्छ । जति ठूलो आन्दोलन र विरोध त्यति धेरै मूल्य । सवारी चालकले मान्छे मारे पनि आन्दोलन नै हो मूल्य असुल उपर प्रक्रिया । दुर्घटनामा मान्छे मरेछ भने बीमा कम्पनीले तोक्छ मृतकको मूल्य । अझ भनौँ म मरेँ भनी यति तिर्नु भनी आफ्नो मूल्य आफैँ तोकेर दुर्घटनामा पर्छ मान्छे । बीमा गरेको रहेछ भने मूल्य पाउँछ, रहेनछ भने उही परिवारको आँसु हो उसको पनि मूल्य ।
कुनै अपराधीले निरपराध मान्छे मार्दा मूल्य आँसु बाहेक केही हुन्न । कहिलेकाहिँ आतंककारीको नाममा टाउकोको मूल्य तोकेको पनि नसुनेको होइन । त्यसो त आतंककारीको त ठूलै पो हुन्छ त मूल्य । नेपाल जस्तो गरिब मुलुकमा शरीर बाहेकैको टाउकाको मूल्य ५० लाख तोकिएको सुनिएको हो । यो दशक अगाडिको कुरा हो । अहिले कसैलाई आतंककारी घोषणा गरेर टाउकोको मूल्य तोके कति करोड पर्ला ? बजार भाउ त निकै बढिसक्यो ।
डनहरुले मान्छे मार्न सुपारी तोक्छन् भनेको समाचार पढिन्छ । तर त्यसको मूल्यको त कुनै सीमा नै छैन । हजारदेखि लाख हुँदै करोडसम्म । हुनसक्छ अब कुनै दिन डनहरुले मान्छे मार्न अरबको कबुलेको कुरा सुनिएला । अस्पतालमा मान्छे मर्छ, पैसामा कुरा मिल्छ । मर्छ एक, मोल तोक्ने अर्कै हुन्छ । गाडीले मान्छे किच्छ, लास सडकमा तेर्सेर मूल्य खोज्छ । सडकले गर्छ मान्छेको मूल्य निर्धारण । ल हेरौँ त, मान्छे मर्नु त मर्नु नै हो । तर हेर्नुस् त मृत्युका मूल्य कति फरक ?
मरेका टाउकाका मात्र होइन जिउँदा टाउकाका पनि मूल्यहरु छन् । एउटा नेताले जनताको भोटको काउण्ट गरेर आफ्नो पद सुनिश्चित गर्छ । मानौँ उसको पदका लागि जनतारुपी मूल्य तिरिन्छ । कुनै विद्यालय मालिक आफ्नो विद्यालयमा विद्यार्थीका टाउकाको मूल्य गन्छ र आफ्नो विद्यालय सानो कि ठूलो भनेर निर्धारण गर्छ । कुनै पार्टी वा संगठनको मूल्य उसका क्रियाशील सदस्य संख्याले निर्धारण गर्छ ।
यो बाहिरी टाउकाको मूल्यको कुरा भयो । त्यसो भा भित्री टाउकाको नि ? आजकल विचारको मूल्य, चेतनाको मूल्य, इच्छाको मूल्य, चाहनाको मूल्य, तनको मात्र होइन मनको पनि मूल्य चलेको छ । तपाईँ विचारलाई तिलाञ्जली दिनुस् नगद मिल्छ, चेतनाहीन बन्दिनुस्, दास बन्न पाउनुहुन्छ, दास बनेपछि कतै न कतै फाइदा हुन्छ, फाइदा नै तपार्इँको मूल्य हो । दास भन्दा अलि अप्रिय लागे निगाह बक्स हुन्छ तपार्इँँमाथि भनेर बुझ्नुस् । इच्छा र आकाक्षाहरु दबाउनुस् जिउँदो लास जस्तो भएर लासको मूल्यमा विक्री हुनुस् । मन एकातिर भए पनि अर्काति लागेर सहमति र सम्झौताको नाममा झुक्नुस्, मिल्छ केही न केही ।
