मदिराका कारण घरेलु हिंसा बढ्यो , मिलापत्रमै टुङ्गिन्छन घरेलु हिंसाका घटना

३० कार्तिक २०७५, शुक्रबार

 

दार्चुला,  नौगाड गाउँपालिका–४ का ४५ वर्षीया कलावती टमटा श्रीमान देवेन्द्र टमटाको यातना सहन नसकी न्याय पाग्दै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा पुग्नुभयो । दिनहुँ घरमा मदिरा सेवन गरी कुटपिट र गालीगलौच गर्न थालेपछि उहाँ न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुग्नुभएको हो । ‘‘एक दिन दुई दिन हैन, दिनहुँ मदिरामा लट्ठिएर गालीगलौज गर्ने, कुटपिट गर्ने, आफूले कमाएको रकमसमेत मागेर मदिरा सेवन गरी आउन थालेपछि यहाँ न्याय माग्न पुगेको हुँ’’ उहाँले भन्नुभयो ।

नौगाड गाउँपालिकाबाट हाल सदरमुकाम खलङ्गामा मजदुरी गर्दै बसेका दुवै जनाबीच मदिराका कारण झैझगडा हुन थालेपछि न्याय माग्न आएको उहाँले बताउनुभयो । घरमा तीन छोरा र दुई छोरी छन् । ‘‘छोराछोरी कसरी पढाउने चिन्ता छैन मदिराले घरबार उजाड बनायो’’ उहाँको भनाइ थियो ।

यो त उदाहरण मात्रै हो, दार्चुलामा पछिल्लो समय मदिराका कारण कैयौँको घरबार बिग्रिएको छ भने मदिराले घरेलु हिंसा, महिला हिंसा तथा ज्यानै गएका छन् । मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा एक वर्षको अवधिमा ३२ वटा घरेलु हिंसाका घटना घटेका छन् । अधिकांश घटना मदिराका कारण भएको इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले बताउनुभयो ।

इन्सेकले जनवरी २०१८ देखि हालसम्म जिल्लामा सङ्कलन गरेको घटनाको वार्षिक पूर्व समीक्षा गोष्ठी गर्दै जिल्लामा घरेलु हिंसा बढ्दो क्रममा रहेको जनाएको हो । घरेलु हिंसाको कारक भनेकै मदिरा भएको इन्सकेको ठम्याइ छ ।

एक वर्षको अवधिमा जबर्जस्ती करणी दुई, जबर्जस्ती करणी उद्योग दुई, बाल यौन दुव्र्यवहार एक, ज्यानसम्बन्धी कसुर तीन, कर्तव्य ज्यान एक, बहुविवाहका तीन र सरकारी सम्पत्तिमा क्षति एउटा भएको इन्सेकको तथ्याङ्क छ ।

अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष हीरा अवस्थी जबसम्म जिल्लामा मदिरा निषेध गर्न सकिँदैन तबसम्म महिलामाथि हुने हिंसामा कमी नआउने बताउनुहुन्छ । “हामीले विगतदेखि हरेक क्षेत्रमा मदिरा निषेधको आवाज उठाएका छौँ तर कसैले सुनेको छैन”, उहाँले भन्नुभयो, “जसको फलस्वरुप महिलामाथि हरेक प्रकारका विभेद र हिँसाका घटनाहरु बढ्दै गएका छन् ।”

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जिल्ला प्रहरी कार्यालयको महिला सेलसम्म आउने अधिकांश घरेलु हिंसामा मदिरा कारक भएको बताउनुभयो । ‘‘सबै ठाउँमा पाइने मदिराको कारण घरेलु हिंसा बढी देखिन्छ’’ उहाँले भन्नुभयो ।

मदिरालाई व्यवस्थित र नियन्त्रण गर्न नसक्दा समस्या बढेको छ । जिल्ला प्रहरी कार्यालयसम्म आउने अधिकांश घरेलु हिंसाका घटना मिलापत्रमै टुङ्गिने गरिएको छ ।

“बिहान श्रीमान्को नाममा उजुरी गर्छन्, बेलुकी हैन गल्ती ग¥यो छोडिदिनुप¥यो भनेर उनै महिला आउँछन्” प्रहरी नायब उपरीक्षक अधिकारीले भन्नुभयो, “जसका कारण घरेलु हिंसाका घटनामा मुद्दा दर्ता हुन नसकेको हो ।”

प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य जिल्लामा आत्महत्या र महिला हिंसाका घटना भयवाह अवस्था देखिएको बताउनुभयो । इन्सेकको तथ्याङ्क हेर्ने हो भने पनि महिला हिंसाका घटना बढिरहेका छन् । प्रहरीको तथ्याङ्कले पनि जिल्लामा घरेलु हिंसा बढी देखिएको उहाँको भनाइ छ ।

डेढ वर्षयता स्थानीय तहमा आउने घटना पनि यिनै घरेलु हिंसाका धेरै रहेको पाइएको छ । यी तथ्याङ्कहरुले हाम्रो समाज खराब दिशातर्फ जाँदैछ भन्ने कुरो देखाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । घरेलु हिंसा न्यूनीकरणका लागि मदिरा निषेध र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु एकमात्र विकल्प भएको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले शिक्षा अभावले पनि घरेलु हिंसाका घटना बढेको बताउनुहुन्छ । “महिलामाथि हुने विभेद क्षम्य हुँदैन, यो संवदेनशील विषय हो” उहाँले भन्नुभयो, “यसका लागि चेतना आवश्यक छ ।” अर्का प्रदेशसभा सदस्य मानबहादुर धाँमी हरेक क्षेत्रमा जनचेतनामूलक शिक्षा आवश्यक रहेको बताउँनुहुन्छ । अहिले न्याय निरुपण गर्ने स्थानीय तह छन्, मानव अधिकारको विषय हरेक स्थानीय तहसम्म पुग्नुपर्छ उहाँले भन्नुभयो, “सचेतनाबिना परिवर्तन सम्भव छैन ।”
––– रासस

Leave a Reply