सुरु गरेका काम पूरा गर्न कोइरालाको उम्मेदवारी

१४ कार्तिक २०७९, सोमबार

 

पोखरा । फुट ट्र्याक बनेपछि फेवातालको मुहार नै फेरियो । ठेलमठेल हिँड्ने पर्यटक, लस्करै बनेका रेस्टुरेन्ट, झिलिमिलि बत्तीले फेवाताल किनारलाई गुल्जार बनायो । त्यतिञ्जेलसम्म उत्तिकै सम्भावना बोकेको बेगनासतालमा भने फाट्टफुट्ट मात्रै पर्यटक पुग्थे । ताल किनार सुनसानप्राय देखिन्थ्यो । अहिले बेगनासताल किनारमा पनि फुट ट्र्याक बनेपछि भने पर्यटकको चाप बढेको छ ।
संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनमा कास्की निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित दीपक कोइरालाकै योजनामा फुट ट्र्याक बनेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तत्कालीन सांसद कोइरालाले बेगनास ताल सौन्दर्यीकरणका लागि बजेट बिनियोजन गरेका थिए । बेगनास ताल बाँध पुनर्निर्माणसँगै फुट ट्र्याक बनाइएको छ । फुट ट्र्याकमा बत्तीको झिलिमिलि देखिन्छ । बस्ने कुर्सी राखिएका छन् । रेलिङ हालिएको छ । विहानै व्यायाम गर्न आउने वयस्कदेखि दिउँसो घुम्न आउने पर्यटक र साँझ हात समाएर हिँड्ने प्रेमिल जोडीसम्मले ताल किनार भरिभराउ हुन्छ ।
तर युवा नेता कोइरालालाई यतिमै चित्त बुझेको छैन । तालको सौन्दर्यीकरणका लागि उनीसँग अझै धेरै योजना छन् । आफूले सुरु गरेका योजनालाई पूरा गर्न उनी फेरि प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । उनी पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रको उम्मेदवार भएर कास्कीको १(१) मा चुनावमा होमिएका छन् । ‘सांसदको काम नीति निर्माण गर्ने हो । त्यसबाहेक पनि जनताको आशा सांसदप्रति हुन्छ,’ उनी भन्छन्, ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले जनताका चाहनालाई सम्बोधन गरेको हुन्छ । त्यही बजेटबाट मेरो निर्वाचन क्षेत्रमा थुप्रै योजना सुरु भएका छन् । जसलाई अब फेरि निर्वाचित भएर पूरा गर्नु छ ।’ फुट ट्र्याक निर्माणपछि बेगनासतालले नयाँ स्वरुप पाएको उनको भनाइ छ । अब ताल वरपर साइकल ट्र्याक बनाउने, फुट ट्र्याकलाई विस्तार गर्ने उनको योजना छ । तालको पारिपट्टी बराह मन्दिरको डाँडालाई बीचबाट काटेर वरिपरि पानी बग्ने बनाउन प्रदेशबाट बजेट नै छुट्टिइसकेको छ ।
बेगनास तालको सौन्दर्यीकरण मात्रै होइन, पर्यटनको केन्द्र लेकसाइड मात्रै हो भन्ने मानसिकतामा परिवर्तन ल्याउन उनी प्रयासरत छन् । त्यही प्रयासस्वरुप उनकै योजनामा नेपालमै पहिलोपल्ट प्राकृतिक तालमाथि झोलुंगे पुल निर्माण गरिएको छ । पोखरा महानगरपालिका र रुपा गाउँपालिका जोड्ने गरी रुपा तालमाथि झोलुंगे पुल निर्माण भएपछि स्थानीय खुसी छन् । उक्त पुल अहिले ‘भाइरल पुल’ का रुपमा चिनिन्छ । पुल बनेपछि आवतजावतमा सहज भएको छ । पुल नहुँदा रुपा–६ भंगाराका स्थानीयलाई पचभैयाँ आउन डेढ–दुई घण्टा लाग्ने बाटो अहिले पुल बनेपछि आधा घण्टामा छोटिएको छ । ‘पुल बन्यो, आन्तरिक पर्यटकको चाप पनि भयो तर एप्रोच रोड नहुँदा पर्यटकीय पूर्वाधार बन्न सकेका छैनन्,’ उम्मेदवार कोइराला भन्छन्, ‘अबको निर्वाचन पछि बन्ने प्रदेशसरकारमार्फत यहाँ पर्यटकीय पूर्वाधार थप्न पनि फेरि निर्वाचनमा होमिएको छु ।’
साविकको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका जोडिएर पोखरा महानगरपालिका बन्यो । कागजमा जोडियो तर भूगोलमा जोडिएन । पोखरा र लेखनाथलाई छुट्याउने विजयपुर खोलामाथि आवश्यक स्थानमा पुल नहुँदा भूगोल नजोडिएको कोइरालाले महसुस गरे । उनकै पहलमा पोखरा १३ र २६ जोड्ने गरी मोटरेबल पुल बन्यो । पोखरा १४ र २६ जोड्ने गरी अर्को मोटरेबल पुल बनिरहेको छ । पोखरा १४ र २६ नै जोड्ने अर्को पुल बन्ने क्रममा छ । उक्त पुल बनेपछि गगनगौंडाबाट विरौटा निस्कने वैकल्पिक बाटो बन्ने छ । यी योजना पूरा गर्न आफू पुनः प्रदेशमा दोहोरिएर उम्मेदवार बनेको उनी बताउँछन् ।
चुनावी अभियानका क्रममा उनी हाल मतदातासँग भेटघाट गरिरहेका छन् । स्थानीय आवश्यकता र समस्याको पहिचान गरिरहेका छन् । आफूले सुरु गरेका योजना पूरा गर्न पुनः निर्वाचित गराएर प्रदेशसभामा पठाउन आग्रह गरेका छन् । अघिल्लो प्रदेशसभाको अर्थ तथा विकास समिति सभापति भएर काम गरेको अनुभवलाई प्रयोग गरेर आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाउने उनको चाहना छ ।
मतदातासँग भेटघाटकै क्रममा आइतबार उनी पोखरा–३० मा पुगेका छन् । उक्त वडाका शिशुवा, लालुपाते मार्ग, पार्वती टोल, मोहोरियाटोल, खुदी, भूगोलपार्क, गगनगौंडाका स्थानीयसँग उनले भेटघाट गरेका छन् । उनीसँगको भेटमा स्थानीयले जनतासँग भिजेको नेता कोइराला नै भएको प्रतिक्रिया दिएका छन् । युवा उमेर र भिजन भएको नेता कोइराला नै भएकोले यसपल्ट पनि जिताएर पठाउने गगनगौंडाका स्थानीय राजु केसीले बताए । ‘पाँच वर्षको अवधि उहाँले निष्कलंकित भएर बिताउनुभयो । विकासप्रेमीका रुपमा आफूलाई सावित गर्नुभयो,’ उनले भने, ‘उहाँले सुरु गरेका योजना पूरा गर्नुपर्ने छन् । त्यसका लागि पनि हामी फेरि जिताएर पठाउँछौं ।’

Leave a Reply