संसारका सय महिला भित्र पर्न सफल उमादेवी बादीको संघर्ष
योगेश रावल
टीकापुर ,दलित भित्रको पनि दलितका रुपमा चिनिने बादी समुदायको घरमा जन्मिएकी एक युवती आज संसारका १०० महिला भित्र पर्न सफल भएकी छन । उनलाई बेलायती समाचार संस्था बीबीसीले यसवर्षको प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा राखेको छ । उनी ती महिलाको सूचीको दशौं स्थानमा रहेकी छन ।
उनी अर्थात् सुदूरपश्चिम प्रदेश सरकारकी साँसद उमादेवी बादी । नेपाली काँग्रेसको समानुपातिक तर्फबाट साँसद बनेकी उमादेवी संघर्षको अर्को नाम पनि हो । उनको जीवन संघर्षले खारिएको छ । उनी बादी समुदायको हक अधिकारका लागि लड्दा लड्दै यहाँसम्म पुगेकी हुन । उनले उठाएको सबैभन्दा ठूलो मुद्दा आमाको नाममा नागरिकता पाउनु हो । यतिबेला यही मुद्दाले उनलाई संसारभर चिनाएको छ ।
उनले करिव दुई दशक अघि आमाको नाममा नागरिकता पाउनु पर्छ भनेर मुद्दा अघि सार्दा धेरैले हाँसोमा उडाएका थिए । उनको कुरालाई सबैले हाँसोमा उडाउनु स्वभाविक पनि थियो । एकातिर पुरुषप्रधान समाज र अर्कोतिर राज्यको ऐन कानूनले त्यो अधिकार दिएको थिएन । तैपनि उनले हिम्मत हारिनन् । उनले सबैभन्दा पहिले बादी समुदायलाई सम्झाईन । समुदायमा बाउको पहिचान नहुँदा नागरिकता पाउन नसकेका थुप्रै थिए । उनीहरुलाई उमादेवीको कुरो उचित लाग्यो ।
उनले पहिलो चरणमा पश्चिम तराईका जिल्लामा रहेका बादी समुदायलाई एकत्रित गरिन । यो खबर देशभर फैलियो । देशभरका बादी समुदाय उमादेवीको नेतृत्वमा सामेल भए । उनीहरुले वर्षौदेखी राज्यले अवलम्बन गर्दै आएको ऐन कानून विरुद्ध बोल्न थाले । राज्यका निकायले सुनुवाई नै गरेन । उल्टै डरधम्कीको सामना गर्नुप¥यो ।
‘दाङका सिडियो सापले थुन्छु भनेपछि हाम्रा साथीहरु कति दिनसम्म लुकेर बस्नु प¥यो’ उनले विगत सम्झिदै भनिन्–‘सायद फेला पारेको भए थुनिनु पथ्र्यो होला ।’
बादी महिलाहरु परपुरुषसँग यौन सम्पर्क राख्थे । यो उनीहरुको जीविकोपार्जनको माध्यम थियो । यही क्रममा ती महिलाहरुले सन्तान जन्माउथे । ती सन्तानको बाबुको पहिचान हुन सक्दैन थियो । बादी महिलालाई आफ्ना सन्तानको बाबुका बारेमा थाहा भएपनि भन्न सक्दैन थिए । समाजले उनीहरुको कुरो पत्याउदैन थियो ।
यसरी जन्मिएका बालबालिकाहरुले नागरिकता प्राप्त गर्न सक्दैन थिए । किनकी नागरिकता पाउन बाबुको पहिचान हुनु अनिवार्य थियो । बाबुको नाम नागरिकतामा नलेखेसम्म कोही पनि नागरिक हुनबाट बञ्चित रहनु पुथ्र्यो । यो पीडा बादी समुदायका थुप्रैले भोगेका थिए । तर कसैले पनि बोल्न सकेका थिएनन् ।