त्यसो भए आजकल मान्छेको कहाँ छैन मूल्य । जहाँ पनि छ, खाली बेच्न मात्र सक्नुपर्छ मान्छे, अनि किन्न मात्र सक्नुपर्छ मान्छे । हेर्नुस् त बैँकका क्यासियर, रेष्टुराका वेटर र जहाजका एयरहोष्टेजहरुले हाँसोको पनि मूल्य लिइरहेका छन् । सेवाग्राही सेवाको मात्र होइन हाँसोको पनि मूल्य तिर्छन् । उनीहरुको व्यवसायिक भाषामा त्यो रणनीति हो । हाँसोका मात्र हो र, आजकलत त अलिकति सुन्दरताको पनि मूल्य जोडिन्छ, जानिँदो नजाँनिदो पाराले । अघोषित हुन्छ भनौँ त्यो ।
दाइजो ल्याउनेले आफू दाइजोमा किनिँदा र बेचिँदाको मूल्य कति बुझ्छ कुन्नि । जागिरमा मासिक तलब लिँदा मान्छेको मूल्य र श्रमिकले दिनभरि काम गरेर बेलुका श्रम बुझ्दाको मान्छेका कुनै न कुनै प्रकारका मूल्य नै हुन् । ठाउँअनुसारका फरक मूल्यहरु । श्रमिकको श्रमको मूल्यलाई रोबर्ट र मेशिनको युगले मूल्यहीन त बनाउँदैन । कतै मान्छेले आफ्नो मूल्यका लागि मेशिनसँग प्रतिस्पर्धा गर्ने युग त सुरु भएन । यसो भए विज्ञान र प्रविधिले त मान्छेको मूल्यमा ह्रास पो ल्यायो कि ?
साँच्ची अनशन बसेको मान्छेको मूल्य कति हुन्छ ? डा. केसीहरुको अनसनको मूल्य सरकारले पटक पटक तिरिरहेको छ । नन्दप्रसादहरुको अनशन कौडीको भाउमा पनि बिकेन । सायद दशवर्षे द्वन्द्वमा मान्छेको मूल्य यस्तै दिग्भ्रमित भयो । द्वन्द्वमा मान्छेको मूल्य भ्रम हो कि त्रास हो । देश बदल्ने भ्रममा होनाहार युवा द्वन्द्वमा हामियो र म¥यो । उसले देश बदल्नुको त कुरा परै जाओस् परिवार पनि बदल्न सकेन । बरु कुनै आफूभन्दा उपल्लो तहको नेताको जीवन चाहिँ बदलिदियो । क्या मिठो भ्रम थियो त्यतिबेला बदल्ने र बलिदानी गर्ने । के यसमा मान्छको मूल्यहरु थिएनन् ?

वेश्यालमा मान्छेको मूल्य कति हुन्छ । त्यहाँ विक्ने बिकाउने र किन्ने, किनाउनेका मूल्यहरु कसरी निर्धारण हुन सक्लान् । मूल्य रकममा खोज्ने हो कि विक्ने, विकाउने, किन्ने, किनाउनेहरुको मर्यादामा हो ? बेश्या बन्ने र वेश्यागमन गर्नेको मूल्य के फरक होला ? तर श्रम बेच्ने, शरीर बेच्ने, शरीरको मृगौला बेच्नेहरु बीचका मूल्यमा फरक भने पक्कै होलान् नि । तर यी सबैका मूल्यहरुमा बुझाइमा के एकरुपता होला र ? भनिन्छ, प्रेम अमूल्य हुन्छ । त्यसो भए प्रेमको विपरीत घृणाको मूल्य नि ? मान्छेको आसा, विश्वास र भावनाको मूल्य कति हो भनेर कसैलाई प्रश्न गरे कल्पना गरौँ त कस्ता कस्ता उत्तर आउलान् ?
आजको मान्छे पैसामा बिनियम भएको पक्कै हो । मान्छेको मूल्यभन्दा पैसाको मूल्य बढी छ । पैसा मान्छेका लागि होइन, मान्छे पैसाको लागि भयो । पैसाको दास हो मान्छे । यसले गर्दा आजको मान्छेले नै मान्छेको मूल्य अवमूल्यन गर्दैछ । मान्छेको मूल्यमा ह्रास आएको छ । धर्म भन्छ, सबै सत्ता भगवानको हो । मान्छे निमित्त मात्र हो । द्वन्द्वात्मक भोतिकवादले यो कुरा अस्वीकार गरोस् भलै, उसले श्रमजीवीको वकालत गरोस् भलै । तर मान्छेको मूल्य खिँइदै गएको छ ।