माया जाँच्दै सातै प्रदेश डुले गायक तथा सङ्गीतकार वैकुण्ठ

२५ बैशाख २०७८, शनिबार

 

प्रकाश सुवेदी

पाेखरा ।  अाफ्ना हरेक गीतमा केही न केही सन्दर्भ र कथानक बनाएर गीत सृजना गर्ने व्यक्ति हुन् सर्जक, गायक तथा सङ्गीतकार वैकुण्ठ महत। उनै वैकुण्ठ महत र सुमिना लोको स्वरमा भर्खरै लोकभाका शैलिमा ` मेरो माया चिन्यो´ गीति भिडियो विन्ध्यवासिनी म्यूजिक प्रा. लि. को युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।

`मेरो माया चिन्यो´ भन्ने गीतमा सर्जक वैकुण्ठ महतले अाफ्नो माया क- कसले चिन्दो रहेछ त भन्दै इलामको मैच्याङ देखि धनगढीको सुवासम्मलाई भेटेका छन्। प्रदेश नं ५ को तानसेन र बटौलीबाट सुरु भएको उनको यात्रा धनगढी, बैतडी, पोखरा, बाग्लुङ, कोहलपुर, दैलेख, चितवन, नुवाकोट, जनकपुर वर्दिवास हुँदै प्रदेश नं १ को धनकुटा र इलाममा गएर टुङ्गिएको छ। सबैले सबैलाई कहाँ मन पराउँछन् र ? यसरी प्रेम यात्रा गर्ने क्रममा कतिले वैकुण्ठलाई मन दिएका र कतिले भाउ खोजेर तर्किएता पनि तिरष्कार भने कसैले गरेका छैनन्।

मान्छेले जीवनमा अाफ्नो किर्ति राख्न जग्गादान , तुलादान, भूमिदान, अाभुषणदान जस्ता यावत दानहरु गर्छन्। दान गर्नेहरु कतिपय अभिमान प्रकट गर्न गर्छन्, कतिपय स्वाभिमान राख्न गर्छन् त कतिपयले सच्चा मन देखि गर्छन्। सच्चा मन र परोपकारी भावले दान गर्नेहरु कहिल्यै पनि अात्मप्रचार खोज्दैनन्। धन, सम्पत्ति र अाभुषण दानको तूलनामा रक्तदान निकै ठूलो मानिन्छ।

रक्तदान गर्ने व्यक्तिसँग कुनै श्वार्थ लुकेको हुदैन र अधिकाँश रक्तदाताहरुलाई अाफूले दान गरेको रगत कसको नशामा गएर सञ्चार हुन्छ र कसको जीवन बँचाउछ भन्ने पनि अवगत हुदैन। सर्जक वैकुण्ठ महतले रक्तदान भन्दा पनि ठूलो दान त मुटुदान पो हो भन्दै गीतको पहिलो टुक्का यसरी सुरु गरेका छन्। रक्तदान त नचिनेको मान्छेले नी गर्छ माया गर्ने मान्छेले त मुटु दिनु पर्छ प्रस्तुत गीतमा प्रयोग भएको मुटुदान शब्द पवित्र मायाको एउटा बिम्ब हो। यहाँ मुटु शब्दले भावनालाई प्रतिबिम्बित गरेको छ। जसलाई माया गरिन्छ उसलाई मन दिन सक्नुपर्छ भन्ने सर्जकको ठम्याई रहेको छ। गीत अगाडि बढाउने सन्दर्भमा एक ठाउँमा गायिका मार्फत सर्जकले भनेका छन्।

मलाई हेर अाफु देख्छौ म हुँ तिम्रो एेना एेनालाई नि ढाँट्न खोज्ने तिमी सोझो हैन कसैलाई सच्चा प्रेम गरिन्छ र एक अर्काबिच कुनै छलकपट छैन भने हरेक सच्चा प्रेम जोडीहरुले एक अर्काको मनको भाव पढ्न र नसोधेरै उनीहरुको दु:ख सुख बुझ्न सक्छन् र सक्नु पनि पर्छ भन्ने गीतको मर्म रहेको छ।

सुन्दर शब्द संयोजन, सबैले गुनगुनाउन सक्ने सरल लय र कर्णप्रिय अावाजको त्रिवेणी सङ्गमले गीतलाई अत्यन्तै सुन्दर बनाएको छ। गीतमा सोल्टिनी, सुवा, मैच्याङ्ग र पूर्वि नेपालमा प्रचलित हाऊ जस्ता अाञ्चलिक शब्दहरुको प्रयोगले सातै प्रदेशका नेपालीहरु र अन्य नेपाली भाषा र संस्कृति अबलम्वन गर्नेहरु माझ अाफ्नोपन झल्किएको अाभास दिलाउँछ। फछिल्लो समयका व्यस्त र अब्बल म्यूजिक भिडियो निर्देशक काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा, राजेश घिमेरेको छायाङ्कन, विनोद बमको सम्पादन र दुर्गेश थापाको साथमा अनु शाहको अभिनय रहेको छ।

 

 

 

Leave a Reply