अन्तर्राष्ट्रीय नारी दिवस

२४ फाल्गुन २०७८, मंगलवार

अधिवक्ता इन्द्र कुमारी शर्मा
पितृसत्ता सोच अनुरुपको विभेद विरुद्ध महिलाको संघर्षलाई विश्वकै इतिहाँसमा हेर्दा घर परिवार समाज र राज्य समेतले अझैपनि महिलालाई दोस्रो दर्जाको नागरीकको रुपमा स्थापित गरेको देखिन्छ । महिला पनि मानव भएको र महिला र पुरुषको समान अस्तित्व, समान, कर्तव्य र समान जिम्मेवारी हुनुपर्नेमा सो नभै महिलाहरु प्रति राज्यले समेत विभेद गरेपछि महिला पनि मानव भएर जिउनेक्रममा आफ्ना हक र अधिकार स्थापित गर्नका निम्ति विश्व स्तरवाटनै सघर्ष गरेको इतिहासले देखाउछ । केही पुरुषहरुले महिलाहरु पनि मानवको रुपमा स्थापित हुनु पर्दछ भन्ने मान्यताका साथ महिलाको संघर्षमा सहयोगी वन्दै आएको देखिन्छ भने महिलाको संघर्ष र श्रमिक महिला दिवसको इतिहासलाई हेर्ने हो भने पन्ध्रौ सोह्रौं शताब्दी देखि पश्चिमी यूरोपमा पूजीवादी व्यवस्था एवं उत्पादन कार्य तीव्र गतिमा अघि बढ्न थालेको थियो । अठारौ शताब्दी सम्म आइपुग्दा बेलायतको औधोगिक क्षेत्रमा भएको क्रान्तीको सफलतासंगै चलाएको पूजीको विकास र औधोगीकीकरणको परिणाम स्वरुप सामन्तवादी सत्ता विस्थापित गरेर पूजीवादी सत्ता स्थापना गर्ने अभियान तीव्र रुपमा चलेको थियो ।
औधोगीकीकरण बढेसंगै श्रमिकहरुको माग बढ्दै गएर महिलाहरुलाई समेत उत्पादन कार्यमा सहभागी गराउन थालियो । तर उनीहरुलाई दिइने तलव पुरुषहरुको तुलनामा थोरै र कार्यसमय अनिश्चित, महिलाका महिलाजन्य आवश्यकता प्रति वेवास्ता लगायतका व्यवहारले महिलाहरुमा चरम असन्तुष्टी बढ्दै गयो । यसै अनुरुप महिला विरुद्ध हुने शोषण, दमन र अमानविय व्यवहार विरुद्ध आवाज उठाउन थालियो । सन १७७९ मा सर्बप्रथम बेलायती महिला मेरी वोल्स्टोनक्राफ्टले महिला अधिकारका बारेमा आवाज बुलन्द पारी पुरुष प्रधान शासन व्यवस्थाको विरोध गर्दै राज्य संयन्त्रमा महिलाको समान अधिकारको माग गरिन । त्यसको एक दशकपछि सन १७८९ अक्टोवरमा पेरिसमा गरीव र श्रमजिवी महिलाहरुले चरम महंगीको विरोधमा जुलुस र धर्ना कार्यक्रममा सहभागी भए । श्रमजीवी महिलाहरुमा विकसित चेतनाले सन १८३२ सम्म आइपुग्दा नेदरल्याण्डको कपडा कारखानाका श्रमिक महिलाहरु दास प्रथा विरोधी समाजको गठन गरी असमान व्यवहार र समान कामको समान ज्याला विरुद्ध आन्दोलित हुन थाले । सिंगो यूरोपभरि शोषण र दमनका विरुद्ध श्रमिक क्रान्तीको आँधिवेहरी चल्दै गर्दा विश्व सर्वहारा वर्गको वकालत गर्दै सन १८४८ मा माक्र्स र एंगेल्सले कम्युनिष्ट घोषणा पत्र तयार गरी प्रकाशित गरे । यसले झनै श्रमजीवी जनतालाई शोषण दमन र दासत्ताबाट मुक्ति पाउनका लागि संगठित रुपमा अघि बढ्न प्रेरित ग¥यो । यसै वर्षको जुलाई महिनामा अमेरिकी महिलाहरु वीच अधिकार र धार्मिक सामाजिक खरावी विषयक कार्यक्रम सेनेकाफल्समा आयोजना भयो । यसै कार्यक्रममा महिला माथिको पितृसत्तात्मक शोषणको अन्त्य, महिला र पुरुष वीच समान अधिकार हुनुपर्ने, शिक्षा, रोजगारी र मताधिकारमा समान अधिकारका तीन बुँदे माग सहितको महिला अधिकार सम्बन्धी घोषणा पत्र जारी भयो । जसले सारा अमेरिकी महिलाहरुवीच सनसनी फैलियो ।