उमादेवी त्यही बस्तीको एक हिस्सा थिईन । उनी निसन्तान छन । तरपनि उनले बादी महिला र उनीहरुबाट जन्मिएका बालबालिकाको पीडा महशुस गरिन । उनले अनागरिक भएर बस्नुको पीडा विरुद्ध बोलिन । उनको बोलीमा सबै बादी समुदायले साथ दियो ।
‘मैले अगुवाई गरे । सबैले साथ दिए’ उनले भनिन्–‘यो नै हकअधिकारका लागि गरेको सबैभन्दा ठूलो आन्दोलन थियो ।’
उनले आमाका नाममा पनि नागरिकता पाउनु पर्छ भन्ने माग अघि सारेर पत्रकार सम्मेलन गरिन । उनलाई पत्रकारहरुले हाँसोको पात्र बनाई दिए । उनलाई आमाका नाममा नागरिकता पाउने कुरा सम्भव छ भनेर कसैले भनेनन् । तरपनि उमादेवीले हिम्मत हारिनन् । उनको मनमा त्यो सम्भव छ भन्ने थियो । र सम्भव गरेर छोडिन ।
उनले आफ्ना समुदायका केही व्यक्तिहरुलाई साथमा लिएर अभियान थालिन । उनको अभियानको नारा बादी समुदायले आमाको नाममा जन्मदर्ता र नागरिकता, स्थायी बसोबास, यौन पेशाको अन्त्य, निशुल्क शिक्षा, एचआईभी÷एड्स परिक्षण, छुवाछुतको अन्त्य लगायत थिए ।
उमादेवीले थालेको आन्दोलनले सफलता प्राप्त ग¥यो । राज्यले आमाको नामबाट सन्तानले जन्मदर्ता र नागरिकता पाउने कुरा संवैधानिक ग्यारेन्टी ग¥यो । उनले थालेको यो आन्दोलनले केवल बादी महिला मात्रै हैन यतिबेला सबै महिलाले अधिकार प्राप्त गरेका छन । ‘त्यतिबेला आफ्नै बादी बाबुबाट जन्मिएको सन्तानको समेत जन्मदर्ता गर्न अस्विकार गर्थे’ उमादेवीले भनिन्–‘आज आमाको नामबाट सबै काम भएको देख्न पाउँदा खुशी लाग्छ ।’
उनले बादी समुदायको अधिकार स्थापनाका लागि खेलेको भूमिका निकै चर्चायोग्य छ । उनी बादी समुदायले गाउँदेखी सिँहदरवारसम्म थालेको ४८ दिन लामो आन्दोलनकी कमाण्डर हुन । उनकै नेतृत्वमा २०६४ सालमा २३ जिल्लाका करिव ५ सय बादी अगुवाले २६ बुँदे माग लिएर गाउँदेखी सिँहदरवारको यात्रा थालेका थिए । उनीहरुलाई तत्कालिन सरकारले सिँहदरवार प्रवेशमा रोक लगायो । उनीहरुले सिँहदरवार बाहिर धर्ना दिए । नारा जुलुस गरे । शान्तिपूर्ण विरोधका सबै उपाय अपनाए । तैपनि सरकारले सुनेन ।
जतिसुकै आन्दोलन गर्दा पनि सरकारले आफ्नो कुरा नसुनेपछि बादी अगुवाहरुले जबरजस्ती सिँहदरवार प्रवेश गर्ने योजना बनाए । सोही योजना मुताविक २०६४ भदौ ५ गते छुट्टाछुट्टै ¥यालीको आयोजना गरियो । माइती घरबाट सिँहदरवार जाने ¥यालीको नेतृत्व तिनै उमादेवीले गरेकी थिईन । उनको पछाडी करिव २०÷२५ जना महिला मात्रै थिए । उनीहरु सोझै सिँहदरवारको गेटमा पुगे । सुरक्षाकर्मीले गेट बन्द गरिदिए । आक्रोशित उमादेवी अर्धनग्न अवस्थामै सिँहदरवारको गेटमा चढिन । उनले सरकार विरुद्ध नाराबाजी गरिन । धेरै बादी महिलाहरुले अर्धनग्न अवस्थामै सरकार विरुद्ध नाराबाजी गरेर उनलाई साथ दिए ।
