एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला

२२ मंसिर २०८०, शुक्रबार

पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा ‘मानव पुस्तकालय’को दोस्रो शृंखला सम्पन्न भएको छ । कार्यक्रम ‘मानवजीवनका भोगाइजन्य अनुभव पनि आफैंमा पुस्तक हो’ भन्ने अवधारणामा आधारित रही अन्तक्र्रियात्मक रूपमा सम्पन्न भएको थियो ।

विद्यालयमा गठित युवा रेडक्रस सर्कल र एसओएस पाठक मञ्चमा क्रियाशील विद्यार्थीहरूको आयोजनामा सम्पन्न भएको मानव पुस्तकालयको दोस्रो शृंखलामा अतिथिका रूपमा ५ जना मानव पुस्तकहरूको सहभागिता थियो ।

गण्डकी विश्वविद्यालयका डिन एवं भौतिक शास्त्री डा. कपिल अधिकारी, नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महिला सशक्तीकरण अभियान नेपालकी संस्थापक एवम् पर्यटनी व्यवसायी लक्की कार्की क्षेत्री, विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान गण्डकी प्रदेशका प्रवक्ता डा. निरञ्जन कोइराला तथा मुए थाई पोखराका संस्थापक एवं खेलप्रशिक्षक दीपक गोदारले प्रथम चरणको कार्यक्रमको आतिथ्य ग्रहण गरेका थिए ।

उनीहरूले विद्यार्थीहरूले सोधेका प्रश्नहरूको उत्तरमा आधारित रही आफ्ना जीवनभोगाइलाई खुला पुस्तकका पानाझैं पल्टाए । अतिथिहरू कुनै एक विधाको खुला पुस्तक बने भने विद्यार्थीहरू त्यसका पाठक भएर ज्ञान आर्जन गरे । खुला पुस्तकका रूपमा उपस्थित अतिथिहरूले आफ्नो बाल्यकाल, शिक्षादीक्षा, रुचि, जीवनको लक्ष्य, लक्ष्यप्राप्तिका लागि गरिएको संघर्ष, वर्तमान समयमा अवलम्बन गरिरहेको पेसा, व्यवसाय र सफलताका कथाबारे प्रेरणादायी उद्गारहरू अभिव्यक्त गरेका थिए ।

मानवरूपी पुस्तक र पाठकका बीचमा झन्डै डेढ घन्टा चलेको अन्तरक्र्रियापछि कार्यक्रम औपचारिकतामा रूपान्तरित भएको थियो । एसओएस पाठक मञ्चकी अध्यक्ष अनुष्का बस्नेतको अध्यक्षतामा सम्पन्न औपचारिक समारोहको सञ्चालन विद्यार्थीद्वय स्नेहा पौडेल र रिश्मा पाण्डेले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम आयोजना समितिकी संयोजक सहनशीला पौडेलले पुस्तकालयमा उपलब्ध हुने पुस्तकका पानामात्रै पल्टाएर भन्दा पनि ज्ञान र अनुभवले भरिएका व्यक्तित्वहरूका पुस्तकका पाना पल्टाएर विद्यार्थीहरूलाई लाभान्वित गराउन कार्यक्रमको आयोजना गरिएको बताइन् ।

एसओएसको ‘मानव पुस्तकालय’ कार्यक्रम पुस्तक र पाठकको प्रत्यक्ष कुराकानी भएकाले अस्पष्ट लागेका कुराहरूमा तत्क्षण प्रश्न राखी आफ्नो जिज्ञासा मेटाउन पनि विद्यार्थीहरू सफल भए । पुस्तकालयको पुस्तक निकालेर पढ्दा आफूलाई चित्त नबुझेको वा अस्पष्ट भएको कुरामा तुरुन्त प्रश्न गर्ने अवसर नपाइने तर मानव पुस्तकालयमा त्यो सुविधा रहने भएकाले यो अवधारणा आफूलाई निकै रमाइलो र प्रभावकारी लागेको अनुभव सुनाइन् कार्यक्रममा सहभागी कक्षा ११ की अनुष्का आचार्यले ।

मानव पुस्तकालयसम्बन्धी अवधारणा पहिलोचोटि डेनमार्कको कोपनहेगनबाट प्रारम्भ भएको हो । सन् २००० बाट औपचारिक रूपमा सुरुवात गरिएको यो अवधारणा हाल विश्वका झन्डै ९० ओटा राष्ट्रमा सञ्चालनमा ल्याइएको छ । विश्वका केही देशमा यो अवधारणाअनुसारका कार्यक्रमहरू सञ्चालन भए पनि नेपालको शैक्षिक जगत्मा मानव पुस्तकालयको अवधारणा अघि सारी यस कार्यक्रमको विधिवत् प्रयोग र परीक्षण गर्ने पहिलो विद्यालय नै एसओएस गण्डकी भएको संस्थाका प्रधानाध्यापक चूडामणि सुवेदीले दाबी गरे ।

आफ्ना रुचिका क्षेत्रमा केही गरूँ भन्ने विद्यालयका नवप्रवर्तनकारी सोच भएका विद्यार्थीहरूले ल्याएको प्रस्तावलाई प्रोत्साहन गर्न यस किसिमको कार्यक्रम आयोजना गरिएको हो ।’ प्रधानाध्यापक सुवेदीले भने, ‘विद्यार्थीको नवीन र सिर्जनात्मक सोचलाई सार्थक बनाउन नेपालका शिक्षालयहरूमध्ये पहिलो प्रयोगका रूपमा एसओएस गण्डकीले गत वर्षदेखि शृंखलाबद्ध रूपमा मानव पुस्तकालय आरम्भ गरेको हो ।’ मानवजीवनका अनुभव र अनुभूतिलाई पुस्तक मानेर अन्तक्र्रियाका माध्यमबाट विभिन्न विषयक्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको जीवनभोगाइबाट शिक्षा र सन्देश ग्रहण गर्नु यस अवधारणाको प्रमुख विशेषता रहेको एसओएस पाठक मञ्चका शिक्षक संयोजक कमल कोइरालाले बताए ।

एसओएस पाठक मञ्चकी अध्यक्ष अनुष्का बस्नेतले विद्यार्थीको नवप्रवर्तनकारी सोचलाई प्रोत्साहन गरेकामा विद्यालयप्रति आभार व्यक्त गरिन् । गत वर्ष आयोजना गरिएको पहिलो शृंखलाको अभ्यासबाट आफूहरू लाभान्वित भएकाले दोस्रो शृंखलाको कार्यक्रमलाई थप व्यवस्थित योजनाका साथ प्रस्तुत गरिएको पनि उनले बताइन् । पुस्तकका रूपमा उपस्थित भएका अतिथिहरूले पुस्तक बनेर पाठकका जिज्ञासा मेटाउन पाउँदा आफूहरूलाई आनन्द लागेको रोचक अनुभूति सुनाए । उनीहरूले मानव पुस्तक भएर आफ्ना जीवनभोगाइका बारेमा एसओएसका विद्यार्थीसँग पोखिँदा आफूहरू अतीतका लोभलाग्दा क्षणहरूमा हराउन पुगेको धारणा राखे ।

मानव पुस्तकालयको औपचारिक समारोहमा एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइका अध्यक्ष टीकाराम सुवेदीलगायतका व्यक्तिहरूको उपस्थिति थियो ।

 

Leave a Reply