सन १८५०–६०को दशकमा पूजीवादको तीव्र विकास हुदै जादा एकातर्फ स्वचालित मेशिनको प्रयोगले मानविय श्रमलाई विस्थापित गर्न थाल्यो भने अर्कोतर्फ लामो र अनिश्चित कार्यघण्टा, श्रममा मालिकको मनपरी व्यवहार र शोषणका कारण श्रमिकहरुको जीवन प्रति घृणा, रोष, असन्तुष्टि र चिढचिढाहट थपिदै गयो । परिणामस्वरुप सन १८५७ मार्च ८ का दिन अमेरिकी सुती कपडा उद्योगमा कार्यरत श्रमिक महिलाहरु कार्य समय कम गराउने माग सहित आन्दोलनमा उत्रिए । सन १९६४ मा पहिलोपल्ट अन्तर्राष्ट्रिय श्रमिक संघको गठन गरी यो अभियानलाई अन्तर्राष्ट्रियकरण गरियो । अठारौ शताब्दीको अन्तसम्म पनि विश्वका कतिपय राष्ट्रहरुमा केही कुलीन वर्गले मात्र राजनीतिमा भाग लिने कानूनी व्यवस्था विद्यमान थियो । महिलाहरु मताधिकारबाट वन्चित थिए । सन १८६५ मा बेलायतका महिलाहरुले मेन्चेष्टरमा महिला मताधिकार समिति गठन गरी मताधिकार पाउनुपर्ने पक्षमा संकलित हस्ताक्षर सहित समान मताधिकार विषयक विधेयक सन १८६७ मा जोन स्टुवार्डमिल मार्फत ब्रिटिस संसदमा पेस गरे । सन १८८९ मा पेरिसमा श्रमिकहरुको ऐतिहाँसिक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न हुँदा समान कामको समान ज्याला हुनुपर्ने भनी व्यवस्थित, स्पष्ट र सशक्त रुपमा समानताको आवाज जोडले उठ्यो । ब्रिटिस संसदमा महिला मताधिकारको विधेयक पेश गरेको २५ वर्षपछि सन १८९३ मा महिलाले मताधिकार पाउने विश्वकै पहिलो देश न्यूजील्याण्ड बन्यो । यसले के देखिन्छ भने विश्वभरीनै महिलालाई आफ्नो मताधिकार समेत प्रयोग गर्न नपाउने गरी महिलाहरुको मानव अधिकारको हनन गरिएको कुरा प्रमाणित हुन्छ ।

सन् १९०८ मा अमेरिकाको न्यूयोर्क शहरमा काम गर्ने १५,००० महिला दिदीबहिनीहरुले महिलाहरुले गरेको कामको उच्च मूल्याङ्कन हुनुपर्ने , कामको समय थोरै गराउनुपर्ने, ज्याला राम्रो दिनुपर्ने लगायत मतदानको अधिकार पाउनुपर्ने माग सहित ¥याली निकालेका थिए । त्यसको करीव १ वर्ष पछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । सन् १९१० मा फिनल्याण्डको कोपेनहेगेनमा सम्पन्न भएको कामकाजी महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलनका शिलशिलामा क्रान्तीकारी महिला क्लारा जेट्किनले सो दिवसलाई अन्तरराष्ट्रिय दिवस बनाउनु पर्ने आवाज बुलन्द गरेकी थिइन । सो सम्मेलनका अवसरमा विश्वका १७ देशका १०० भन्दा बढी महिला दिदी बहिनीहरुको सहभागिता रहेको थियो । क्लारा जेट्किनको सो प्रस्ताव सर्वसम्मत रुपमा पास भयो ।

 