यो दृश्यले सबैको ध्यान खिच्यो । सञ्चार माध्यम र मानव अधिकारकर्मीले बादी समुदायको आन्दोलनलाई साथ दिए । दिनानु दिन आन्दोलनमा ऐक्यवद्धता जनाउने संघसंस्थाको संख्या बढ्दै गयो । त्यसअघि बादी समुदायको आन्दोलनलाई बाढी पीडितको आन्दोलन भनेर प्रचार गरिएको उमादेवी अनुभव सुनाउछिन । ‘आम मान्छेदेखी सरकारका मन्त्री सम्मले हामीलाई बाढी पीडित सम्झेको रहेछ’ उनले हाँस्दै भनिन्–‘कतिले त हामी धर्नामा बसेको ठाउँमा पैसा फालेर हिड्थे ।’ उनले भनिन्–‘हामी अधिकारको लागि लडिरहेका छौं भन्ने कुरा बुझाउन सकेनौं ।’
आन्दोलनले बिस्तारै गति लियो । सञ्चारमाध्यमले आन्दोलनका बारेमा लेख्न थाले । बल्ल मात्रै आन्दोलनका बारेमा सरकारले समेत चाँसो दियो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उमादेवी लगायतलाई बालुवाटार बोलाए । कोइरालाले आन्दोलन रोक्न आग्रह गर्दै नेपालगञ्जमा गास बासको व्यवस्था गर्ने आश्वासन दिए । उनले बादी समुदायको समस्या नेपालगञ्जमा मात्रै नभएर देशैभर रहेको कुरा कोइरालालाई अवगत गराईन ।
‘सायद गिरिजाबाबुलाई बादीहरु नेपालगञ्जमा मात्रै बस्छन भन्ने थियो कि ?’ उनले भनिन्–‘हाम्रो कुरा प्रति त्यत्ति वास्ता गर्नुभएन ।’
प्रधानमन्त्रीले नै समस्या नबुझे पछि उमादेवी लगायतलाई पीडा थपियो । अब के गर्ने, कसो गर्ने उनीहरु अलमलमा परे । यही बेलामा कञ्चनपुरका बादी अगुवाले उमादेवीलाई शेरबहादुर देउवालाई भेट्ने सल्लाह दिए । उनीहरु देउवाको नारायणस्थानस्थित निवास पुगे । देउवाले समेत सुरुमै रुखो व्यवहार देखाए । यही मौकामा कञ्चनपुरकी एक बादी महिलाले डोटेली भाषामा कुरा राखिन । देउवाले उनी लगायतलाई घरभित्र बोलाए ।
‘उनले के भनेकी थिईन । मैले कुरा बुझिन । हामीले उसलाई किन त्यसरी बोलेकी, के भनेकी भनेर निकै हप्कायौं’ उनले भनिन्–‘देउवाले बल्ल हाम्रो समस्या बुझेर राम्रोसँग कुरा गर्न बोलाएका रहेछन ।’
देउवाले सबै कुरा सुने । तत्कालिन शान्तिमन्त्री रामचन्द्र पौडेललाई फोन मार्फत सबै कुरा सुनाए । एकैछिन पछि पौडेलका पिएले उमादेवीलाई फोन गरेर वार्ताका लागि बोलाए । २०६४ भदौ २८ गते पौडेलकै कार्यकक्षमा वार्ता भयो । काँग्रेस नेता एनपी सावद, रामजनम चौधरी, फकिरसिँह कडायतले बादी समुदायको पक्षबाट कुरा राखे । सरकारले बादी समुदायको समस्यालाई सम्बोधन गर्ने गरी कार्य अघि बढाईयो ।
सरकारले पाँच वर्षअघि बादी समुदायका लागि घर जनता आवास कार्यक्रम ल्यायो । कतिपय जग्गा हुनेले धमाधम घर बनाएका छन । महिलाहरुका लागि विभिन्न सिपमुलक कार्यक्रम लागु भएका छन । तर सरकारका कार्यक्रम प्रभावकारी नभएको उमादेवीको बुझाई छ । सरकारले ल्याएका सिपमुलक कार्यक्रमले बादी महिलाले पुस्तौदेखी अँगाल्दै आएको यौन पेशालाई प्रतिस्थापन गर्न सकेको छैन । उनीहरु मध्ये कतिपयले अहिले पनि यौन पेशा गर्दै आएका छन । कतिपयले नेपालमै त कतिपयले भारतमा गएर यौन पेशा गरिरहेका छन ।
