खानेपानीमा आन्दोलन जारी, मन्त्रालयको ध्यानाकर्षण

१२ मंसिर २०७५, बुधबार

काठमाडौं,नेपाल खानेपानी संस्थानमा ९ दिनदेखि आन्दोलन जारी छ । २०६६ सालको विज्ञापनलाई पूर्णता दिनुपर्ने, सञ्चालक समिति अध्यक्ष नियुक्ति हुनुपर्ने भन्दै आन्दोलन बाध्य भएर सुरु गर्नुपरेको संघर्ष समितिका संयोजक रामजी आर्यालले जनाएका छन् । आन्दोलनमा खानेपानी मन्त्रालयले सचिवस्तरिय छलफलको लागि बार्तामा बोलाउने तयारी गरिरहेको संघर्ष समितिले जनाएको छ । आइतबार मन्त्रालयमा सचिवसँग भएको छलफलमा ३ सदस्य बार्ताटोलीसँग वान टु वान वार्ता गरी माग पूरा गराउने पहल भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । संघर्ष समितिले व्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारीलाई जिम्मेवारी विमुख बनाउने काम गरेको, २०७१ देखिको कर्मचारी आन्दोलनबाट प्राप्त उपलब्धी एवं भएको सम्झौतालाई कार्यान्वयन नगरेको, शाखामा चरम कर्मचारीको अभाव हुँदा व्यवस्था गर्न नसकेको माग राखेर थालनी भएको आन्दोनलनमा विभिन्न पेसागत संगठनहरुले ऐक्ववद्धता जनाउँदै आएको संघर्ष समितिका सहसंयोजक पदमहरि राईले जानकारी दिए ।
सोमबार सार्वजनिक संस्था कर्मचारी संगठन नेपाल राष्ट्रिय समितिका महासचिव एवं संयुक्त कार्यदलका सदस्य भोलानाथ घिमिरेले आन्दोलनमा ऐक्ववद्धता जनाउँदै सरकार र संस्थान व्यवस्थापनले कर्मचारीका समस्या छिटो भन्दा छिटो समाधान गर्न अनुरोध गरे । घिमिरेले खानेपानी मन्त्री विना मगरसँग संस्थान केन्द्रित समस्यामा छलफल भइरहेको जानकारी दिँदै आन्दोलन संस्थान र कर्मचारीका हितमा हुनुपर्ने धारणा राखेको सूचना अधिकारी केदार धमलाले जानकारी दिए ।
आन्दोलनलाई ऐक्ववद्धता जनाउँदै केयुकेएल कर्मचारी संघका निवर्तमान अध्यक्ष राजेन्द्र गौतमले व्यवस्थापको इच्छा शक्ति नभएका कारण कर्मचारीको समस्या हल हुन नसकेको धारणा राखे । गौतमले मन्त्रालयले संस्थानलाई छायाँमा पारेको उल्लेख गर्दै आन्दोलनको उपलव्धी प्राप्त गर्न मन्त्रालय जिम्मेवार हुनुपर्ने बताए ।
संघर्ष समितिका संयोजक रामजी अर्यालको अध्यक्षता एवं सहसंयोजक पदमहरि राईको सञ्चालनमा भएको आन्दोलन सभामा नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष महेशराज भट्टराई, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष एवं सघर्ष समितिका प्रवक्ता समिर पण्डित, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष झगबहादुर डाँगी, खानेपानी संस्थान कर्मचारी संगठनका महासचिव रामकुमार श्रेष्ठ लगाएतले बोलेका थिए ।
आन्दोलनलाई नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, ने.रा.क.महासंघ, नयाँ शक्ति विद्यार्थी संगठन, ने.रा.क. संगठन केयुकेएल, राष्ट्रिय कर्मचारी महासंघ नेपाल, नेपाल टेलीकम वर्कस युनियन लगायतले ऐक्ववद्धता जनाईसकेको संघर्ष समितिका प्रवक्ता समिर पण्डितले जानकारी दिए । आन्दोलनमा व्यवस्थापनले युनियनलाई टुटाउने र फुटाउने जस्ता दुष्कार्य गर्न सक्ने प्रति युनियन सचेत रहन पर्ने आन्दोलनरत कर्मचारीले बताएका छन् । कर्मचारीले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) मा समेत संस्थानको समस्या र आन्दोलनका बारेमा जानकारी भएको उल्लेख गर्दै समस्या समाधान नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएको छ । संघर्ष समितिद्वारा सञ्चालक समिति सदस्यसँग भएको अन्तक्र्रियामा मागको समर्थन भएको प्रतिक्रिया दिएका छन् । आफ्ना माग प्रति सकारात्मक हुँदै छिटो भन्दा छिटो समस्या समाधान हुने सञ्चालक सदस्यले आश्वासन दिएको संघर्ष समितिले जनाएको छ । यसैबीच संघर्ष समितिले संस्थानमा रहेको २४ वटा शाखा कार्यालयमा दिने संघर्षका कार्यक्रम हेरफेर भएको जनाएको छ । संघर्ष समितिका प्रवक्ता समिर पण्डितका अनुसार सम्पूर्ण कार्यालयमा कार्यालय समय ११ बजेसम्म कार्यालय प्रमुख र लेखा प्रमुखको कार्यकक्ष घेराउ गर्ने तय भएको जनाएका छन् । पण्डितले संघर्ष समितिको नयाँ निर्णय नआउँदासम्म यसै कार्यलाई निरन्तरता दिन सम्पूर्ण शाखा कार्यालयका संघर्ष समितिलाई अनुरोध गरेका छन् ।

Leave a Reply