पहिलो पटक सन १९११ मा अष्ट्रिया,जर्मनी,डेनमार्क र स्वीटजरल्याण्डमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस भव्य रुपमा मनाईएको थियो । सन् १९१७ मा तत्कालीन सोभियत संघ रुसका महिलाहरुले रोटी र शान्तीको माग गरेपछि यस दिवसले अझै औपचारिक मान्यता पाएको थियो । यसरी महिला आन्दोलनको चार दिन पछि तत्कालीन रुसी सम्राटले आफ्नो पद त्याग गर्न बाध्य भएका थिए । निजले सो पद त्याग गरेपछि बनेको अस्थायी सरकारले महिलालाई मतदान गर्ने अधिकारको प्रत्याभुती दिएको थियो । पछि संयुक्त राष्ट्र संघले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि अझै आधिकारिक रुपमा मान्यता पाएको हो । हाल विश्वभरी श्रमिक महिला दिवसलाई महिला अधिकारको जनचेतना जगाउने अभियानको रुपमा मनाउन थालिएको छ । महिला आन्दोलन शुरु भएको दिन ८ मार्च परेकोले सोही दिनलाई विश्वभरीका महिला दिदी बहिनीहरुले अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन थालेका हुन । विश्वका धेरै देशहरुमा यस दिनलाई सार्वजनिक विदा दिएर भव्य रुपमा दिवस मनाउदै आएको छ । अमेरिकामा मार्च महिनालाई महिलाहरुको ऐतिहासिक महिना मानिन्छ । यस अवसरमा अमेरिकी राष्ट्र प्रमुखबाट अमेरिकी महिलाहरुको उपलब्धीको सम्मान स्वरुप मार्च ८ का दिन विशेष सम्बोधन गर्ने प्रचलन पनि रहेकोछ ।

अहिले संयुक्त राष्ट्रसंघले विश्वभरी विभिन्न कार्यक्रमको आयोजाना गरी यो दिवस मनाउदै आइरहेको छ । नेपालमा पनि मार्च ८ लाई पहिलो पटक वि.स. २०१७ सालमा धनकुटाका केही शिक्षिकाहरुले यो दिवसलाई आइमाइ दिवसको रुपमा मनाएको इतिहास पाइन्छ भने वि.सं २०३३ सालबाट केही दरबारिया र घरानियाँँ महिलाहरुको नेतृत्वमा अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालियो । वि.सं २०३४ सालबाट पारिजातको संयोजकत्वमा गोप्य रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो । वि.सं २०४६ सालमा यो दिवस मनाउने वेला २५÷२६ जना महिलाहरुले प्राप्त गरेका थिए । ८ मार्चको संघर्षशील परम्परालाई संघर्षको रुपमा हुर्काउदै अघि बढ्ने क्रममा २०४७ सालमा सरकारी तहबाट महिला दिवसभन्न थालियो । २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि २०५९ ÷६० सालमा आयोगकै तर्फबाट श्रमिक महिला दिवस को रुपमा मनाइयो । श्रम कानून २०७४(दफा ४१) ले यस दिवसलाई अन्तरर्।ाष्ट्रिय श्रमिक महिला दिवसको रुपमा किटान ग¥यो । यो वर्ष महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समेत श्रम कानूनको व्यवस्था अनुरुप नै सामाजिक न्याय र लैंगिक समानता ःदिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नारा सहित ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ आज मनाउन गैरहेका छौं ।
पछिल्लो समयमा नेपालको संविधान २०७२ ले महिलाहरुलाई राजनैतिक सहभागिता, पैतृक सम्पतिमा समान हक, घरेलु श्रमको गणना,शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको विशेष व्यवस्था ,मातृत्वको संरक्षण,आफ्नो शरीरमाथि आफ्नो अधिकारहरुलाई पहिलादेखि चलाई आएको हाम्रो हानिकारक रितिरिवाज, धर्म संस्कारका आधारमा गरिएका विभेदपूर्णं कुरितिहरुलाई कानूनले दण्डनिय व्यस्था भएको हुँदा कानूनी रुपमा नेपाली महिलाहरु अधिकार सम्पन्न भैसकेका छन तर पनि महिला विरुद्ध हुँदै आएका विभेदकारी व्यवहार विरुद्ध पितृसतात्मक सोचवाट हुर्केको समाज र राज्यमा रहेका व्यक्तिहरुको हस्तक्षेपकारी भूमिका विस्तारका कारण अझै पनि महिलाहरुले कानूनमा स्थापित भएका हक अधिकारको भने पूर्ण रुपमा उपभोग गर्न सकिरहेको अवस्था छैन जस्तैः महिलालाई पुरुष सरह समान हैसियत नस्वीकारिनु, आमाको नामबाट नागरिकता दिलाउन नसक्नु ,राज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिता नगराइनु र आर्थिक अधिकारको व्यवहारिक उपयोग हुन नसक्नु ,पैत्रिक सम्पत्तिमा सबै सन्तानको समान अधिकार र समान कामको समान ज्याला आफ्नो शरीर माथि आफ्नो अधिकार सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्नु आदि चुनौतीहरु हाम्रा सामु छन् । यी चुनौतीहरुलाई अवसरको रुपमा उपयोग गर्दै अघि बढौं । यस श्रमिक दिवस ८ मार्चको अवसरमा सम्पूर्ण विश्वभरीका महिला दिदी वहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।

(लेखिका महिला मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको अध्यक्ष हुनुहुन्छ) ।

Leave a Reply