‘सरकारको कार्यक्रम जति प्रभावकारी हुनु पथ्र्यो त्यो अनुसार हुन सकेको छैन’ उनले भनिन्–‘अझै पनि महिलाहरुले कुलतको बाटोलाई छोड्ने माहौल बन्न सकेको छैन ।’
यौन पेशामा लागेका बादी महिलाहरुलाई त्यो पेशाबाट अलग गरेर समाजमा आत्मसम्मानका साथ पुर्नस्थापना गर्ने उमादेवीको धोको छ । मन्त्री परिषदले २०६५ पुस २३ गते यौन पेशामा लागेका बादी महिलालाई आत्मसम्मानका साथ पुर्नस्थापना गर्ने निर्णय गरेको छ । तर आयआर्जनको विकल्पको बाटो नभएका कारण महिलाहरुले यो पेशा छोड्न सकेका छैनन् ।
उनको अगुवाईमा २०५५ सालमा सामुदायिक सहयोग समिति नामक गैरसरकारी संस्था स्थापना भयो । उनी त्यसको संस्थापक उपाध्यक्ष हुन । हाल उनी अध्यक्ष रहेको यस संस्थाको पाँच जिल्लामा सम्पर्क कार्यालय छ । संस्थाले बादी समुदायका हकहितमा काम गर्दै आएको छ । देशका ७२ जिल्लामा बादी समुदायको बसोबास छ । झण्डै ६० हजारको हाराहारीमा बादी समुदायको जनसंख्या रहेको संस्थाको दावी छ ।
उनको जन्म सल्यानको थापागाउँमा वि.सं. २०२१ सालमा भएको हो । उनका पाँच भाईबहिनी हुन । चार बहिनी मध्ये उनी माईली हुन । २ वर्षको उमेरमा अभिभावकसँगै कैलाली पुगिन । कैलालीमा स्थायी बसोबास कतै थिएन । तत्कालिन अवस्थामा बादी समुदायको पेशा नाँच्दै गाउँदै हिड्ने थियो । उनका अभिभावक पनि त्यसरी नै हिड्थे । ‘बस्ने ठाउँ कतै थिएन’ उनले भनिन्–‘माग्दै हिड्ने भएपछि स्थायी बसोबास हुने कुरै भएन ।’
त्यतिबेला तराईमा बाक्लो बस्ती थिएन । बिस्तारै मान्छेहरु पहाडबाट झर्दै थिए । बस्ती बिस्तार हुँदै गए । उनको परिवारले पनि साविक नारायणपुर गाविसमा बस्ने निधो ग¥यो । उनको परिवारसँगै अरु बादी परिवार पनि त्यहीँ आएर बसे । ‘विष्णुकान्तिपुर’ बादी समुदायको गाउँ नै छ । धेरै अघि बसोबास थालेका बादी परिवारसँग प्रसस्त जग्गा जमिन पनि छ । तिनै मध्ये उमादेवीको परिवार पनि हो । उनको परिवारमा खान लाउनको समस्या छैन । टीकापुर नगरपालिका–१ मा पनि घर बनाएकी छन । उनले २१ वर्षको उमेरमा अन्तरजातीय बिहे गरिन । उनका श्रीमान प्रेम भट्ट हुन । उनको श्रीमान र उनलाई छुटाउन निकै प्रयत्न भए । तैपनि उनीहरु लामो समयसँगै बसे । उनीहरुको सन्तान छैन । बहिनीका छोरा पढाईन । एउटा छोरो राकेश दोलखास्थित क्याम्पसमा प्राध्यापक छन । अर्को छोरा गौरव काठमाण्डौंमा जागिरे छन ।
Leave a Reply
You must be logged in to post a comment.